मारुनी जोगाउँदै स्थानीय

माधव अर्याल

पाल्पा — परापूर्वदेखि जिल्लाका मगर समुदायमा लोकप्रिय सोरठी (मारुनी) नाच जोगाउन स्थानीय तम्सिएका छन् । यो नृत्यको सीप हस्तान्तरण हुन नसकेकाले अहिले लोप हुने अवस्थामा पुगेको छ ।

मारुनी जोगाउँदै स्थानीय

तसर्थ, तानसेन नगरपालिका ९ तीनपीपलेका जनप्रतिनिधिको सहयोगमा अहिले यसको संरक्षण र पुस्तान्तरण सुरु भएको हो ।


स्थानीय स्तरमा मारुनी नाच भनेर चिनिने यसको संरक्षणका लागि पाको पुस्ता कस्सिएको छ । ‘यसपटक १६ वर्षपछि पुन: ब्युँताएका हौं,’ स्थानीय तुलबहादुर गाहाले भने, ‘यसलाई पुस्ता हस्तान्तरण गर्न लागेका छौं ।’ युवा विदेशिने र पुरानो पुस्ता थाकेपछि मारुनी नाच गाउँबाट हराउन लागेको थियो ।


जिल्लाका मित्याल, झिरुवास, जल्पा, अर्चले, सिलुवा, ज्यामिरे, बहादुरपुर, रहवास, गोठादीमा यो नाच बढी नाचिन्छ । दोभान, मस्याम, कोलडाँडा, रामपुर, गेझा, खालीवन, फोक्सिङकोट, हुमिन, देवीनगर, कसेनीलगायतका गाउँमा पनि नाचिन्थ्यो । तर, अहिले भने यसलाई कतैकतै मात्र देख्न पाइन्छ ।


मारुनी तीजपछि सुरु भएर मंसिर पूर्णिमा र कतिपय ठाउँमा पुस १५ सम्म पनि नाच्ने परम्परा छ । ‘तीजपछि सुरु भएर धान स्याहारेपछि नाच सकिन्थ्यो,’ तानसेन ९ तीनपीपलेका हरिबहादुर कुँवरले भने, ‘नयाँ पुस्तालाई यसका विषयमा सिकाउन जरुरी छ । उनीहरूले बिर्सिसके ।’ रामायण र कृष्ण चरित्रलाई लोकभाकामा गाइने भएकाले पुरानाबाट सिक्नुपर्ने अवस्था रहेको उनले बताए ।


‘सिकारै खेलन जाम, भैया लक्षुमन सिकारै खेलन जाम...।
ए अघि लागे रामजी पछि लागे लक्षुमन, सिकारै खेलन जाम...।
भैया लक्षुमन सिकारै खेलन जाम...।
ए काँधै लिम्ला धुनकोण, काँधै लिम्ला थोकरा...सिकारै खेलन जाम...।’


८९ वर्षीय हरिबहादुर कुँवर र ७८ वर्षीय ताराबहादुर गाहा मगर मारुनीका रौरा हुन् । उनीहरूले उल्लिखित गीत निकाल्छन् । त्यसपछि अन्य समूहले छोप्छन् । मजुरा र मादल बज्छन् । अन्यत्र पुरुष मारुनी बनेर नाच्छन् । तर, यहाँ भने किशोरीलाई नै मारुनी नाच्न सिकाइएको छ । ‘केटाहरूले जानेका छन्,’ रौरा ताराबहादुरले भने, ‘किशोरीलाई पनि सिकायो भने राम्रो हुन्छ ।’ यसपालि अनिला पल्ली र कृपा मश्राङ्गीले मारुनी बनेर नाच्न सिकेका छन् । चनबहादुर राना पुरुसुङ्गे बनेका छन् । यमबहादुर थापा र भीमबहादुर कुँवर मगर मादले बनेर उफ्रिएका छन् ।


‘रामायण र कृष्ण चरित्र गाथालाई रातभर गाउन सकिन्छ,’ मादले यमबहादुरले भने, ‘यस्तो संस्कृति जोगाउनुपर्छ भनेर अहिलेको पुस्तालाई सिकाउन लागेका छौं ।’ लोकोक्तिलाई भाका हालेर गाउनु मारुनी नाचको विशेषता हो । मादलेको भूमिका अलिक बढी हुन्छ । आफैं मादल बजाएर नाच्नुपर्छ । तिनकै तालमा अन्यको भूमिका रहन्छ । पहिले चाडपर्वमा नाच्ने चलन थियो । झन्डै तीन महिना नाचेपछि बन्द गर्नुपर्छ । सुरु गर्दा ‘फुकाउने’ र अन्त्य गर्दा ‘बन्द’ गीत गाउने चलन छ । सुरु गर्दा र बन्द गर्दा रौराको भूमिका रहन्छ ।


‘पहिलेपहिले भारतबाट लाहुरे आउँदा, चाडपर्व, मेलापर्वमा नाचिन्थ्यो,’ मादले भीमबहादुरले भने, ‘अहिले युवापुस्तामा सीप हस्तान्तरण गर्न नाच्न थालेका छौं ।’ गाउँका थोरै बूढापाकाले मात्र यो नाच जानेका छन् । अहिले संरक्षण पनि उनीहरूले नै गर्दै आएका छन् । तर, जिल्लाकै कतिपय मगर गाउँमा मारुनी नाच लोपोन्मुख छ । १५ वर्षअघिसम्म मगर समुदायका टोलटोलमा यस्तो नाच देखिन्थ्यो । पछिल्लो समयमा विरलै देखिन्छ । परम्परागत संस्कृतिमा कसैको ध्यान नजाँदा यस्तो नाच हराएको उनले बताए । ‘युवापुस्ताले यसलाई झन्झटिलो मान्ने गर्छ,’ तिनाउ ५ मरामकोटका रौरा दलबहादुर दर्लामीले भने, ‘बूढो पुस्ताले धानेकाले नै अहिलेसम्म कतैकतै देखिन्छ ।’


मनोरञ्जनका लागि मात्र नभएर पराम्परागत कला र संस्कृति जोगाउन पनि आवश्यक रहेको उनले बताए । पछिल्लो पुस्ताले यो नाच सिक्न, यसको लयमा लय मिलाउन तथा मादलको तालमा नाच्नलाई ध्यान दिएको पाइँदैन । ‘सबै सिक्न निकै गाह्रो छ,’ मारुनी नाच्ने युवा सन्तोषकुमार दर्लामीले भने, ‘तर पनि सिक्नुपर्छ भन्ने छ ।’ नाचले नेपाली संस्कृति र मौलिकता झल्काउँछ ।


मस्यामका शिक्षक गणेश दर्लामीका अनुसार मारुनी परम्परागत नाच हो । पौराणिक कथाहरूमा आधारित गीत गाएर नाचिने नाच यहाँ मगर जातिको मुख्य संस्कृति भएको उनले बताए । खासगरेर दसैं, तिहार, देउसी, भैली, न्वारन, पूजा, पुत बढाइँ (छोरा पाउँदा) मारुनी नाच नाचिन्छ । तानसेन नगर कार्यपालिकाका प्रतिनिधि तुलबहादुरले यसको संरक्षण गर्ने, गाउँमा होमस्टे सञ्चालन गर्ने योजनाका साथ अघि बढेको बताए । ‘मारुनी नाचले स्वदेशी तथा विदेशीलाई आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘यस नाचले पौराणिक समयको पनि झल्को दिन्छ ।’


पर्यटनविद् मनमोहन श्रेष्ठले तानसेन नगरपालिका ९ तीनपीपलेमा पुगेर नाच हेर्दा अचम्ममा परेको बताए । उनले गाउँमा संस्कृति संरक्षण गर्दै होमस्टे सञ्चालनका लागि तयारीमा लाग्नुपर्ने सुझाव दिए । ‘यस्तो संस्कृति भएको र मगरी समुदाय भएकाले होमस्टे पनि सफल हुन्छ,’ उनले भने, ‘लोकसंस्कृतिको संरक्षण र आय आर्जनका लागि पनि होमस्टेको काम तत्काल अगाडि बढाउनु जरुरी छ ।’

प्रकाशित : भाद्र ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?