कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

राजमार्गमा पहिरै पहिरा

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल खण्डमा ठाउँठाउँमा पहिरो खसेको छ । चार दिनदेखिको अविरल वर्षाले पहिरो झरेको हो । सोमबार दिउँसो परेको अविरल वर्षाले राजमार्गका डुम्रे, केराबारी, चौबीसमाइल, हिउँदेखोला, सिसुवा, झुम्सा, भूतखोला, सिद्धबाबालगायत २० भन्दा बढी स्थानमा पहिरो खसेको छ ।

राजमार्गमा पहिरै पहिरा

चार दिनदेखि दिनहुँ पानी परिरहेकाले पहिरो खस्ने क्रम जारी छ । दैनिक राजमार्ग अवरुद्ध हुने गरेको छ । चार दिनदेखिको वर्षा यहाँको दोभान, केराबारी, झुम्सा, कचल, गोठादी, मस्याम, कोलडाँडा क्षेत्रमा बढी परेको छ । जसले गर्दा सवारी साधन र यात्रुलाई सास्ती खेप्नु परेको छ ।

‘अचम्मै पानी परेको छ,’ तिनाउ गाउँपालिका ५ मस्याम जोरधाराका सुन्दर गाहाले भने, ‘गाग्रीबाट खन्याएजस्तो पानी परेको त कहिल्यै देखेको थिइनँ । त्यस्तो पानी परेको छ ।’ यसले गर्दा जतासुकै पहिरो खसेको उनले बताए । मोटरसाइकल र साना सवारी साधनमा हिँड्नै खतरा भएको छ ।

राजमार्गमा खसेको पहिरोका कारण सोमबार आठ, मंगलबार चार, बुधबार तीन र बिहीबार दुई घण्टा राजमार्ग अवरुद्ध भएको थियो । सडक डिभिजन, ट्राफिक प्रहरी र प्रहरी चौकी दोभानको काम बाटो अवरुद्ध खुलाउने भएको छ । ‘अन्यत्र नपर्ने पानी यही क्षेत्रमा कसरी मुसलधारे परेको छ, अचम्म भएको छ,’ दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक एकबहादुर नेपालीले भने, ‘यही क्षेत्रमा मात्र यस्तो समस्या आएको छ ।’

हिउँदे खोलामा माथिल्लो भागबाट गेगर बगाएर ल्याएकाले सफा गर्न दुई घण्टा लागेको थियो । सिसुवा, पानीमिल नजिकै पनि ठूलो पहिरो खसेको छ । चौबीसमाइल र केराबारीमा पनि उस्तै अवस्था बनाएको स्थानीय जेके थकालीले बताए । ‘यस्तो वर्षा भयो कि हामी यसरी गिटी, बालुवा ल्याउला भन्ने कल्पनासमेत गरेका थिएनौं,’ उनले भने, ‘माथिल्लो भागबाट अत्यधिक गेगर बगाएर ल्याएर राजमार्गमा क्षति पुगेको छ ।’

प्रहरीका अनुसार पानी परिरहँदा यात्रा गर्ने एउटा स्कर्पियोलाई ढुंगाले लागेको छ । भूतखोलामा साना–ठूला सवारी साधन हिलोमा फसेर समस्या ल्याएकाले मर्मत गरिएको सडक डिभिजनका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए । ‘अघिल्लो दिन दुर्घटना भएर बाटो मिलाएका थियौं,’ उनले भने, ‘पानी परेर फेरि भासिन थालेको छ ।’

राजमार्गका विभिन्न स्थानमा माथिल्लो भागबाट खसेको पहिरो, ढुंगा र माटोले क्षति पुगेको छ । चार दिनदेखिको वर्षाले भूतखोलामा झन् समस्या आएको स्थानीय कृष्णप्रसाद पाण्डेयले बताए । ‘साना सवारी साधन दुर्घटना हुने क्रम बढेको छ,’ उनले भने, ‘बाटोको स्थिति झन् बिग्रिँदो छ ।’ सडक डिभिजनले दुईवटा डोजरले पहिरो सफा गर्ने गरेका छन् । पानी पर्नासाथ प्रहरीको समन्वयमा डोजर पठाइने गरिएको छ । ‘जहाँ कमजोर भूभाग छ, त्यहीं पानी बढी परेको छ,’ सूचना अधिकारी आचार्यले भने, ‘केही दिनयताको वर्षाले निकै समस्या ल्याएको छ ।’

प्रकाशित : भाद्र २९, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?