तीन दिनपछि आफन्तले शव बुझे

काशीराम डाँगी

रोल्पा — तीन दिनअघि यहाँ हत्या गरिएका तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको शव मंगलबार मात्र परिवारले बुझेका छन् । शव बुझेपछि बिहान पोस्टमार्टम गरिएको छ । रोल्पा अस्पतालमा राखिएको शव बुझ्नुअघि परिवारले क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

रोल्पा तरुण दल अध्यक्ष रोहित पुनको शव बुझ्न जिल्ला अस्पतालमा भेला भएका काग्रेस कार्यकर्ता र आफन्त । तस्बिर : काशीराम

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासनमा बसेको बैठकमा क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने तथा दोषीलाई पक्राउ गर्ने सहमति भएको थियो ।

उक्त निर्णयपछि कांग्रेसले आह्वान गरेको अनिश्चितकालीन रोल्पा बन्द फिर्ता गरिएको छ । पोखरा भ्रमण गरी फर्किरहेका बेला सुलीचौर बजारस्थित एक रेस्टुराँमा पुनमाथि अमेरिकी पेस्तोलबाट तीन राउन्ड गोली प्रहार गरिएको थियो । गोली चलाएको आरोपमा प्रहरीले रोल्पा नगरपालिका १० धबाङका देवबहादुर घर्तीसहित चार युवकलाई पक्राउ गरेको छ ।

Yamaha

रोल्पा नगरपालिकाकै प्रकाश डाँगी ‘बादल’, निरज श्रेष्ठ, दीपक पुन र प्रकाश डाँगी पक्राउ परेका हुन् । केही युवा फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दीपक खडकाले बताए । हत्याको कारण भने खुलेको छैन । घटना हुनुअघि दुवै पक्षबीच झडप भए/नभएको बारे अनुसन्धान थालिएको प्रहरीले जनायो । ‘राजनीति र आपराधिक गतिविधिमा संलग्न भई यसअघि जेल परिसकेका युवाहरू घटनामा संलग्न भएको पाइयो । थप अनुसन्धान गर्दै छौं,’ एक प्रहरी अधिकृतले भने । शव बुझ्न भेला भएका आफन्तले प्रहरी अनुसन्धान शंकास्पद रहेको आरोप लगाए ।

पीडितले होटल सञ्चालक, इलाका प्रहरी सुलीचौरका इन्चार्जसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । अस्पताल परिसरमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता भेला भएका थिए । परिवारले हत्या सुनियोजित भएको दाबी गरेको छ । मृतककी आमा जुनीले हत्यारामाथि कारबाही भएको देख्न चाहेको बताइन् ।

अनुसन्धान थालिएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले दोषीमाथि कारबाही गर्न कसैले बाधा नगरेको बताए । यसैबीच एमसीकै अध्यक्षमा सोमबार बसेको सर्वपक्षीय बैठकमार्फत जिल्लास्थित दलका नेताहरूले घटनालाई राजनीतिक रंग नदिने प्रतिबद्धता जनाएका थिए ।

मारिएका पुन केही महिनाअघि मात्रै नगरको तरुण दल अध्यक्ष चयन भएका थिए । गोली चलाएको आरोपमा पक्राउ परेका देवबहादुर पूर्वमाओवादी केन्द्र निकट वाईसीएलसँग आबद्ध थिए । पक्राउ परेका अन्य युवा पनि वाईसीएलसँग आबद्ध हुन् ।

प्रकाशित : भाद्र २७, २०७५ १०:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

रोल्पामा तरुण दलका नगर प्रमुखको गोली हानी हत्या

एक पक्राउ, केही फरार
काशीराम डाँगी

रोल्पा — गोली प्रहार गरी रोल्पा नगरका तरुण दलका अध्यक्ष रोहित पुनको हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै उनी माथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट मारिएका रोहित पुन । तस्बिर : रोहित पुनको फेसबुकबाट । 

गोली लागेर मृत्यु भएका रोहित केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका थिए। सुलीचौरस्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको तथा भर्खरै संचालनमा ल्याइएको एक स्थानीय रेष्टुरेन्ट भित्रै उनी माथि गोली प्रहार भएको हो। स्थानीयका अनुसार घटना दिउँसो ४ बजे तिरको हो।

घटनापछि हतियारसहित रोल्पा नगरपालिका–१० का देवबहादुर घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए। घटनापछि फरार रहेका अन्य केही युवाको खोजी थालिएको प्रहरीले जनाएको छ। चिया पिउँदै कुराकानी गर्न भनी बोलाइएपछि मृतक रोहित त्यहाँ पुगेका थिए।

रोल्पा नगरका सदस्य तथा नेविसंघका नेता शेरबहादुर थापाले आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गर्दा समेत राज्यले सुइँको नपाउनु दु:खद भएको प्रतिक्रिया दिएका छन्।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार एउटै टेबुलमै बसेका बेला विवाद उत्पन्न हुँदा मृतक रोहितका साथी देवबहादुरले तीन गोली चलाएका थिए। एउटा गोली रोहितको मुटुमै लागेको थियो। ‘गोली लागेर रोहितको घटनास्थलमै मृत्यु भएको हो,’ प्रत्यक्षदर्शीले भने।

घटनापछि मृतक रोहितको शव सुलिचौरमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। स्वास्थ्य केन्द्र प्रमुख डा. प्रकृति भट्टराईले अत्यधिक रक्तश्राव र मुटुमै गोली लागेकाले उनको मृत्यु भएको बताइन्। उक्त केन्द्रमै मृतकको पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ।

घटनामा कुन र कस्तो प्रकारको हतियार प्रयोग भएको थियो भन्नेबारे प्रहरीले जानकारी दिएको छैन। घटनापछि सुलीचौर बजारमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। राप्रपाका जिल्ला अध्यक्ष समेत स्थानीय अमरबहादुर थापाले दिउँसै प्रहरी चौकी नजिकै गोली चलाइएको घटना दु:खद भएको प्रतिक्रिया दिए। उक्त घटनापछि सुलीचौर त्रसित रहेको घटनास्थलमा रहेका सुनील स्मृति गाउँपालिका–४ का वडा अध्यक्ष गञ्जबहादुर महरा क्षत्रीले बताए।

प्रकाशित : भाद्र २४, २०७५ २०:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT