कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुलेनन् छोटी भन्सार

बर्दिया — जनशक्ति अभावमा १८ वर्षदेखि बन्द जिल्लाका आधा दर्जन छोटी भन्सार सञ्चालनमा आएका छैनन् । द्वन्द्वकालमा बन्द भएका कार्यालय जनशक्ति अभावमा पुन:स्थापना नहुँदा राजस्व संकलन प्रभावित भएको छ ।

खुलेनन् छोटी भन्सार

भन्सार बन्द भएकाले चोरी पैठारी नियन्त्रण भएको छैन । साथै, वार्षिक झन्डै पाँच करोड राजस्व संकलन गुमाउनु परेको छ ।

मूल भन्सार प्रमुख ओपेन्द्र हमालले जनशक्ति अभावमा छोटी भन्सार सञ्चालन गर्न नसकिएको बताए । अहिले मूल भन्सार राजापुर र छोटी भन्सार ताराताल र गुलरियामा १७ कर्मचारी छन् । बन्द भन्सार सञ्चालन गर्न करिब ५० कर्मचारीको आवश्यकता रहेको उनले बताए । ‘सबैभन्दा बढी तस्करी हुने कोठियाघाट र पडेरिया हुन्,’ प्रमुख हमालले भने, ‘त्यहाँ तत्काल छोटी भन्सार कार्यालय सञ्चालन गरिएमा अवश्य राजस्व वृद्धि हुन्छ ।’

द्वन्द्वकालमा पडेरिया, गणेशपुर र पश्चिम छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगन्ज नाकामा रहेका छोटी भन्सार अन्यत्र स्थानान्तरण गरिएका थिए । जमुनीस्थित पडेरिया नाका द्वन्द्वकालपछि सञ्चालनमा आएको थियो । तर, जनशक्तिको अभाव देखाउँदै एक दशकअघि बन्द छ । नाकाबाट लाखौं रुपैयाँका दैनिक उपभोग्य खाद्यान्नलगायत हार्डवेयरका सामान खुलेआम तस्करी हुँदा राजस्व उठ्न सकेको छैन ।

छोटी भन्सार नभएका कारण राजस्वमा ठूलो असर परेको भन्सारका अधिकारीहरू बताउँछन् । ‘प्रशासनको सहयोगबिना तस्करी नियन्त्रण हुनै सक्दैन,’ प्रमुख हमालले भने, ‘पूर्व र पश्चिमका छोटी भन्सार नहुँदा चोरी तस्करी बढेको छ ।’ व्यापारिक स्रोतका अनुसार भारतबाट आयात गरिएका शतप्रतिशत सामानको भन्सार गरिँदैन । केही मात्रामा गरिए पनि सामान कम देखाएर राजस्व र भन्सार बुझाउने गरिएको छ ।

कार्यालयका अनुसार आव ०७४/०७५ को असार मसान्तसम्म २ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ । भन्सारले चालु आवमा ३ करोड ६५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ ।

गुलरियासँग जोडिएको भारतीय सीमा मूर्तिहामा नाका सञ्चालन नहुँदा राजस्व संकलनमा प्रभाव परेको कर्मचारीहरूको गुनासो छ ।

प्रकाशित : भाद्र २७, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?