कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

शृंखलाबद्ध चोरीपछि जाग्राम

कमल पन्थी

बर्दिया — बढैयाताल गाउँपालिका १ का स्थानीय अहिले जाग्राम बस्न थालेका छन् । यहाँका सानोडाँफे, ठूलोडाँफे र सानीगाउँका एक दर्जनभन्दा बढी घरमा शृंखलाबद्ध चोरीका घटना हुन थालेपछि स्थानीय जाग्राम बस्न थालेका हुन् ।

शृंखलाबद्ध चोरीपछि जाग्राम

एक महिनायता यहाँका १४ घरमा चोरीका घटना भए पनि प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । स्थानीय भीमबहादुर सिंहले चोरको बिगबिगीले यहाँका स्थानीय त्रस्त भएको बताए । ‘गाउँमा बस्नै नसक्ने अवस्था आयो,’ उनले भने, ‘मान्छेलाई बेहोस पारेर सबै कुम्ल्याएर लैजान्छन् ।’

चोरीका घटना बिहान करिब २ देखि ३ बजेको समयमा हुने गरेका छन् । साताअघि बढैयाताल १ सानोडाँफेका भक्तबहादुर बुढाक्षत्रीको घरमा चोरी भएको थियो । चोरले नगद ७० हजार रुपैयाँ लुटेर लगेको बुढाक्षत्रीले बताए । त्यसैगरी १० दिनअघि ठूलोडाँफेमा रामसिंह ठकुरीको घरमा चोरी भएको थियो । चोरले नगदसहित त्यहाँबाट एक तोलाको सुनको सिक्री लुटेर लगेको ठकुरीको परिवारजनले जनाएको छ ।


यसैगरी गत साता सानोडाँफेका हरिबहादुर थापाको घरबाट १ लाख ७० हजार नगद, एक तोला सुन र दुई थान मोबाइल चोरी भएको छ । चोरले सोही ठाउँकी राधा कुँवर, वीरबहादुर पुरीलगायत एक दर्जनभन्दा बढी घरमा शृंखलाबद्ध चोरी गरेपछि स्थानीय आतंकित भएको सिंहले बताए ।

चोरी भएका गाउँ भारतीय एसएसबी क्याम्पदेखि करिब सय मिटरको दूरीमा छ । इलाका प्रहरीअन्तर्गत जमुनी नाकामा सीमा प्रहरी चौकी छ । सशस्त्र प्रहरी बलको पोस्ट पनि त्यहीं नजिकै छ । घटनास्थलबाट यी कार्यालय झन्डै ४ किमिको दूरीमा छन् । जमुनीमा तैनाथ प्रहरीले नियमित गस्ती नगर्दा चोरीका घटना बढेको स्थानीय दिकपाल खत्रीले बताए ।

चोरले घरभित्र पसेर स्प्रे छर्केर बेहोस बनाउने र चोरी गर्ने गरेको उनले सुनाए । जिल्लामै बढी तस्करी र लागूऔषधको कारोबार हुने जमुनी नाका हो । जमुनी चौकीमा सईको नेतृत्वमा १० जना प्रहरी कार्यरत छन् ।

घटनाका सम्बन्धमा प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बढैयातालस्थित सीमावर्ती गाउँमा चोरीका घटनापछि प्रहरी गस्ती बढाएको बताए । ‘अहिले नियमित गस्ती भइरहेको छ,’ उनले भने, ‘शृंखलाबद्ध चोरीका घटनामा संलग्नलाई चाँडै नै पक्राउ गर्नेछौं ।’

प्रकाशित : आश्विन ३, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?