कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्षबीच गाउँ बनाउने प्रतिस्पर्धा

वीरेन्द्र केसी

अर्घाखाँची — २०५४ मा साबिक खन गाविस अध्यक्ष भइसकेका मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य उमेरले पाका छन् । छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल भने युवा छन् ।

अध्यक्षबीच गाउँ बनाउने प्रतिस्पर्धा

जिल्लाका ६ स्थानीय तहका जनप्रतिनिधिमध्ये पोखरेल कान्छा हुन् । यी दुईबीच गाउँलाई कसरी नमुना बनाउने भन्नेमा अहिले प्रतिस्पर्धा चलेको छ ।

दुई गाउँपालिकामा विकासको गति र समस्या समान छन् । आचार्य तत्कालीन एमाले र पोखरेल कांग्रेसबाट विजयी भएका हुन् । मालारानीमा कांग्रेसका जनप्रतिनिधि शून्य छन् । छत्रदेवमा ३ र ७ का वडाध्यक्षसहित नौ सदस्य छन् । गाउँपालिकाभित्र आचार्य र पोखरेल दुवै लोकप्रिय छन् । पुराना र नयाँ अनुहारका दुई अध्यक्षबीच विकासमा प्रतिस्पर्धालाई जिल्लामा रोचक मानिएको छ ।

जिल्लाका ६ मध्ये सबैभन्दा पहिले आचार्यले पहिलो गाउँसभा गरेर बजेट विनियोजन गरे । पाँच वर्षभित्र मालारानीलाई खरको छानामुक्त बनाउने योजना अघि सारे । छत्रदेवले एकै वर्षमा खरको छानामुक्त गाउँपालिका बनाएर मुलुकमै नमुना बन्यो । ३ सय १४ घरलाई जस्तापाता वितरण गर्दा १ करोड १९ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ । मालारानीले अघिल्लो वर्ष ४२ घर र यस वर्ष १ सय घरलाई जस्तापाता वितरण गर्दै छ । करिब पाँच सयजति घर खरका छन् ।

दुवै गाउँपालिकाले सडकमा कम बजेट छुट्याएका छन् । नयाँ सडक निर्माण गर्नु पर्दैन । किनभने, टोलैपिच्छे सडक सञ्जाल पुगेको छ । पुरानैलाई मर्मतसुधार गरेर हिउँद–वर्षा सरर गाडी गुड्ने बनाउने हो । भइरहेका सडकको स्तरोन्नति गर्न मालारानीले ५० लाख र छत्रदेवले एक करोड रुपैयाँ बजेट गाउँसभाबाट विनियोजन गरेका छन् ।

सन्धिखर्क–बल्कोट–छत्रगन्ज हुँदै र ठूलापोखरा–मरेङ हुँदै गुल्मीको तम्घास र बल्कोट–रिडी सडकको मोड काट्ने, फराकिलो बनाउने र ग्राभेल गर्ने काम सडक डिभिजनले गरेको छ । पोखरा–सुर्खेत राष्ट्रिय सडक पनि रिडी, चिदीका छत्रगन्ज हुँदै मालारानीको खनदह, हंसपुर, गोखुंगा हुँदै प्यूठान पुग्छ । गाउँपालिकाका मुख्य सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

छत्रदेवका सबै वडामा यातायात पुगेको छ । ‘एक करोड बजेटले गाउँपालिकाभित्रका वडासम्मका सडकको नाली काट्ने, स्तरोन्नति गर्ने र मोड फराकिलो बनाउनेमा खर्च हुन्छ,’ अध्यक्ष पोखरेलले भने, ‘हिलो, धूलोमुक्त बनाउने हो । वडाका टोलैपिच्छे सरकारी बजेट, चन्दा र अन्य आम्दानीबाट सडक निर्माण भएका छन् । मालारानीका अध्यक्ष आचार्यले नौवटै वडालाई पाँच–पाँच लाख रुपैयाँका दरले रकम दिएको बताए । सबै वडामा टोलैपिच्छे सडक खनिएका छन् । ‘नयाँ सडक खन्न बजेट छैन,’ उनले भने, ‘पुरानालाई वर्षामा भेलले नखोल्ने र हिउँदमा धूलो नउड्ने बनाउने हो ।’

यो गाउँपालिकाभित्रबाट पोखरा–सुर्खेत सडक धमाधम निर्माण भएको छ । एकै दिन हिमाल, तराई र पहाड घुम्न सकिने सालझण्डी–ढोरपाटन सडक सन्धिखर्कबाट बाँगी र हंसपुर हुँदै गुल्मीको पुर्काेटदहबाट बागलुङको ढोरपाटन पुग्छ । सडक डबल कटिङ धमाधम चलेको छ । पोखरेलले छत्रदेव र आचार्यले मालारानीभित्रका सडकलाई ग्राभेल र पिच गरेर सरर गाडी चल्ने बनाउने दाबी गरेका छन् ।

कृषि, पशुपालन र उत्पादनमा दुवै गाउँपालिकाले जोड दिएका छन् । मालारानीले कृषिमा १ करोड ३७ लाख रुपैयाँ बजेट छुट्याएको छ । गोखुंगा र हंसपुरका अग्ला डाँडाबाहेक अन्त खानेपानी र सिँचाइको समस्या छैन । ‘एक घर एक व्यक्ति सहकारीमा आबद्ध गराएर सामूहिक खेती प्रणालीको काम अगाडि बढेको छ,’ आचार्यले भने, ‘बेमौसमी तरकारी उत्पादन, गाई, बाख्रा, कुखुरा, भेडा पालेर समृद्ध गाउँपालिका बनाउने हो ।

मसलाबालीमा पनि ध्यान दिएको छु ।’ कार्की टोलाका विष्णु कार्की गाउँमा मोटर चलेपछि कतार जाने भिसा रद्द गरेरै भैंसी र गाईपालनमा लागेका छन् । सात जर्सी गाई र चार भैंसी छन् ।

प्रकाशित : आश्विन १, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?