२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सबै स्थानीय तहमा बैंक

रुकुमपूर्व — जिल्लाका सबै स्थानीय तहमा बैंक पुगेका छन् । ७७ औं जिल्लाका रूपमा गत वर्षको असोज २० देखि कामकाज थालेको जिल्लाका तीनवटै स्थानीय तहमा बैंक पुगेका हुन् ।

सबै स्थानीय तहमा बैंक

पछिल्लोपटक पुथाउत्तरगंगा गाउँपालिकामा सिद्धार्थ बैंकको शाखा स्थापना भएपछि जिल्लाका सबै स्थानीय तहमा बैंक पुगेका हुन् ।

यसअघि सिस्ने र भूमे गाउँपालिकामा बैंक स्थापना भइसकेका छन् । सिस्ने गाउँपालिका अस्थायी सदरमुकाम पनि हो । सिस्ने गाउँपालिकामा दुईवटा बैंकका शाखा छन् ।

प्रभु बैंक स्थानीय तहको निर्वाचन हुनुअगावै स्थापना भएको हो भने स्थानीय तहको निर्वाचनपछि नेपाल बैंक लिमिटेडले रुकुमकोटबाट आफ्नो सेवा प्रवाह गर्न थालेको हो ।

विगत सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएको नेपाल बैंक लिमिटेड स्थानीय तहको निर्वाचनपछि पुन:स्थापना गरिएको हो । गत असार महिनादेखि सिटिजन बैंकले भूमे गाउँपालिकाको खाबाङ बगरबाट सेवा प्रवाह गरिरहेको छ ।

स्थानीय तहको निर्वाचन भएको एक वर्षपछि बैंक स्थापना भएको पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीमगरले बताए । २०७४ को असार १४ गते स्थानीय तहको निर्वाचन भएको थियो ।

स्थानीय तहमा बैंक नहुँदा बैंकिङ कारोबारका लागि सिस्ने गाउँपालिकाको रुकुमकोट र कतिपय अवस्थामा रुकुम पश्चिममा समेत पुग्नुपर्ने बाध्यता अब बैंक स्थापना भएपछि हट्ने घर्तीको भनाइ छ ।

‘बैंकको शाखा स्थापना भएर कामकाज सुरु गरेको छ, अब गाउँपालिकाले पनि सोही बैंकमार्फत कारोबार गर्ने गरी निर्णय हुँदैछ, बैंकले सरकार र सर्वसाधारण दुवैलाई सजिलो भएको छ,’ अध्यक्ष घर्तीले भने । सिद्धार्थ बैंकले पुथाउत्तरगंगा गाउँपालिका १२ कोलबाट कामकाज सुरु गरेको छ । स्थानीय तह बनेपछि सुरुसुरुमा तीनवटै गाउँपालिकाले रुकुमपश्चिममा रहेका बैंकमै भर पर्नुपरेको थियो ।

स्थानीय तहको निर्वाचनपछि जिल्लाका स्थानीय तहमा बैंक स्थापनामा चासो व्यक्त भएको थियो । स्थानीय तहको निर्वाचनलगत्तै सिस्ने गाउँपालिकामा बैंक स्थापना भए पनि भूमे र पुथाउत्तरगंगामा भने एक वर्षपछि मात्रै बैंक स्थापना भएका हुन् ।

प्रकाशित : आश्विन ३, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?