कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चालक आन्दोलनले सास्ती

प्रदेश ब्युरो

बुटवल — चालकले गरेको आन्दोलनले रूपन्देहीमा यातायात र ढुवानी सेवा प्रभावित भएको छ । लामो र छोटो दूरीका सार्वजनिक बस सञ्चालन नहुँदा यात्रु समस्यामा परेका हुन् ।

चालक आन्दोलनले सास्ती

रोजगारी र अन्य कारणले भारतबाट घर फर्केका यात्रु नेपाल प्रवेश गर्नासाथ सीमावर्ती बेलहियामै गन्तव्यस्थल पुग्नका लागि बस खोज्दै भौंतारिने गरेका छन् । यस क्षेत्रमा लामो र छोटो दूरीका धेरै बस सञ्चालन गर्ने पश्चिम नेपाल बस व्यवसायी संघ र सिद्धार्थ यातायात व्यवसायी समितिले चालकले हड्ताल गरेको भन्दै बस सञ्चालन गरेका छैनन् ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक वीरबहादुर थापाले दुवै लामो र छोटो दूरीमा सञ्चालन हुने गरेका बसहरू सञ्चालन नहुँदा यात्रुले सहज रूपमा गन्तव्यसम्म पुग्न नसकेको बताए । अन्य बेलामा भन्दा यात्रु पनि कम संख्यामा देखिएको र सीमा क्षेत्रबाट इलेक्ट्रोनिक रिक्सा, अटो रिक्सा र सिद्धार्थ यातायात प्रालिले केही बस सञ्चालन गरेकाले यात्रुहरू बेलहियाबाट बुटवलसम्म जाने गरेको उनले बताए ।

‘यातायातका साधन नै नपाएर यात्रु सीमाक्षेत्रमै अलपत्रमा परेको अवस्था छैन,’ थापाले भने, ‘यहाँबाट नजिकका यात्रु रिक्सामा र टाढाका यात्रु बुटवलसम्म अटो रिक्सा र इलेक्ट्रोनिक रिक्साको प्रयोग गर्ने गरेका छन् ।’ बस सञ्चालन नभएको अवस्थामा इलेक्ट्रोनिक र अटो रिक्साले यातायात सञ्चालन गर्दा केही हदसम्म यात्रुले सुविधा पाए पनि यी रिक्साले मौकाको फाइदा उठाउँदै यात्रुबाट चर्को भाडा असुल्न थालेका छन् । बेलहिया र भैरहवाबाट बुटवलसम्म पुर्‍याउँदा प्रतियात्रु साढे ३ सयदेखि ५ सय रुपैयाँसम्म भाडा असुल्ने गरेका छन् ।

यात्रुलाई सास्ती
बाँकेको नेपालगन्ज बसपार्कमा गन्तव्यमा पुग्ने साधन खोज्दै गरेका जाजरकोटको जुनिचाँदे गाउँपालिकाका टीकाराम शर्मा पनि भारतमा मजदुरी गरेर फर्किएका हुन् । तर, सवारी साधन नचलेकाले होटलमा बस्नुपर्‍यो । घरखर्च टार्न मजदुरी गर्न गएका उनले फर्किंदा यस्तो समस्या पर्ला भनेर सोचेका थिएनन् । ‘कति दिन बन्द हुने हो,’ उनले भने, ‘कमाएको पैसा यतै खर्च हुने भो ।’

उनीजस्तै भारतमा मजदुरी गरेर दसैं मनाउन घर फर्केका सयौं यात्रु बाटैमा बिचल्लीमा परेका छन् । यस क्षेत्रमा दुई दिनदेखि यातायात बन्द छ । कर्णाली, प्रदेश ५ र ७ लाई जोड्ने नेपालगन्जमा थुपै्र यात्रु गन्तव्यमा जान नपाएर अलपत्र परेका छन् । कालिकोट, दैलेख, बुटवल पुग्न विभिन्न क्षेत्रबाट आएका यात्रु तीन दिनदेखि नेपालगन्जमै अलपत्र छन् ।

मुलुकी फौजदारी ऐनअन्तर्गत सजाय हुने मुलुकी ऐनको विरोधमा सवारी चालकले गरेको अनिश्चितकालीन बन्दले यात्रुलाई सास्ती भएको हो । बाँकेमा मंगलबारको तुलनामा बुधबार निजी गाडी चले । गाडी सञ्चालनमा अवरोध गर्नेलाई इलाका प्रहरी कोहलपुरले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

जनजीवन प्रभावित
नयाँ मुलुकी अपराध संहिताले गाडी चालकलाई जेल पठाउन खोजेको भन्दै गाडी चालकको चरणबद्ध आन्दोलनले बुधबार कपिलवस्तुको यातायात क्षेत्र अस्तव्यस्त बनेको छ । पूर्वघोषित कार्यक्रम अनुसार बुधबार सार्वजनिक यातायातका साधन सञ्चालन भएका छैनन् । जिल्लाबाट देशका विभिन्न ठाउँमा चल्ने गाडी नचल्दा यात्रुहरू अन्योलमा परेका हुन् ।

गाडी चालकले मुलुकी अपराध संहिताको चालकविरोधी प्रावधान खारेजीको माग गर्दै आन्दोलन घोषणा गरेका हुन् । आन्दोलन स्वरूप मंगलबारदेखि जिल्लाका ४ सय २ सवारी चालकले आफूले चलाउँदै आएको सवारी साधनको साँचो सवारीधनीलाई बुझाएको चालक नवीन बरालले बताए ।

सदरमुकाम तौलिहवा, कृष्णनगर, चाकरचौडा र महराजगन्जबाट बुधबार बिहानदेखि कुनै पनि सवारी साधन छुटेका छैनन् । जिल्लाभरि नै भाडाका सवारी साधन चलेका छैनन् । भारतबाट आउने नेपाली सीमा बजार कृष्णनगरमा यातायात नचल्दा समस्यामा परेका छन् । कतिपयले महँगोमा अटो रिक्सामा आवतजावत गरिरहेका छन् । चालकहरू सडकमा नउत्रिए पनि सवारी साधन ठप्प छन् ।

प्रालिद्वारा सञ्चालन
रूपन्देहीस्थित सिद्धार्थ यातायात प्रालिले आफ्ना १५ वटा बस भैरहवा–बुटवल रुटमा सञ्चालन गरेको छ । प्रालिका अध्यक्ष सूर्यकुमार सारूले स्थानीय प्रशासनले सुरक्षा प्रदान गर्ने आश्वासन दिएको बताए । तर, केही बस समितिमा आबद्ध चालकको समूहले सडकका विभिन्न ठाउँमा बसेर बसमा अवरोध पुर्‍याएको उनले बताए ।

बुटवल बसपार्कअगाडि प्रालिका बसमा अवरोध पुर्‍याउने समूहले एक चालकमाथि हातपात गरेको उनले बताए । उनका अनुसार भैरहवा–बुटवल खण्डमा प्रालिका बस चलेकाले केही सुविधा भएको छ । तर, भैरहवादेखि परासी र तौलिहवा जाने यात्रुले दु:ख पाएका छन् । अन्य बेलामा भैरहवा–बुटवल खण्डमा प्रत्येक तीन/तीन मिनेटमा छोटो दूरीका बस सञ्चालन हुने गर्थे ।

चालकको हडतालले ट्रकसमेत सञ्चालन नहुँदा ढुवानी पनि प्रभावित हुन थालेको छ । भारतबाट सामान लोड गरी आएका भारतीय गाडीले सीधै जान मिल्ने ठाउँसम्म ढुवानी गर्ने गरे पनि भन्सार विन्दुबाटै पल्टी गर्नु पर्ने सामानको ढुवानीका लागि समस्या हुन थालेको छ ।

सवारी चलाउन मजदुर संगठनको आग्रह
बुटवल (कास)– कसैको सार्वजनिक आह्वानबिना नै बुधबारदेखि सार्वजनिक सवारी साधन नचलेपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश ५ ले गाडी यथावत् चलाउन चालकलाई आग्रह गरेको छ ।मजदुर संगठनले विज्ञप्ति निकालेर व्यवसायीले उल्टो प्रचार गरेको भन्दै यातायात मजदुर तथा व्यवसायीलाई सवारी साधन संचालन गर्न अपिल गरेको हो ।

संगठनका प्रदेश अध्यक्ष कृष्ण कँडेलद्वारा जारी विज्ञप्तिमा सवारी ऐन २०४९ को व्यवस्थाभन्दा भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता अग्रगामी भएकाले कानुनको अध्ययन नगरी विरोध गर्नुको औचित्य नरहेको उल्लेख छ । ऐनको कार्यान्वयन निष्पक्ष ढंगबाट गर्न र कुनै पनि श्रमिकलाई अनावश्यक हैरानी हुन नदिन संगठनले सरकारसँग आग्रह गरेको छ ।

व्यवसायीहरूले यातायात मजदुरमाथि विभिन्न किसिमका भ्रामक प्रचार गरी सवारी बन्द गरिनु दु:खद भएको उल्लेख गर्दै स्वरोजगार श्रमिक व्यवसायीलाई धराशायी बनाउने नियोजित षड्यन्त्रपूर्वक सवारी बन्द नगर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ । संविधानको उत्सवमा समेत असर पर्ने गरी बन्द गरिएकामा मजदुर संगठनको ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?