कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रामपुरमा व्यवस्थित बस्ती

पाल्पा — पाँच वर्षअघि नगरपालिका घोषित रामपुर नगरपालिकाले व्यवस्थित बस्ती विकासको योजना अघि सारेको छ । जसका लागि उसले १५ वर्षे एकीकृत सहरी विकास योजना बनाउन सुरु गरेको हो ।

रामपुरमा व्यवस्थित बस्ती

‘आवश्यक रणनीतिबारे छलफल अघि बढाएर काम सुरु गरेका छौं,’ रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले भने, ‘नगरपालिका बने पनि ग्रामीण क्षेत्रमा पर्ने भएकाले व्यवस्थित बनाउन जरुरी छ ।’

अघिल्ला वर्षमै धेरै योजनाका काम सुरु हुन्थे तर सहरी विकास मन्त्रालयले योजना अघि सारेकाले पर्खेर बसेको उनले बताए । रामपुर नगरपालिका सदरमुकाम तानसेनबाट ६५ किलोमिटर टाढा पर्छ । जहाँ बस्ती बसोबास बल्ल सुरु भएको छ । उपत्यकाजस्तै भौगोलिक वनाबट भएपछि पहाडी गाउँबाट बसाइँसराइको भने तीव्रता छ ।

नवलपुर, स्याङ्जा, तनहुँ र जिल्लाकै डाँडा भेगका बस्तीबाट रामपुर झर्ने क्रम बर्सेनि बढ्दो छ । नगरपालिकाका मेयर थापाले एकीकृत रूपमा सहरी विकास योजना अगाडि बढाउन सकियो भने आगामी दिनमा यहाँको बस्ती विकासमा सहजता हुने बताए ।

‘त्यसैले पनि अहिले नै यसका विषयमा काम गर्न जरुरी देखियो,’ उनले भने, ‘किन भनेपछि झन् अप्ठेरो हुन्छ ।’ उनका अनुसार अहिले परामर्शदाताको समन्वयमा नगरका विषयमा छलफल अघि बढाएको हो । पहिलो चरणको छलफलमा स्थानीय सरोकारवालालाई सहभागी गराइएको छ ।

एकीकृत सहरी विकास योजना सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा निर्माण हुनेछ । रिब्स इन्जिनियरिङ कन्सल्ट, नेपाल डेभलपमेन्ट कन्सल्टेन्सी र सिभिल ओएसिस इन्जिनियरिङ प्रालि काठमाडौंको प्राविधिक सहयोग रहेको छ ।

रामपुर नगरको दीर्घकालीन सहरी विकास योजनाको काम थालनी बढेको नेपाल डेभलपमेन्ट कन्सल्टेन्सीका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाले बताए । ‘स्थानीय नागरिक नै सकारात्मक सोचका साथ अगाडि नबढेसम्म यस क्षेत्रको विकास हुँदैन,’ उनले भने, ‘रामपुरको विकासमा एकबद्ध भएर सघाउन जरुरी छ ।’ कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटनको विकासका लागि योजना बनाउने सुझाव स्थानीयले दिएका छन् ।

सहरी विकास योजनाविज्ञ नारायणप्रसाद खनालले एकीकृत सहरी विकास योजना तर्जुमाले व्यवस्थित सहर र योजना बन्ने बताए । उनले मुलुकका ३३ नगरपालिकामा एकीकृत योजना विकासका लागि योजना छनोटमा लागेको बताए । ‘रामपुर नगरपालिकालाई सुरुवातमै छलफल गराई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘मन्त्रालयले सबै नगरपालिकामा केही न केही व्यवस्थित योजनाको काम गरिरहेको छ ।’ स्थानीय नागरिकबाट योजनाको खाका ल्याउने वातावरण सरोकारवालाहरूले गरेमा विकास सहज हुने उनले बताए ।

परामर्शदाताले आवश्यक छलफल र स्थलगत रिपोर्टिङको काम भइरहेको जानकारी गराए । सरकारले निजगढ, लुम्बिनी र पालुङटारलाई पहिलो चरणमा स्मार्ट सिटीको काम गरिरहेको छ । थप १० नगरलाई स्मार्ट सिटी बनाउने अवधारणामा काम गरिरहेको उनले बताए । रामपुरलाई स्मार्ट सिटीको खुड्किलोका लागि एकीकृत सहरी विकासको यस योजनाले सघाउनेछ ।

आवश्यक सहयोगका लागि नगरपालिका प्रमुख रमणबहादुर थापाको संयोजक, राजुप्रसाद श्रेष्ठ उपसंयोजक र प्राविधिक, कार्यपालिका सदस्य रहेको विशेष समन्वय समिति गठन गरेको छ । रामपुरका १० वडालाई ७ समूहमा विभाजन गरिएको छ । स्थानीयस्तरको वस्तुस्थिति बुझ्ने र योजना प्राथमिकीरणको काम गरिनेछ ।

असोज १५ भित्र पहिलो प्रतिवेदन बाहिर ल्याउने परामर्श दाता तिमिल्सिनाले बताए । विस्तृत परियोजना अध्ययन प्रतिवेदनअनुसार सहरी सडक, ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र, हाटबजार, बृहत् खानेपानी, बसपार्क, सहरी क्षेत्र ढल निकाल सञ्जाल, सामुदायिक भवन, फोहोरमैला व्यवस्थापनमा ल्यान्डफिल्ड साइटको अध्ययन थालिने उनले बताए । पहिलो चरणमा प्रतियोजना ३० करोडभन्दा बढीको लागतमा नगरको दुई योजनामा काम सुरु गरिनेछ ।

जसका लागि योजना अध्ययन, समितिको सुझाव र प्राविधिक मूल्यांकन गरी योजना प्राथमिकीकरण हुनेछ । प्राविधिक मूल्यांकनमा वस्तुस्थिति, विपत् जोखिम न्यूनीकरण व्यवस्था, आवासीय क्षेत्र र संस्थागत विकासमा अध्ययन गरिनेछ । प्रदेशसभा सदस्य युवराज खनालले उत्पादनका हिसाबले धनी रामपुरले योजना प्राथमिकीकरण र सुदृढीकरण गर्दै जानुपर्ने सुझाव दिए ।

‘गुरुयोजना भनेको नगरको विकासलाई उचित दिशा दिने मार्ग हो,’ उनले भने, ‘त्यसैले भूगोलसँग मेल खाने गरी योजना निर्माण गर्नुपर्दछ ।’ जिल्ला समन्वय समितिका सदस्य भेषबहादुर वंशीले सरकोकारवालाहरूबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित : भाद्र २७, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?