२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

तिलौराकोटको नियमित सफाइ

मनोज पौडेल

कपिलवस्तु — बुद्धस्थल तिलौराकोटको सरसफाइ थालिएको छ । पूर्वी द्वारको पश्चिम भाग र राजप्रासादको दक्षिणी क्षेत्रमा सफाइ गरिएको हो ।

तिलौराकोटको नियमित सफाइ

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी एक सय जनाले झारपात, बुट्यान काटेर सफा बनाएका छन् । सुरक्षाकर्मीले बुधबार बिहान तीन घण्टा सफाइ गरे । लुम्बिनी विकास कोषले पनि १५ मजदुर राखेर सफाइलाई निरन्तरता दिएको छ । पूर्व–पश्चिम १ हजार ३ फिट र उत्तर–दक्षिण १ हजार ७ सय फिट क्षेत्रफल रहेको तिलौराकोट क्षेत्र पूरै सफा तुल्याइनेछ । सरसफाइपछि झारपात पुन: उम्रन नदिन औषधि छर्कने योजना छ ।


‘विगत वर्षजस्तो एकपटक सरसफाइ गरेर छाड्दैनौं,’ लुम्बिनी विकास कोषको तिलौराकोट सम्पर्क कार्यालय प्रमुख माधव आचार्यले भने, ‘नियमित रेखदेख गरी व्यवस्थित बनाउँछौं ।’ एउटा कुनाबाट अर्को देखिने गरी सफा बनाउने उनले बताए । यसले तिलौराकोटको सुन्दरता बढ्ने उनले बताए । कतिपय पुरातात्त्विक भग्नावशेष झारपातले ढाकिएर नदेखिने अवस्थामा थिए । अहिले चिरिच्याट्ट तुल्याइएको छ । सफाइ अभियान महिना दिनभन्दा बढी चल्छ । प्रत्येक शनिबार सुरक्षाकर्मी आएर सहयोग गर्छन् । ‘जनशक्ति थोरै छ, नागरिकको सुरक्षामा ध्यान दिनु पर्दा धेरै समय दिन सकेनौं,’ प्रहरी उपरीक्षक मनोज यादवले भने, ‘राम्रो काम भएकाले सातामा एकपटक सहभागिता जनाउँछौं ।’


बुद्धसँग सम्बन्धित सबै क्षेत्रलाई सफा र आकर्षक बनाइने लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय शाक्यपुत्रले बताए । एक वर्षभित्रै तिलौराकोटको गुरुयोजना बनाएर काम गर्ने योजना रहेको उनले बताए । ‘अहिलेसम्म गुरुयोजना नबन्दा तिलौराकोट विकासका काम अघि बढ्न सकेनन्,’ उपाध्यक्ष मेत्तेयले भने, ‘अहिले प्राथमिकतामा गुरुयोजना परेको छ ।’


कपिलवस्तुको मुख्य पुरातात्त्विक स्थल तिलौराकोट संवेदनशील क्षेत्र हो । यसको पुरातात्त्विक अध्ययन र अनुसन्धान पूरा हुन सकेको छैन । आगामी एक/दुई वर्षमा पुरातात्त्विक अनुसन्धान पूरा हुन्छ । त्यस अवधिलाई गुरुयोजना बनाउन उपयोग गरिने मेत्तेयले बताए । तिलौराकोटमा पूर्वी, पश्चिमी द्वार, राजप्रासाद र भिक्षु बस्ने विहार (संघ राम) का पुरातात्त्विक संरचना देखिन्छन् ।


निग्रोधाराममा वृक्षरोपण
बुद्धस्थल निग्रोधारामलाई रमणीय र मनमोहक बनाउन वृक्षरोपण गर्न थालिएको छ । पूर्वी र दक्षिण भागमा आठ सय मिटर खनेर तीन लाइनमा वृक्षरोपण गरिनेछ । वृक्षरोपणको सुरुवात लुम्बिनी विकास कोष उपाध्यक्ष मेत्तेय शाक्यपुत्रले अशोकको रूख रोपेर गरे । पहिलो लाइनमा अशोक, त्यसपछि फूलका विरुवा रोपेर हुर्काइनेछ ।


पहिलो चरणमा चार मजदुरले एक साताभित्र चार सय बिरुवा राप्नेछन् । यी बिरुवालाई हुर्काएर पश्चिम र दक्षिण क्षेत्रमा पनि वृक्षरोपण गरिने लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालय गार्ड कमान्डर सञ्जय शर्माले बताए । ‘तारबार गरिएको क्षेत्र भएकाले हुर्काउन सजिलो छ,’ उनले भने, ‘त्यसका लागि नियमित स्याहारसुसारमा पनि उत्तिकै ध्यान दिन्छौं ।’


कपिलवस्तु नगरपालिका २ कुदानमा पर्ने निग्रोधाराराम राजकुमार सिद्धार्थले ज्ञान प्राप्त गरेर राजधानी प्राचीन कपिलवस्तु घर फर्कंदा मातापिता प्रजापति र शुद्धोदनलाई पहिलो पटक भेटघाट गरेका थिए । त्यस्तै यहीं छोरा राहुल र श्रीमती यशोधरालाई पनि भिक्षुले लगाउने पहेँलो वस्त्र (चिवर) प्रदान गरेका थिए ।

प्रकाशित : भाद्र २८, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?