कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बर्जिबाङमा शान्तिपार्क

गिरुप्रसाद भण्डारी

प्यूठान — स्वर्गद्वारी नगरपालिका ८ बर्जिबाङ दहचौरमा शान्तिपार्क निर्माण गर्न थालिएको छ । यसका लागि स्वर्गद्वारी नगरपालिकाको सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पूरा गरी गुरुयोजना बनाइएको छ ।

बर्जिबाङमा शान्तिपार्क

प्रदेश सरकारले समेत पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वर्गद्वारी नगरपालिकाको प्रथम नगरसभाले बर्जिबाङ विकास मार्गचित्र पारित गरेपछि पार्क निर्माण प्रक्रिया अगाडि बढेको हो ।


स्थानीय हरियाली सामुदायिक वन क्षेत्रको चार सय रोपनी बाँझो चौरमा शान्तिपार्क निर्माण गर्न लागिएको बर्जिबाङका सामाजिक अगुवा तथा शैक्षिक प्रगति मन्च बर्जिबाङका अध्यक्ष दलबहादुर केसीले बताए । ‘नमुना बर्जिबाङ बनाउन १८ वटा बुँदा तयार पारी अगाडि बढेका छौं, यसमध्ये पार्क एउटा हो,’ उनले भने, ‘हाम्रो सोच बर्जिबाङलाई प्रदेश ५ कै हेर्न लाएक गाउँ बनाउने हो ।’

पार्क निर्माण गर्ने भनेको क्षेत्रमा स्थानीयले चरिचरन रोकेर १० वर्षदेखि वरपीपल रोप्ने काम गर्दै आएका छन् । वरपीपल लगाएर स्थानीयले चौपारी निर्माण गरेका छन् । चौपारीमा अघिल्लो पुस्ताको सम्झनाका लागि शिलालेख पनि राखिएको छ । पार्क निर्माण स्थलममा यस्ता १४ वटा चौपारी स्थानीयले निर्माण गरिसकेका छन् । स्थानीयले नै तीनवटा मन्दिरसमेत निर्माण गरेका छन् । यी मन्दिरमा तीजको पञ्चमीमा पूजापाठ गरी मेला लाग्ने गर्छ ।


‘कला, संस्कृति र पर्यटन विकास हाम्रो अभियान, नमुना शान्तिपार्क स्वर्गद्वारी नगरको पहिचान’ भन्ने नारा बनाएर पार्क निर्माणमा स्थानीय समुदाय सक्रिय रूपमा लागेको स्थानीय भीमबहादुर खड्काले बताए । ‘नगरपालिकाको पाँच लाख सहयोगमा शान्ति नगरपार्क बालउद्यान उपभोक्ता समितिमार्फत विस्तृत अध्ययन पूरा गरेका छौं,’ उनले भने, ‘नगरपालिका, प्रदेश र केन्द्रको सहयोग पाए १० वर्षभित्र पार्क निर्माणको काम हुन सक्छ ।’ ३४ करोड रुपैयाँको लागतमा पार्क निर्माण सम्पन्न हुनेछ । यसका लागि डिजाइन र इस्टिमेट गरिएको उनले बताए ।


२४ वटा पिकनिक स्थल, स्वर्गद्वारी बाबा र गौतम बुद्धको मूर्ति राखेर शान्ति स्तम्भ, धर्मशाला, योगहल, बालउद्यान, मनोरञ्जन क्षेत्र, स्विमिङ पुल, हरियाली क्षेत्रसहितको पार्क निर्माण गर्ने गरी योजना अगाडि बढेको छ । बर्जिबाङमा चाल्नेटार विमानस्थल, चेरनेटा–दहचौर–सारी सडक स्तरोन्नति गर्ने काम सँगसँगै अगाडि बढे पार्कको महत्त्व बढ्ने स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायाले बताए । ‘बर्जिबाङवासीको सक्रियतामा नगरपालिकाले हातेमालो गरेको छ,’ रोकायाले भने, ‘पार्क निर्माण भए नगरपालिकाको नै गौरव बढ्नेछ ।’

उनले नगरपालिकाको पहलमा प्रदशेबाट पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको बताए । ‘बर्जिबाङ विकास मार्गचित्र ०७४’ ले कल्पना गरे अनुसारको पार्क बनाउन नगरपालिकाले हरेक वर्ष सहयोग गर्ने रोकायाले बताए । ‘बर्जिबाङवासी धेरै मिहिनेती छन्,’ उनले भने, ‘हाम्रो नगरका नयाँ योजना यहींबाट बन्ने गरेका छन् ।’

स्थानीयकै अगुवाइमा नमुना स्वस्थ गाउँ, पूर्ण विद्यार्थी भर्ना वडा, पूर्ण साक्षर, पूर्ण खोपलगायत हरेक अभियानमा स्वर्गद्वारी नगरपालिका ८ बर्जिबाङअगाडि रहेको रोकायाले बताए । ‘स्थानीय समाजिक अगुवाहरू शैक्षिक प्रगति मञ्च गठन गरेर बर्जिबाङलाई अगाडि बढाउन लागिपरेका छन्,’ रोकायाले भने, ‘उनीहरूकै सक्रियतामा यहाँ शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक पूर्वाधारको विकास अगाडि बढ्दै छ ।’


शान्तिपार्क निर्माणको काम पूरा भए स्वर्गद्वारीको काखमा रहेको बर्जिबाङ गाउँ घुम्न स्वर्गद्वारी आएका पर्यटक पनि आउन सक्ने रोकायाले बताए ।

प्रकाशित : भाद्र २९, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?