१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तीन दिनपछि आफन्तले शव बुझे

काशीराम डाँगी

रोल्पा — तीन दिनअघि यहाँ हत्या गरिएका तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको शव मंगलबार मात्र परिवारले बुझेका छन् । शव बुझेपछि बिहान पोस्टमार्टम गरिएको छ । रोल्पा अस्पतालमा राखिएको शव बुझ्नुअघि परिवारले क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

तीन दिनपछि आफन्तले शव बुझे

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासनमा बसेको बैठकमा क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने तथा दोषीलाई पक्राउ गर्ने सहमति भएको थियो ।

उक्त निर्णयपछि कांग्रेसले आह्वान गरेको अनिश्चितकालीन रोल्पा बन्द फिर्ता गरिएको छ । पोखरा भ्रमण गरी फर्किरहेका बेला सुलीचौर बजारस्थित एक रेस्टुराँमा पुनमाथि अमेरिकी पेस्तोलबाट तीन राउन्ड गोली प्रहार गरिएको थियो । गोली चलाएको आरोपमा प्रहरीले रोल्पा नगरपालिका १० धबाङका देवबहादुर घर्तीसहित चार युवकलाई पक्राउ गरेको छ ।

रोल्पा नगरपालिकाकै प्रकाश डाँगी ‘बादल’, निरज श्रेष्ठ, दीपक पुन र प्रकाश डाँगी पक्राउ परेका हुन् । केही युवा फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दीपक खडकाले बताए । हत्याको कारण भने खुलेको छैन । घटना हुनुअघि दुवै पक्षबीच झडप भए/नभएको बारे अनुसन्धान थालिएको प्रहरीले जनायो । ‘राजनीति र आपराधिक गतिविधिमा संलग्न भई यसअघि जेल परिसकेका युवाहरू घटनामा संलग्न भएको पाइयो । थप अनुसन्धान गर्दै छौं,’ एक प्रहरी अधिकृतले भने । शव बुझ्न भेला भएका आफन्तले प्रहरी अनुसन्धान शंकास्पद रहेको आरोप लगाए ।

पीडितले होटल सञ्चालक, इलाका प्रहरी सुलीचौरका इन्चार्जसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । अस्पताल परिसरमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता भेला भएका थिए । परिवारले हत्या सुनियोजित भएको दाबी गरेको छ । मृतककी आमा जुनीले हत्यारामाथि कारबाही भएको देख्न चाहेको बताइन् ।

अनुसन्धान थालिएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले दोषीमाथि कारबाही गर्न कसैले बाधा नगरेको बताए । यसैबीच एमसीकै अध्यक्षमा सोमबार बसेको सर्वपक्षीय बैठकमार्फत जिल्लास्थित दलका नेताहरूले घटनालाई राजनीतिक रंग नदिने प्रतिबद्धता जनाएका थिए ।

मारिएका पुन केही महिनाअघि मात्रै नगरको तरुण दल अध्यक्ष चयन भएका थिए । गोली चलाएको आरोपमा पक्राउ परेका देवबहादुर पूर्वमाओवादी केन्द्र निकट वाईसीएलसँग आबद्ध थिए । पक्राउ परेका अन्य युवा पनि वाईसीएलसँग आबद्ध हुन् ।

प्रकाशित : भाद्र २७, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?