कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेपालगन्जमा विद्युतीय बस

ठाकुरसिंह थारू

नेपालगन्ज — नेपालगन्ज– कोहलपुर सडक खण्डमा विद्युतीय बस सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । प्रदेश सरकारले चालु वर्षमा यस्ता बस सञ्चालन गर्ने अवधारणा ल्याएको हो ।

नेपालगन्जमा विद्युतीय बस

प्रदूषण कम गर्न छोटो दूरीका लागि परियोजना ल्याइएको हो । त्यसका लागि कार्यविधि तयार हुँदैछ । साथै, साझा यातायातसँग सहकार्यका लागि छलफल पनि भइरहेको छ ।

नेपालगन्ज–कोहलपुरको दूरी १६ किलोमिटर छ । हालसम्म डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन मात्र सञ्चालनमा छन् । उक्त परियोजना कार्यान्वयनमा आए प्रदूषणमा कमी आउने विश्वास गरिएको छ । ‘विद्युतीय बस सञ्चालनका लागि विभिन्न पक्षसँग छलफल भइरहेको छ । त्यस्तै कार्ययोजना तयार हुँदैछ,’ प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका उपसचिव शरदबाबु पंगेनीले भने, ‘उक्त परियोजना कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।’

विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त परियोजनाअन्तर्गत नेपालगन्ज–कोहलपुर, तुल्सीपुर–घोराही र बुटवल–भैरहवासम्मका लागि विद्युतीय बस संचालन गरिनेछ । कार्ययोजना तयारीसँगै विशेषज्ञसँग परामर्श सुरु गरिएको छ । छोटो दूरीमा परियोजना सफल भए थप स्थानमा पनि विद्युतीय बस सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

बढदो सवारी साधनका कारण वातावरणमा प्रतिकूल असर परिरहेको भन्दै वैकल्पिक ऊर्जाको प्रयोग हुन थालेको छ । त्यसो त बाँकेमा पाँच हजारभन्दा बढी विद्युतीय अटो रिक्सा सञ्चालनमा छन् । ती रिक्सा नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा सञ्चालित छन् । गाउँगाउँमा पनि अटो रिक्सा सञ्चालनमा छन् ।

‘वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने महत्त्वाकांक्षी योजना हो । यसको सफल कार्यान्वयनका लागि प्रदेश सरकार लागेको छ,’ उपसचिव पंगेनीले भने, ‘कार्ययोजनालगायतका प्रारम्भिक काम सकिएपछि बस सञ्चालनका लागि थप काम अगाडि बढाइनेछ ।’ उनका अनुसार चालु आर्थिक वर्षभित्रै उक्त परियोजना कार्यान्वयन हुनेछ ।

प्रकाशित : भाद्र २७, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?