कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

व्यापार छाडेर मौरीपालन

करिश्मा चौधरी

काठमाडौँ — कोहलपुर ६ का घनश्याम राना तीन वर्षदेखि मौरीपालन गरिरहेका छन् । त्यसअघि उनी व्यापार गर्थे । पछिल्लो समय कृषि पेसामा आकर्षित भए । कृषिमा सम्भावना देखेपछि रानाले मौरी पाल्न थालेका हुन् ।

व्यापार छाडेर मौरीपालन

तरकारी खेती, पशुपन्छीपालन, फलफूल खेती धेरैले गरिरहेकाले अवसर देखेर यसमा होमिएको उनले बताए । ‘मौरीपालनको बजार राम्रो देखेर व्यापार छाडेरै लागँे,’ रानाले भने, ‘युवा यसमा लाग्न जरुरी छ । व्यापारभन्दा मिहिनेत धेरै गर्नुपर्छ तर सन्तुष्टि र आम्दानी दुवै यसमा छ ।’

स्थानीय जनकल्याण सहकारी संस्थाबाट यससम्बन्धी तालिम लिए । तालिमपछि मौरी पाल्न सुरु गरे । अहिले उनीसँग एक सय गोला मौरी छन् । एक वर्षमा करिब ४० क्विन्टल मह बेच्ने गरेको उनले बताए । रानासँगै श्रीमतीे रेखदेखमा खटिन्छिन् । दम्पतीले वर्षमा १२ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए । मह प्रशोधन गरी निजी फर्ममार्फत बजारमा पठाइरहेका छन् । प्रतिस्पर्धा कम भएकाले यस व्यवसायबाट राम्रो आम्दानी भइरहेको उनले बताए ।

बाँके र बर्दिया मौरीपालनका लागि उर्वर मानिन्छ । गर्मी मौसम भएकाले यहाँ मेलिफेरा जातको मौरी पालिन्छ । दुवै जिल्लाका विभिन्न ठाउँमा राना मौरी चराउन लैजान्छन् । ‘बाँकेमा धेरै थरीका फलफूल र तरकारी खेती गरिन्छ,’ उनले भने, ‘बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै भएकाले मौरीपालनका लागि दुवै जिल्ला उर्वर मानिएका हुन् ।’

मिहिनेत गरे एक सय गोला मौरी पाल्न सकिने र वर्षमा १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने रानाले बताए । अवसर धेरै भए पनि किसानले सम्मान पाउन नसकेको उनको अनुभव छ । ‘अझै पनि किसान भन्नेबित्तिकै नपढेको, काम नपाएर कृषि पेसा गरेको भन्ने सोचाइ छ,’ उनले भने, ‘यसले किसानको मनोबल
कमजोर बनाउँछ ।’

मौरीपालन गर्ने किसानका लागि कोहलपुरमा जनकल्याण सहकारी संस्थाले काम गरिरहेको छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगन्जले सहकारीमा मह प्रशोधन प्लान्ट जडान गरेको छ । सहकारीले किसानबाट काँचो मह लिएर प्रशोधन गरी बजारमा पठाउने गरेको अध्यक्ष लीलबहादुर रानाले बताए ।

सहकारीले वर्षमा १० टन मह संकलन गर्ने गरेको छ । प्रशोधित महले नेपालगन्ज र कोहलपुरमा बजार पाएको छ । यहाँ मौरीपालन गर्ने किसान निकै कम छन् । करिब ५० जना किसानले मात्र सक्रिय रूपमा मौरीपालन गरिरहेको जनकल्याण सहकारी संस्थाका अध्यक्ष राना बताउँछन् । २५–३० गोलादेखि दुई सय गोलासम्म मौरी पाल्ने किसान छन् । मौरीपाल्ने किसानको संख्या यति नै छ भन्ने यकिन नभए पनि यो संख्या निकै कम रहेको कोहलपुर नगरपालिका कृषि शाखा प्रमुख शेरबहादुर ओलीले बताए ।

प्रकाशित : आश्विन २, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?