कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यात्रुलाई पहिरोको बाधा

रुकुमपूर्व — वर्षा कम भएपछि यसपालि भूमेको दोमैदेखि पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरासम्म गाडी चल्न थालेका छन् । भूमे गाउँपालिका ४ को दोमैदेखि २ नम्बर वडाको काँक्रीसम्म मध्यहाडी लोकमार्ग हुँदै र त्यसपछि सहिद मार्ग भएर गाडी चल्न थालेका हुन् ।

यात्रुलाई पहिरोको बाधा

उक्त खण्डको पहिरो हटाएर गाडी सञ्चालनमा ल्याइएको हो । तर, मुख्य क्षेत्रमा सडक अवरुद्ध हुँदा यात्रुले दु:ख पाइरहेका छन् । लोकमार्गको धौलापैरादेखि दोमैसम्मको सडक मर्मत तथा सफा नगरिएकाले यात्रुले समस्या खेप्नु परेको पुथाउत्तरगंगा गाउँपालिका १० का जुद्ध बुढाले बताए । दोमैदेखि तकसेरासम्म सजिलो भए पनि त्यसभन्दा तलको सडक नखुल्दा समस्या भएको छ ।

‘वर्षा सकिइसकेको अवस्थामा पनि सडक सफाइ र मर्मतमा ध्यान नपुग्दा यात्रुले दु:ख पाउनु परेको छ,’ बुढाले भने, ‘यसतर्फ स्थानीय तह, ठेकेदार कम्पनी र जिल्ला प्रशासनले चाँडो ध्यान दिनुपर्छ ।’ वर्षाकै क्रममा झरेको पहिरो नहटाउँदा डेढदेखि दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यतामा सर्वसाधारण छन् ।

सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापैरामा ठूलो पहिरो झरेको छ । भूमे गाउँपालिका ४ का विभिन्न ठाउँमा ठूला–साना गरी दर्जनजति पहिरा झरेका छन् । ती पहिरा नहटाउँदा सर्वसाधारण पटकपटक गाडी फेरेर यात्रा गर्न बाध्य छन् । अस्थायी सदरमुकाम रुकुमकोटदेखि तकसेरा जान दुईवटा गाडी फेर्नुपर्ने भएको छ ।

रुकुमकोटबाट धौलापैरा नजिकसम्मका लागि एउटा र दोमैदेखि तकसेरा पुग्न अर्को गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ । चढेको ठाउँबाट ओर्लने ठाउँसम्म गाडी नचल्दा समस्या परेको भूमे गाउँपालिका १ का प्रमोद पुनले बताए । यात्रुले पैदल हिँड्नुका साथै सामान वरबाट परसम्म पुर्‍याउन समस्या भइरहेको पुनले बताए ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?