कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

साथी घुमाउन सरकारी गाडी

पाल्पा — पछिल्ला दिनमा यहाँका सरकारी कार्यालयका सवारी साधनको दुरुपयोग बढेको पाइएको छ । कर्मचारीले अनावश्यक काम र बिदाका दिनमा समेत सरकारी गाडी प्रयोग गरिरहेका छन् ।

साथी घुमाउन सरकारी गाडी

बिदाका दिन व्यक्तिगत काम, पारिवारिक जमघट, साथी घुमाउन, मन्दिरमा लाग्ने मेला, क्लब र संघसंस्थाका कार्यक्रममा समेत सरकारी गाडी प्रयोग गरेको भेटिएको हो ।

प्रहरीले तीन सातायता गरेका जाँचमा बिदाका दिनमा सरकारी अधिकारी र कर्मचारीले गाडी दुरुपयोग गरेको भेटिएको छ । उनीहरू पारिवारिक काममा हिँडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । राजमार्गमा जाँच गर्न बसेका प्रहरीका अनुसार कतिपय सरकारी कर्मचारीले साथी राखेर सरकारी साधनमा घुमाउन लगेको पनि भेटिएका छन् । व्यक्तिगत कामका लागि बिदाको दिन सरकारी गाडीमा हिँड्नेलाई तीन सातादेखि प्रहरीले रोक्ने अभियान थालेको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।

प्रहरीका अनुसार शनिबार मात्रै एक दर्जन सवारी साधन दुरुपयोग गरेको भेटिएका छन् । ‘तीन/चारपटक राजमार्गमा जाँच गरियो,’ एसपी पोखरेलले भने, ‘प्रत्येकपटक जाँच गर्दा अझ बढी दुरुपयोग गरेको भेटिएको छ ।’ प्रहरीका अनुसार शनिबार मात्रै ११ वटा सवारी साधन दुरुपयोग गरेको फेला परेका छन् ।
सरकारी गाडी दुरुपयोग गर्नेमा स्थानीय तह पनि कम छैनन् ।

शनिबार कालीगण्डकी गाउँपालिका गुल्मी, तानसेन नगरपालिका, माथागढी गाउँपालिका, तानसेन नगरपालिका १४, अर्गली वडा कार्यालयका सवारी साधन दुरुपयोग गरेको भेटिएका थिए । यसैगरी गुल्मीका धुर्कोट गाउँपालिका, दरबार देवीस्थान गाउँपालिका र पाल्पाको रम्भा गाउँपालिकाका सरकारी नम्बर प्लेटका सवारी साधन तानसेन र सिद्धार्थ राजमार्गमा शनिबारका दिन चलाएको अवस्थामा भेटिएका हुन् ।


बिदाका दिनमा पनि सरकारी सवारी साधनलाई निजीजस्तै गरेर दुरुपयोग गरेको प्रहरीले जनायो । गाडी दुरुपयोग गर्ने सरकारी कार्यालयमा नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्र, जिल्ला समन्वय समिति पाल्पा, जिल्ला पशु सेवा कार्यालय, जिल्ला तथ्यांक कार्यालय, गुल्मी रहेका छन् ।

बिदाका दिन र शनिबार सरकारी सवारी साधन दुरुपयोग गर्ने प्रवृत्ति बढेको गुनासाका आधारमा प्रहरीले केही दिनयता जाँच गर्न सुरु गरेको हो । जिल्ला प्रहरीले तीन सातायता जाँच गरेको छ । पहिलोपटक दुई, दोस्रोपटक चार र तेस्रोपटकमा ११ सरकारी सवारी साधन दुरुपयोग भएको भेटिएको प्रहरी प्रमुख पोखरेलले बताए । ‘यहाँका सरकारी कर्मचारी र स्थानीय तहमा शनिबार र बिदाका दिनमा दुरुपयोग गर्ने प्रवृत्ति बढी रहेछ,’ उनले भने ।

प्रहरी प्रमुख पोखरेल सरुवा भई आएपछि बिदाका दिन र शनिबार सरकारी सवारी साधन बिनापास लिएर हिँड्नेलाई पक्राउ गर्ने अभियान सुरु भएको हो । उनीहरूलाई दिनभरि कार्यालयमा राखी बेलुका ५ बजे प्रमुख जिल्ला अधिकारीसँगको छलफलपछि आगामी दिनमा पुन: गल्ती नगर्ने कागज गराएर छाडिएको उनले बताए । प्रहरीले सरकारी सवारी साधन बिनाअनुमति चलाउनेलाई पक्राउ गर्न मातहतका कर्मचारीलाई आदेश दिएको छ । बिदाको दिन कामका लागि सरकारी सवारी साधन चलाउनुपर्ने भएमा प्रशासन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ ।

प्रहरी र प्रशासनले बिदाका दिन र शनिबार बिनाअनुमति सरकारी सवारी साधन चलाउनेलाई लक्षित गरेर अभियान चलाएका हुन् । सुरक्षा निकाय, सांसद र पास लिएका बाहेक सबै सेतो प्लेटका सरकारी सवारीलाई शनिबार र अन्य सार्वजनिक बिदाको दिन चलाएको पाइएमा नियन्त्रणमा लिने प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?