कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तस्करी रोक्न सीमा गस्ती

बर्दिया — यहाँको बाँसगढी ९ का महेश साहसहितका व्यवसायी भारतबाट अवैध रूपमा भित्रिने कुखुरा तस्करी रोक्न रात–दिन सीमावर्ती क्षेत्रमा गस्ती गर्छन् ।

तस्करी रोक्न सीमा गस्ती

जिल्ला कुखुरा व्यवसायी संघका सदस्य साहले तस्करी रोक्ने निकायले सक्रियता नदेखाएकाले बाध्य भई गस्ती गर्न थालेको बताए । बुधबार दिउँसो भारतको लौकाहीबाट भे२प ४५९२ नम्बरको मोटरसाइकलमा २० वटा ब्रोइलर कुखुरा साहलगायतका व्यवसायीले समातेर प्रहरीलाई बुझाए । कुखुरा तस्कर मोटरसाइकल छाडेर फरार भए ।

गणेशपुर प्रहरी चौकीदेखि करिब एक किमि पश्चिममा मोटरसाइकल समातेपछि बढैयाताल गाउँपालिका ९ जनतानगरका सुवास थारू पक्राउ परे । उनलाई प्रहरी चौकीमा ल्याई पशु क्वारेन्टाइन कार्यालयमार्फत १० हजार रुपैयाँ जरिवाना लिएर छाडियो । उनीबाट बरामद कुखुरा प्रहरी र स्थानीयको रोहवरमा नष्ट गरियो । एक सातायता व्यवसायीले झन्डै ५० कुखुरा बरामद गरी क्वारेन्टाइन कार्यालयमा बुझाए ।

बिहीबार बिहान गुलरिया ११ कान्तिपुरमा प्रहरीले १२ कुखुरा र साइकलसहित भारत लौकाहीका गजराज बढैईलाई पक्राउ गरेको छ । मोटरसाइकल लिलामका लागि भन्सार कार्यालय पठाएको गणेशपुरका प्रहरी इन्चार्ज धर्म केसीले बताए । उनले व्यवसायी र प्रहरीको संयुक्त गस्तीले कुखुरा, मोटसाइकल र साइकल बरामद गर्न सफल भएको दाबी गरे ।

आफ्नो व्यवसाय चौपट भएको भन्दै यहाँका कुखुरा व्यवसायीले एक महिनादेखि गस्ती गर्न थालेका हुन् । भारतीय सीमावर्ती बजार बलैगाउँ र लौकाहीबाट दैनिक एक हजारभन्दा बढी कुखुरा भित्रिइरहेको यस भेगका व्यवसायीले बताए । प्रहरीले एक महिनाको अवधिमा १ सय ६८ किलो कुखुरा बरामद गरी क्वारेन्टाइनमा बुझाएको जनाएको छ ।

अवैध कुखरा रोक्ने प्रयास गर्दा भारतीय तस्करले ज्यान मार्ने धम्की दिएको व्यवसायी दीपक अधिकारीले बताए । सीमावर्ती क्षेत्रका प्रहरी सक्रिय नहुँदा यस्ता गतिविधिले प्रोत्साहन पाएको व्यवसायीको गुनासो छ । जिल्लाको पूर्वी नाका जमुनीबाट अवैध रूपमा जिउँदा कुखुरा नेपाल भित्र्याउने गिरोह फेरि सक्रिय भएको छ ।

पशु क्वारेन्टाइन प्रमुख अजय साहले गत साउन र भदौमा बरामद गरी बुझाइएका ३ सय ४२ कुखुरा नष्ट गरिएको बताए । सोही अवधिमा ११ जना तस्करलाई जनही १० हजार रुपैयाँ राजस्व असुलेर छाडिएको छ । आव ०७४/०७५ मा ७ हजार ७ सय ८० वटा कुखुरा नष्ट गरिएको उनले बताए । गत वर्ष बाँसगढी नगरपालिकाको दक्षिण भकारीमा भारतबाट भित्र्याइएका ५ हजार १ सय कुखुराका चल्लासहित भे१च २२४१ नम्बरको जिपका चालकलाई स्थानीयले पक्राउ गरेका थिए । क्वारेनटाइनमा बुझाएको कुखुरा नष्ट गरे पनि जिप र चालकलाई ३५ हजार रुपैयाँ जरिवाना लिई छाडिएको थियो ।

नेपालमा प्रतिबन्धित भारतीय कुखुरा लौकाही र बलैगाउँबाट दैनिक सयाैंको संख्यामा भित्रिए पनि ठूला तस्करलाई सीमामा तैनाथ सुरक्षाकर्मीले पक्राउ गर्न सकेका छैनन् । अवैध कुखुरा बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिका र बाँकेका बजारमा छ्यापछ्याप्ती पाइन्छन् । भारतबाट कुखुरा भित्रिँदै गएपछि यहाँका व्यवसायी मर्कामा परेको गुनासो पोख्छन् ।

नेपाली भन्दै चल्ला बिक्री
नेपालगन्ज (कास)– भारतबाट तस्करी गरी ल्याइएका कुखुराका चल्लालाई नेपाली उत्पादन भन्दै बिक्री हुने गरेको तथ्य खुलेको छ । भारतमा एउटा चल्लाको मूल्य १५ देखि २० रुपैयाँ भारु पर्छ । तर, नेपाली उत्पादन भन्दै एउटा चल्लालाई ६० देखि १ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

चल्लाबाट बढी फाइदा हुन थालेपछि तस्करी बढ्दो छ । चोर बाटो भएर तस्करी गरिएका कुखुरा र चल्ला दैनिकजसो बरामद हुने गरेका छन् । तस्करहरूले भरिया प्रयोग गरी चल्ला ल्याउने गरेका हुन् । भारतबाट चार कार्टुन चल्ला ओसारेबापत भरियाले १ हजार २ सय रुपैयाँ पाउने गरेका छन् ।

भरियाले चल्ला तस्करी कार्टुनमा राखी टाउकोमा बोकेर गर्दै आएको प्रहरीले जनाएको छ । खुला सीमाको छोटो बाटो भएर उनीहरूले नेपाल ल्याउने गरेका हुन् । बुधबार जिल्ला प्रहरी र ५ नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्युरोले ७ हजार १ सय चल्ला बरामद गर्‍यो ।

त्यसअघि तीन हजार चल्ला बरामद गरिएको थियो । ‘कुखुराका चल्ला मूल नाकाबाट नभई चोर बाटोबाट तस्करी गरेको पाइएको छ । खेतखेतमै गएर गस्ती गरेपछि पक्राउ परेका हुन्,’ बाँकेमा खटिएका ५ नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक देवी पौडेलले भने ।

प्रकाशित : भाद्र २९, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?