१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हराउँदै मौलिकता

तीजको नाममा महिना दिनदेखि ठूला होटल र पार्टी प्यालेसमा दर खाने र महँगा कपडा तथा गहनाको भड्किलो प्रयोग बढ्दो छ
करिश्मा चौधरी

बाँके — मुलुकमा फरक ठाउँ, जातजाति अनि धर्मअनुसारका संस्कृति छन् । त्यसको एउटा पाटो चाडपर्व पनि हो । अहिले जताजतै महिलाको मुख्य पर्व हरितालिका तीजको रौनक छ । आज (मंगलबार) दर खाने दिन हो । तर, परम्परागत दर र नाचगान देखिन छाडे ।

हराउँदै मौलिकता

एक महिनादेखि तीजका नाममा रमझम चलिरहेको छ । तीज हिन्दु संस्कृतिमा आधारित पर्व हो । यो अरू संस्कृतिसँग नबाझिने समाजशास्त्रीहरू बताउँछन् । कहिलेदेखि तीज मनाउन थालियो, यकिन छैन । तर, यो पर्वलाई दुई किसिमले बुझ्ने गरेको पाइन्छ ।

पहिलो, भगवान् कृष्ण जन्मिएको ११ दिनपछि न्वारानको दिन रमाइलो गर्ने हुनाले त्यही दिनको सम्झनामा तीज मनाइन्छ भन्ने विश्वास छ । दोस्रो, तीजको दिन भगवान् शिवको पूजा गरी व्रत बसे मागेको पूरा हुन्छ भन्ने विश्वासले तीज मनाइन्छ । यस दिन अविवाहितले व्रत बसे शिवजस्तै श्रीमान् पाउँछन् भन्ने धार्मिक विश्वास छ । त्यस्तै विवाहिताले भने श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्छन् ।

समय परिवर्तनसँगै तीज मनाउने तरिका पनि परिवर्तन भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय समाजशास्त्र शिक्षण समितिका उपप्राध्यापक वेदप्रकाश ढकाल बताउँछन् । ‘तीजमा चेलीबेटीलाई माइती बोलाउने, तीजको अघिल्लो दिन दर खाने अनि तीजको दिन व्रत बस्ने र विरहका गीत गाउने र नाचगान गरिने चलन हो,’ उनले भने, ‘छुटेका सबै दौंतरी, दिदीबहिनी, फुपूलगायत आफन्तसँग भेट भई रमाइलो गर्ने पर्व हो तीज ।’ तीजको आफ्नै मौलिकता रहेको उनले बताए । ‘तीजमा खाजाभात, खीर, बोडीको तरकारी, दही, केरा, गाबा, तामालगायत सिजनमा पाइने तरकारीसँग दर खाने परम्परा थियो,’ उनले भने, ‘तर, अचेल तीजको मर्मै फेरिएको छ ।’

यातायात र सञ्चारको सुविधाले पहिलेजस्तो माइतीले चेली लिन जाने चलन पनि हराउँदै गएको छ । यसलाई सञ्चार र यातायातको सुविधाको फाइदा पनि भन्न सकिन्छ । पछिल्लो समय तीज मनाउने तरिका फरक भएको छ । तीज भडकिलो भइरहेको छ । तीजका नाममा महिना दिनदेखि दर खाने, ठूला होटल, पार्टी प्यालेसमा तीजको दर र नाचगानका कार्यक्रम गर्ने, महँगा कपडा अनि गहनाको प्रयोग बढदो छ । उपप्राध्यापक ढकालले भने, ‘तीजले त ट्रयाक नै छाडेजस्तो देखिन्छ ।’

कति महँगो होटल वा पार्टी प्यालेसमा तीजको कार्यक्रम गरे, कति मान्छे आए, कस्ता मान्छे आए भन्ने देखाएर सम्पन्नता देखाउनेको जमात पनि अहिले बढ्दो छ । परम्पराका नाममा अहिले पारिवारिक विरासत देखाउने परिपाटी बढदै गएको छ ।

हुनेले गर्छन् तर गरिबले आफूले केही गर्न सकेन भनेर हीनताबोध गर्नुपर्ने अवस्था छ । जसले धर्म परिवर्तन गर्न सक्छन् । धनी र गरिबबीच विभेद सिर्जना भई सामाजिक सद्भाव खल्बलिन सक्छ । तर, तीजको उद्देश्य त सामाजिक सद्भाव कायम गर्नु हो । समय परिवेशअनुसार तीज मनाउने तरिका फेरिनु आफंैमा नराम्रो नभएको साहित्यकार ऋचा लुइँटेल बताउँछिन् । ‘हामीले मनाउने तीज भडकिलो मात्रै हुनु भएन,’ उनले भनिन्, ‘महिला सशक्तीकरण र हिंसा न्यूनीकरण गर्न पनि तीजका कार्यक्रम आयोजना गर्नुपर्‍यो ।’

कुशे औंसीपछि छोरी माइत आएर तीज मनाउने परम्परा रहेको बताउँछिन् महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जकी समाजशास्त्र विभाग प्रमुख सावित्रा बस्नेत । ‘तीजमा प्रतिस्पर्धासँगै विकृति बढ्नु दु:खको कुरा हो,’ उनले भनिन्, ‘पहिरनदेखि खानपानसम्ममा प्रतिस्पर्धा बढेकाले तीजको मौलिक मर्म नै हराइरहेको छ ।’

तीजमा व्रत बस्नैपर्छ भन्ने छैन । इच्छाको कुरा हो तर इच्छाको पर्वमा प्रतिस्पर्धा होइन, संस्कृति बचाउन आवश्यक रहेको बस्नेतको धारणा छ । ‘अविवाहितले पनि भगवान्जस्तो श्रीमान्भन्दा विश्वासिलो अनि साथीजस्तै श्रीमान् पाउनका लागि व्रत बसौं । श्रीमान्लाई भगवानको दर्जा दिए दबिने फेरि महिला नै हुन्,’ उनले भनिन्, ‘तीजका पनि केही नकारात्मक पक्ष होलान् तर राम्रा कुराको संरक्षण गर्न पछि नपरौं ।’

प्रकाशित : भाद्र २७, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?