कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संविधान दिवस : कतै विरोध, कतै स्वागत

प्रदेश ब्युरो

काठमाडौँ — मुख्यमन्त्री शंकर पोखरेलले जनताका परिवर्तित आकांक्षालाई पूरा गर्न संविधानवादको बलियो आधार तयार भएको बताएका छन् । संविधान दिवसको अवसरमा बुधबार बुटवलमा आयोजित सभामा उनले संविधानलाई नागरिकको जीवनशैली र पद्धतिका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताए ।

संविधान दिवस : कतै विरोध, कतै स्वागत

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट समाजवादको आधारशिला तयार गर्न सकिने मान्यता अंगीकार गरेको भन्दै उनले संविधानले दिशानिर्देश गरे अनुरूप न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माण गर्ने कुरा तीनै तहका सरकारको साझा लक्ष्य भएको बताए । प्रदेश सरकारले बुटवल उपमहानगरको सहकार्यमा चार दिने कार्यक्रमसहित संविधान दिवस मनाइरहेको छ । बुधबार संविधान दिवसको मूल समारोहमा प्रदेश प्रमुख उमाकान्त झाको पनि उपस्थिति थियो । यसअघि बुटवलमा विभिन्न जातीय, वेशभूषा र संस्कृति झल्काउने झाँकीसहित प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारू, प्रदेश सरकारका मन्त्री, उच्च अदालतका न्यायाधीश, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । बुटवलमै राष्ट्रिय जनमुक्ति पार्टीले संविधान पुनर्लेखनको माग गर्दै विरोध र्‍याली र सभा गरेको छ । संविधानले सबै नेपालीको भावना समेट्न नसकेको उसको दाबी छ । जनमुक्ति युवा महासंघका केन्द्रीय सहअध्यक्ष शंकर गाहाले उत्पीडन र दमनमा परेकाको मुक्तिका लागि संविधान पुनर्लेखन हुनुपर्ने बताए । त्यस्तै बर्दियामा पनि राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकर्ताले कालो झन्डा प्रदर्शन गरेका छन् । प्रहरीले उनीहरूबाट कालो झन्डा नियन्त्रणमा लिएर विरोध कार्यक्रम गर्न दिएको थियो । दाङको घोराहीमा प्रभातफेरी गरिएको छ । मूल समारोह समितिको आयोजनामा भएको र्‍यालीमा जनप्रतिनिधि, प्रहरी, सरकारी अधिकारी र विभिन्न पेसा व्यवसायी सहभागी भएका थिए ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?