कामदारबाट ‘साहूजी’

काशीराम डाँगी

राेल्पा — यहाँका २७ वर्षीय राजमंगल बैठा पूर्वी तराईको रौतहटमा जन्मिए । कामको खोजीमा बच्चैमा घर त्यागे । बालकामदारका रूपमा जिल्ला भित्रिएका थिए । लामो समय विभिन्न व्यक्तिका घर र पसलमा काम गरे । तिनै बैठा अहिले ‘साहूजी’ बनेका छन् ।

कामदारबाट ‘साहूजी’

लिबाङमा अहिले उनको खाजा पसल छ । १५ वर्षसम्म अर्काको पसलमा काम गरेका उनी दुई वर्षयता आफैं व्यापारी बनेका हुन् । बजारको बीचमा नारायणी नास्ता पसल सञ्चालन गरिरहेका छन् ।


चियादेखि खाजाका परिकार बनाउँछन् । हरबखत उनलाई पत्नी उषा चौधरी बैठाले सघाउँछिन् । एक वर्ष पुग्न लागेका जुम्ल्याहा छोरी हुर्किरहेका छन् । ‘व्यापार राम्रै छ,’ राजमंगलले भने, ‘खुसीले दिन काटिरहेका छौं ।’ १० वर्षको उमेरमा उनी ‘कामदार’ का रूपमा पहाड उक्लिएका थिए । ‘समय बितेको पत्तै भएन,’ राजमंगलले सम्झिए, ‘यहाँ आउँदा नेपालीमा बोल्न जान्दिनथें ।’ उनी स्वरोजगार मात्र बनेनन् । दुई वर्षअघि उषासित घरजम पनि बसाए ।

अन्तरजातीय बिहे भएकाले केही समस्या भोग्नु पर्‍यो । ‘मुस्किलले समस्या सुल्झ्याएँ । घरको जान्नेबुझ्ने भएकाले सजिलो पनि भयो,’ उनले भने । लिबाङमै व्यापार गरिरहेका मेघु साहका साथ राजमंगल पहिलोपटक जिल्ला आएका थिए । ‘त्यसबेला के ज्याला पाएँ र !,’ उनले भने, ‘यहीं बस्दा मिठाइका परिकार बनाउन सिकें । त्यसले आफ्नो खुट्टामा उभिन सजिलो बनायो ।’

केही समय टुँडिखेलमा ‘घुम्ती व्यवसाय’ गरे । ठेलामा खाजा बेचे । स्थानीय प्रशासन र रोल्पा नगरपालिकाले हटायो । त्यसपछि पसल सुरु गरेको उनले बताए । अहिले जुम्ल्याहाको हेरचाह र पसलमा सघाउन आफन्त आउने गरेका छन् । ‘आफ्नै काम गर्दा समाजले बेग्लै इज्जत दिने रहेछ । बल्ल बुझ्ने मौका पाएँ,’ उनले भने, ‘आफ्नै काम गर्दा दैनिक गाली पनि सहनु पर्दैन ।’

उनले बाआमा र परिवारका सदस्यलाई सघाउँदै आएका छन् । उनकै कमाइले दाजुभाइ र दिदीबहिनीको बिहे भयो । तराईमा काम लगाइदिने व्यक्तिलाई साहू भन्ने चलन छ । पढाउन नसक्दा अभिभावकले छोराछोरीलाई यसरी काममा पठाउँछन् । कम ज्यालामा काम गराउने चनल छ । ‘खुट्टा चल्ने भयो भने बाआमाले छोराछोरीलाई साहूजीको जिम्मा लगाइदिन्छन्,’ उनले भने, ‘छोरालाई टाढासम्म काम गर्न पठाउने चलन छ ।’ व्यापार देखेर बिहे गरेको पत्नीले बताइन् । ‘अहिले छोरी हुर्काउँदै मिलेर काम गरिरहेका छौं,’ उनले भनिन्, ‘आफ्नै कमाइले खुसी मिलेको छ ।’

प्रकाशित : आश्विन १, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?