नेकपाका रोल्पा जिल्ला सचिव सुवेदी पक्राउ 

शान्ति सुरक्षामाथि बाधा पुर्‍याएको अाराेप
सुवेदी नेकपा नेता तथा पूर्व सभासद् झक्कु सुवेदीका छाेरा हुन
काशीराम डाँगी

रोल्पा — शान्ति सुरक्षा बिथोलेको अभियोगमा प्रहरीद्वारा सोमबार पक्राउ गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचिव सन्तोष सुवेदी ‘प्रयास’लाई जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ । 

नेकपाका रोल्पा जिल्ला सचिव सुवेदी पक्राउ 

उनलाई रोल्पा नगरपालिका–१० धबाङस्थित पार्टीकै एक कार्यक्रममा सहभागी भएका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । रोल्पा अदालतमा उपस्थित गराएर म्याद थप गरेपछि उनीबारे प्रहरीले थप अनुसन्धान गर्नेछ ।


सरकारको विरोध गरेको तथा शान्ति सुरक्षामा बाधा पुर्‍याएको अभियोगमा सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । उनको पक्राउबारे पुष्टि गर्दै रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले उनीबारे थप अनुसन्धान गर्ने बताए । ‘केही घटनाका बारेमा अनुसन्धान गर्नु पर्ने भएकाले उनलाई पक्राउ गरिएको हो,’ प्रनाउ खड्काले भने ।


नेकपाका महासचिव चन्दका विश्वास पात्रका रुपमा चिनिएका सुवेदीलाई पक्राउ गरी सोमबार नै हिरासतमा पुर्‍याएको थियो । पक्राउ हुनुअघि सुवेदी नेकपाका जिल्ला नेता धनबहादुर थापाको घरमा थापाका बुवाको अन्तिम संस्कार कार्यक्रममा सहभागी थिए ।


प्रहरीले गत स्थानीय, प्रदेश एवं संघीय निर्वाचनका बेला शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा नेकपाका नेता–कार्यकर्तालाई धमाधम पक्राउ गर्दै आएको छ । पार्टीका केन्द्रीय प्रवक्ता खड्कबहादुर विश्कर्मालाई प्रहरीले केही समय अघि राजधानीबाटै पक्राउ गरेको थियो । उनीमाथि विभिन्न जिल्लामा दर्ता गरिएका शान्ति सुरक्षा सम्बन्धीका मुद्दाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


सुवेदी दोस्रो पटक पक्राउ परेका हुन् । यसअघि संघीय निर्वाचन अघि पक्राउ गरिएका सुवेदी सत्तापक्षीय दल नेकपाका नेता तथा पूर्व सांसद झक्कुप्रसाद सुवेदीका जेठा छोरा हुन् । निर्वाचनको अवधिमा पक्राउ गरिएका सुवेदीलाई प्रहरीले करिब २८ दिन हिरासतमा राखेपछि मुक्त गरेको थियो ।


केही समयअघि रोल्पामा नेकपाका जिल्ला नेता देवबहादुर वलीलाई माडी गाउपालिकाको घर्तीगाउबाट पक्राउ गरिएको थियो । हिरासतमा राखिएका वलीमाथि निर्वाचन विथोलेको एवं शान्ति सुरक्षामाथि खलल पुर्‍याएको लगायतका मुद्दाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले व्यापक खोजी गरेपछि नेकपाका अधिकांश नेता अर्धभूमिगत थिए ।


प्रहरी स्रोतका अनुसार सुवेदीमाथि पनि निर्वाचनताका शान्ति सुरक्षामाथि खलल पुर्‍याएको, विष्फोटक पदार्थ प्रयोग गरेको लगायतका मुद्दामाथि अनुसन्धान केन्द्रित गर्ने तयारी छ । प्रहरीले केही समयअघिदेखि निरन्तर भएका घटनामाथि अनुन्धान गर्न उनलाई पक्राउ गरिएको जनाएको छ ।


स्रोतका अनुसार सुवेदी लगायतका नेकपाका नेता–कार्यकर्ताको गतिविधिबारे जिल्लास्थित सुरक्षा संयन्त्रले केही समययता निरन्तर निगरानी गर्दै आएका छन् । स्थानीय तह, सरकार तथा राज्यका संयन्त्रमाथि हमला, आक्रमण र विरोध गर्ने जो कोहीलाई नियन्त्रणमा लिई अनुसन्धान थाल्न केन्द्रीय सुरक्षा संयन्त्रबाट निर्देशन आइसकेको स्रोतले जनाएको छ । साथै पछिल्लो पटक नेकपाका कार्यकर्तामाथि व्यापक रुपमा चन्दा उठाइएको विषयमा सुरक्षा संयन्त्रले खोजतलास गर्दै आएको छ ।


प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले सुवेदीलाई पक्राउ गरिएको र उनी संलग्न गतिविधिबारे अनुसन्धान गर्ने बताए ।


जिल्लाको शान्ति सुरक्षालाई बलियो पार्न स्थानीय प्रशासनले यसअघि देखि नै सुरक्षा फौंजको संख्या बृद्धि गर्ने निर्णय गरिसकेको छ । जस अनुसार छिट्टै नै सदरमुकाममा सशस्त्र प्रहरी बलको स्थायी बेस क्याम्प स्थापना गर्ने तयारी छ । शान्ति सुरक्षामा बाधा पुर्‍याउने विरुद्ध बजार तथा गाउँमा समेत सादा पोशकमा सुरक्षाकर्मी परिचालित हुँदै आएका छन् ।


लामो समय बुवा झक्कुसँगै पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन माओवादी केन्द्रको राजनीतिमा संलग्न सुवेदी तीन वर्षअघि मात्रै चन्द नेतृत्वको नेकपामा प्रवेश गरेका थिए । पार्टीमा प्रवेश गर्दा युवा संगठनमा आवद्ध सुवेदी छोटो समयमै जिल्लाको सचिव हुन सफल भएका थिए । विज्ञान विषयमा स्नातकसम्म अध्ययन गरेका सुवेदी तत्कालीन सशस्त्र द्वन्द्वको अवधिमा हालका उपराष्ट्रपति नन्दबहादुर पुन लडाकु दस्ताको कमाण्डर भएका बेला दोभाषे भएर उनीसँगै लामो समय काम गरेका थिए ।


नेकपा अध्यक्ष दाहालका विश्वास पात्र मानिएका सन्तोषका बुवा झक्कुले पहिलो संविधानसभामा काठमाडौंबाट निर्वाचन जितेका थिए । झक्कु रोल्पा जिविसका पूर्व सभापति समेत हुन् ।

प्रकाशित : आश्विन २, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?