थारू समुदायमा कुष्ठरोग अत्यधिक

खुला सीमाका कारण कुष्ठरोग निवारणमा चुनौती
६० प्रतिशत थारू समुदाय कुष्ठरोग प्रभावित
मनोज पौडेल

कपिलवस्तु — शून्यमा झार्न अभियान चलिरहेका बेला यहाँ कुष्ठरोगीको संख्या बढिरहेको छ । खुला सीमा र चेतनाको अभावले बिरामी बढेको बढ्यै छन् । जिल्लाबाट ६ वर्षअघि कुष्ठरोग निवारण घोषणा गरिएको थियो ।

तर, खुला सीमा क्षेत्रमा विभिन्न ठाउँका व्यक्तिको ओहोरदोहोर हुँदा बिरामी घटेका छैनन् । अहिले बिरामी बढ्दै जाँदा रोग निवारण भएको घोषणा कायम राख्न चुनौती बनेको छ ।


जिल्लाको जनसंख्याको प्रति १० हजारमा एक जनाभन्दा कम कुष्ठरोगका बिरामी भए रोग निवारण भएको मानिन्छ । अहिले यहाँ त्यो संख्या बढेर दोब्बर भएको छ । जिल्लामा तीन वर्षमा ३ सय ७६ नयाँ कुष्ठरोगी फेला परेका छन् । जिल्लामा कुष्ठरोगी बढ्दै जाँदा रोग उन्मूलन भएको घोषणा समस्या बनेको हो ।

Yamaha


मुलुकबाट ०६६ माघ ५ मा राष्ट्रिय स्तरमै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि यहाँ भने तीन वर्षदेखि निरन्तर बिरामी बढ्दै गएका छन् । बिरामी बढा जिल्लामा भने रोग निवारण चुनौती बन्दै गएको छ । गरिबी र विपन्नताका कारण उपचार गराउन नजाने प्रवृत्ति बढेका कारण पनि कुष्ठरोगका बिरामी बढ्दै गएका हुन् । सचेतना नहँुदा कुष्ठरोगले तत्कालका लागि ठूलो समस्या नपर्दासम्म अस्पताल नजाने प्रवृत्ति छ । लामो समय अस्पताल नजाँदा रोग जटिल बनेर अंगभंग हुने अवस्था आउँछ । त्यस्तो समस्या भएपछि मात्र बिरामी स्वास्थ्य केन्द्रसम्म पुग्ने गरेका छन् ।


यहाँका थारू समुदायमा कुष्ठरोगका बिरामी अत्यधिक देखिएका छन् । यो रोग लागेकामा ६० प्रतिशत थारू छन् । गत वर्ष एक महिना मात्रै खोजपडताल गर्दा ३० महिला र ६७ पुरुष नयाँ कुष्ठरोगी फेला परेका हुन् । ‘यसले निकै संवेदनशील बनायो,’ स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक योगेन्द्र भगतले भने, ‘अब नयाँ रणनीति अपनाएनौं भने मुलुकलाई सन् २०२० सम्म कुष्ठरोगमुक्त गर्ने अभियान काजगमा मात्र सीमित हुनेछ ।’


बुद्धभूमि नगरपालिकाको दुबियामा एक थारू परिवारमा आमा, छोरा र बाबु कुष्ठरोगबाट प्रभावित भएको भेटिएका छन् । ‘महिला घरायसी कामकाजमा लाग्नुपर्ने बाध्यता छ,’ दुबिया स्वास्थ्यचौकीका सीअहेव दीपकमणि पौडेलले भने, ‘थला नपरुन्जेल उपचारका लागि नआउने प्रवृत्तिले समस्या बढ्दो छ ।’ सर्ने खालको कुष्ठरोगले छालामा असर गरे पनि तत्काल शरीरमा प्रभाव नपार्ने भएकाले बिरामीले हेलचेक्र्याइँ गर्ने गरेको स्वास्थ्य कार्यालयका क्षय–कुष्ठ अधिकृत मोहम्मद इफानले बताए । ‘सुरुमा हिँडडुल गर्न र कामकाज गर्न समस्या पर्दैन,’ उनले भने, ‘त्यसैले बिरामीले स्वास्थ्यप्रति ध्यान नदिने गरेका हुन् ।’


कुष्ठरोगका कीटाणुले विस्तारै असर गर्दै छाला बाक्लो हुने, गिर्खाहरू देखा परेर स्नायुमा असर गर्दै हातगोडा छुँदा पनि थाहा नपाउने र मांसपेशी कमजोर बनाउँदै लैजान्छ । त्यसपछि शारीरिक रूपमै कुरूप र कामकाज गर्न समस्या भएपछि बिरामी स्वास्थ्यकर्मीको सम्पर्कमा आउने हँुदा संख्या बढ्दै गएको अधिकृत इफानको भनाइ छ । रोग लागेको २ देखि ५ वर्षभित्र लक्षण देखापर्छ । त्यसपछि नराम्ररी प्रभावित बनाउँछ । मुलुकका कुष्ठ प्रभावित १० जिल्लामध्ये कपिलवस्तु एक हो । भारतसँगको खुला सीमाका कारण तराईका जिल्लामा कुष्ठरोग निवारण समस्या र चुनौती भइरहेको स्वास्थ्य प्रमुख भगतले बताए ।


पहाडी क्षेत्रबाट बसाइँसराइ गरेर आउने बिरामी र भारतीय बजारमा रोजगारी गरेर फर्कने बिरामीका कारण पनि रोगीको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । माइक्रो बेक्टेरियमबाट सर्ने उक्त रोग निको पार्न रिफामपिसिन, एमबी पीबी नामक औषधि अवस्था हेरी ६ महिना र एक वर्षसम्म नियमित सेवन गर्नुपर्छ ।


गम्भीर खाललाई एमबी र सामान्य खालका रोगीलाई पीबी औषधि दिइने गरिएको छ । नचिलाउने, लाटोफुस्रो दागहरू देखापर्ने र विस्तारै शरीरका सेल मार्दै जाने, अंगभंग हुने र बिरामी अपांग हुनेसम्मको अवस्था कुष्ठरोगले ल्याउने गर्छ । समयमै रोग लागेको पत्ता लगाई उपचार गरेमा अंगभंग नहुने र अरूलाई यो रोग सर्ने सम्भावना न्यून रहन्छ । नियमित औषधि सेवन गरी निको भएका बिरामीलाई यातायात खर्च १ हजार पनि दिने गरिएको छ ।


गत आवमा ७२ पुराना र १ सय ८२ नयाँ थपिएर २ सय ५४ बिरामी पुगे । १ सय ७ जना निको भए । नयाँ भेटिएका मध्ये २० जना अंगभंग भएका छन् । ०७३/७४ मा ७० पुराना र १ सय १० नयाँ थपिएर १ सय ८० कुष्ठरोगी थिए । २ जना अंगभंग छन् । त्यसमा ९९ जना निको भए । जसमध्ये ५० महिला छन् । गत आव ०७२/०७३ मा १ सय ९ पुराना र ८४ नयाँ बिरामी थिए ।

Esewa Pasal

प्रकाशित : भाद्र २९, २०७५ १०:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिकाइमै बित्यो वर्ष

कान्तिपुर संवाददाता

पाल्पा — माथागढी गाउँपालिकाका जनप्रतिनिधिको एक वर्ष सिक्नमै बितेको छ । आठ वडा रहेको गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूले सिकाइ एवं भोगाइमै वर्ष दिन बिताए । उनीहरूले देखिने गरी काम गर्न विभिन्न बाधा/अवरोधले गर्दा नसकिएको बताए ।

माथागढी गाउँपालिका कार्यालय भवन । तस्बिर : माधव

‘नयाँ व्यवस्था, कानुन र भोगाइ पनि भएकाले होला,’ माथागढी १ का वडाध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘यो एक वर्ष हाम्रो सिकाइमै बितेको छ ।’ गाउँपालिकाले पनि कानुन बनाउने, योजना बुन्ने र जनतासँगको सहकार्यलाई एक वर्षमा जोड दिएको छ । वडावडामा विकास निर्माणका काम भने विगतमा जस्तै छ । जनताले फरक अनुभव गर्न पाएका छैनन् ।


अघिल्लो वर्ष प्रदेश र केन्द्रीय संसद्को चुनाव भएर पनि खासै धेरै काम गर्न नसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए । ‘प्रदेश र केन्द्रको निर्वाचनले पनि केही महिना काम गर्न सकिएन,’ उनले भने, ‘पहिलो वर्ष भएकाले सिकाइ र भोगाइ नै अनुभव बनेको छ ।’


उनका अनुसार मुख्य काम कार्यालयको संस्थागत व्यवस्थापन नै हो । कर्मचारी र भवनको अभाव छ । वडा कार्यालयको भवनबाट गाउँपालिका चलाउनु परेको छ । ६ नम्बर वडा कार्यालय व्यवस्थित बनाउन सकिएको छैन । स्थानीय विकास निर्माण र स्थानीय समस्यालाई स्थानीय तहमै समाधान गर्न सुरु भएको उनको एक वर्षको अनुभव छ । ‘जनतालाई स्वच्छ खानेपानी व्यवस्था गर्नका लागि लिफ्ट खानेपानी योजना ल्याएका छौं,’ उनले भने, ‘सुरुवाती चरण भएकाले पनि कतिपय योजना सम्पन्न हुन बाँकी छन् ।’ कृषि, शिक्षा, स्वास्थ्य र विकास निर्माणलाई नै जोड दिएको उनले बताए ।


‘४ सय ५० जना युवालाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम दिइएको छ,’ अध्यक्ष थापामगरले भने, ‘गाउँपालिकाको ५० लाख र स्थानीय जनताको २२ लाख रुपैयाँको लागतमा झन्डै १ किलोमिटर सराई–एक्लेवर मोटरबाटो कालोपत्रे गरिएको छ ।’


‘एक वर्ष अनुभव लिँदालिँदै बितेको छ,’ गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले भनिन्, ‘अबका दिनमा पक्कै पनि सही ढंगले काम अगाडि बढ्नेछ ।’


गाउँपालिकाको डिजिटल वस्तुगत विवरण, मोबाइल एप्स र त्यसैका आधारमा आवधिक र दीर्घकालीन योजना बनेको गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले बताए ।


‘गाउँपालिकामा काम गर्नलाई सबैभन्दा अप्ठ्यारो भनेको कर्मचारी अभाव नै हो,’ उनले भने, ‘एकातिर हामीमा अनुभवको कमी रह्यो भने अर्कोतिर संघीय र प्रदेश सरकारबाट अनावश्यक हस्तक्षेप पनि भएको छ ।’ न्यून बजेट अर्को समस्या भएको वडाध्यक्ष जनक रिजेलले बताए । ‘जे जसरी सिंहदरबारको अधिकार गाउँघरमै पुग्यो भनेर प्रचार गरियो, त्यो हुन सकेन,’ उनले भने ।


कतिपय अवस्थामा राजनीति पूर्वाग्रही बन्दा पनि समस्या भएको छ । गाउँपालिकाका अध्यक्ष थापामगरका अनुसार बाँसटारीबाट झडेवा जाने मोटरबाटोलगायत केही योजनामा अख्तियारमा मुद्दा हालेर अवरोध गर्ने प्रयास भएको छ । ‘विपक्षीको काम दु:ख दिने मात्र होइन, सुझाव दिएर पनि अघि बढ्न सकिन्छ,’ उनले भने ।


स्थानीय जनताको स्थानीय विकासमा सहभागिताले पनि काम गर्न सहज बनाएको उनले बताए । सीमित कर्मचारी भए पनि मिहिनेत गर्ने भएकाले उत्साह जगाएको उनले बताए । ‘माथागढी गाउँपालिकाको समृद्धि सम्भव छ,’ उनले भने, ‘समुन्नत माथागढीका लागि यस वर्ष पनि जनताको उत्साहपूर्ण सहभागिता र साथ रहने अपेक्षा गरेका छौं ।’

प्रकाशित : भाद्र २९, २०७५ १०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT