नेपालगन्जमा अत्याधुनिक शौचालय

करिश्मा चौधरी

बाँके — नेपालगन्ज उपमहानगरपालिकाले तत्काल उपमहानगरका तीन स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ । त्यसका लागि धम्बोजी चोक, भेरी अञ्चल अस्पतालनजिक र मासु मन्डीनजिकका ठाउँ छनोट गरिएको छ ।

नेपालगन्जमा अत्याधुनिक शौचालय

उपमहानगरले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसएनभी नेपालसँगको सहकार्यमा सार्वजनिक शौचालय बनाउन सुरु गरेको हो ।


नेपालगन्जको धम्बोजी अरू चोकको तुलनामा निकै व्यस्त मानिन्छ । मानिसको चाप धेरै हुन्छ । तर, नजिकै सार्वजनिक शौचालय छैन । शौचालय नहुँदा आवतजावत गरिरहनुपर्नेलाई समस्या छ । शौचालय नहुँदा खुला ठाउँ प्रदूषित भइरहेको छ । स्थानीय र सरोकारवालाको मागपछि उपमहानगरपालिकाले धम्बोजी चोकनजिक अत्याधुनिक सार्वजनिक शौचालय बनाउन थालेको छ । करिब ५० लाख रुपैयाँको लगानीमा शौचालय निर्माण गर्न लागिएको हो ।


उपमहानगर खुला दिसामुक्त घोषणा गर्नुअघि नै यहाँका विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउन सुरु गरे पनि जग्गा अभावमा शौचालय बनाउन नसकिएको उपमहानगरपालिकाका पूर्ण सरसफाइ फोकल पर्सन ओविराज आचार्यले बताए । धम्बोजी चोकनजिक नेपाल राष्ट्र बैंकअगाडिको खाली जमिनमा सार्वजनिक शौचालय बनाइने भएको छ । शौचालयमा पूर्ण सरसफाइ लागू गरिनेछ । यो शौचालय अपाङ्गमैत्री, बालमैत्री तथा महिलामैत्री बनाइने आचार्यले बताए । ‘स्वचालित शौचालय साबुन र पानी नहँुदा खुल्ने छैन,’ उनले भने, ‘अत्याधुनिक स्वचालित शौचालय २० दिनभित्रै सम्पन्न गर्ने गरी काम सुरु भएको छ ।’


भेरी अञ्चल अस्पतालनजिक एउटा सार्वजनिक शौचालय प्रयोगमा छ । अस्पताल, निजी मेडिकल तथा यहाँका धेरै सरकारी कार्यालय त्यस वरपर रहेकाले सर्वसाधारणको चाप धेरै हुन्छ । चाप धेरै भएकाले भेरी अञ्चल अस्पतालनजिक अर्को शौचालय पनि बनाउन थालिएको हो । मासुमन्डी छेउ पनि सार्वजनिक शौचालय बनाइने भएको छ । यी दुई स्थानमा बनाइने शौचालय भने सामान्य हुनेछन् ।


सर्वसाधारणको चाप धेरै हुने सार्वजनिक स्थानमा शौचालय नहुँदा सरसफाइमा बाधा पुगेको थियो । सार्वजनिक स्थानमा पनि शौचालय प्रयोग गर्दा प्रदूषित पानीबाट लाग्ने रोगबाट बच्न सकिने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले बताए । ‘सरसफाइमा शौचालयको ठूलो हात हुन्छ । शौचालयको सही प्रयोगले विभिन्न महामारी, झाडापखाला, हैजालगायत जुकाजन्य रोगको रोकथाम हुन्छ,’ उनले भने, सार्वजनिक स्थलमा शौचालय बन्दा प्रत्यक्ष–अप्रत्यक्ष मानव स्वास्थ्यलाई नै फाइदा पुग्छ ।’

प्रकाशित : भाद्र ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?