बर्दियामा आंशिक रुपमा बस सञ्चालन
बर्दिया — नयाँ मुलकी अपराध संहिताले गाडी चालकलाई जेल पठाउन खोजेको भन्दै गरेको आन्दोलनको प्रभाव बिहीबारदेखि बर्दियामा केही खुकुलो बन्दै गएको छ ।
असोज २ गते देखि बन्द रहेको बस सेवा आंशिक रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार गुलरिया-नेपालगन्ज, शानिबजार-नारायणघाट, ठाकुरबाबा र काठमाडौं दिवा तथा रात्री सेवा सञ्चालनमा आएको छ । यहाँबाट छुट्ने लामो तथा छोटो दुरीका बस आंशिक रुपमा सञ्चालनमा आएको हो ।
बसका एक चालकले नाम नलेखी दिन आग्रह गर्दे लामो समयसम्म यातायात सञ्चालन नगर्दा आर्थिक झमेला भोग्नुपर्ने बाध्यताले गुडाउनुपर्ने बाध्यता भएको बताए । तर अधिकांश चालक भने अझै पनि बस सञ्चालन गर्ने पक्षमा छैनन् ।
जिल्लामा लामो तथा छोटो दुरीका झण्डै ५० बस सञ्चालनमा रहेका छन् । बस सञ्चालन नभएका कारण महंगो भाडा तिरेर अटो रिक्सा चढेर यात्रु गन्तव्यतर्फ आउजाउ गर्ने गरेका छन् ।
प्रकाशित : आश्विन ४, २०७५ १६:३६