३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सीमामा सशस्त्र प्रहरी गण

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेस्थित नेपाल–भारत सीमामा सुरक्षा सतर्कता बढाउन सशस्त्र प्रहरीले थप दुई गण स्थापना गर्न लागेको छ ।

सीमामा सशस्त्र प्रहरी गण

यसअघि जिल्ला सदरमुकामबाहेक कालाबन्जड र गंगापुरमा मात्र सीमा सुरक्षाका लागि गण स्थापना गरिएको थियो । सीमामा सशस्त्र प्रहरीको उपस्थिति न्यून भएको भन्दै सर्वसाधारणले प्रश्न गर्न थालेपछि थप दुई गण राख्न थालिएको हो ।


भारतीय पक्षले भने सीमा सुरक्षाका लागि भन्दै हरेक तीन/तीन किलोमिटरमा अर्धसैनिक बल (एसएसबी) तैनाथ गरेको छ । भारतसँग जोडिएको जिल्लाका करिब ६५ किलोमिटर खुला सीमाका १३ स्थानमा सुरक्षा जाँचका लागि एसएसबीका चेकपोस्ट छन् । एसएसबीले सीमामा आउजाउ गर्ने व्यक्तिको सुरक्षा जाँच गर्न एक्सरे मेसिनसमेत राखेको छ ।


जिल्लाको पश्चिम–दक्षिण सीमा जानकी गाउँपालिकाको शिवपुरा र पूर्वी– दक्षिण नरैनापुर गाउँपालिकामा सशस्त्र प्रहरीको गण राख्न थालिएको हो । गणको कमान्ड सशस्त्र प्रहरी निरीक्षकले गर्ने छन् । त्यसका लागि स्थलगत अध्ययन गरिसकिएको नेपालगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर ३० का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए ।


उनका अनुसार सीमामा हुने अपराधलाई नियन्त्रण र सीमा सुरक्षा गर्न गण राख्न थालिएको हो । ‘खुला सीमाका कारण आपराधिक व्यक्तिहरूको चलखेल हुने सम्भावना रहन्छ । त्यसैले बाँकेको सीमालाई कभर हुने गरी थप दुई गण राख्न थालिएको हो,’ सशस्त्र प्रहरी उपरीक्षक शाहले भने, ‘यसले सीमामा हुने गतिविधि निगरानी गर्नमा सहज हुनेछ ।’


खुला सीमामा मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध कारोबारका घटना बढीजसो हुने गरेका छन् । त्यस्तै आपराधिक व्यक्तिहरूको घुसपैठ पनि हुने गरेको छ । त्यस्तै नेपालगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर ३० ले दशगजामा रहेका सीमा स्तम्भको निरीक्षण गर्न बुधबारदेखि एक सातासम्मका लागि फोर्स मार्च पास सुरु गरेको छ ।


सीमा स्तम्भको निरीक्षणसँगै लागूऔषध कारोबार नियन्त्रण गर्न, मानव बेचबिखन, चोरी निकासी पैठारी रोक्न र सर्वसाधारणलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन एक सातासम्म लामो दूरीको फोर्स मार्च सुरु गरिएको हो । पश्चिम बर्दियाको मानखोला र पूर्व दाङको भौवा नाकासम्मको ६५ किलोमिटर खुला सीमाको मार्च पासपछि सीमा स्तम्भको नयाँ अवस्था जानकारी हुने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?