३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

टुँडिखेलमा दुबोको हरियाली

काशीराम डाँगी

राेल्पा — गत तीजको पञ्चमीमा स्थानीय महिलाले विशेष आग्रह गरेपछि रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले स्थानीय टुँडिखेलमा नाचगानको अवसर दिए । तारबार चुँडालेरै महिला प्रवेश गरे । ठूलो संख्यामा भेला भएका महिला खुला चौरमा नाच्न पाउँदा रमाए । यसरी रमाइलो गर्दा दुबो मर्‍यो ।

टुँडिखेलमा दुबोको हरियाली

केही दिनपछि नगरको अगुवाइमा चौरको दुवो उमार्न दमकलबाट सिँचाइ गरियो । टुँडिखेललाई हराभरा बनाउन अघिल्लो वर्षदेखि लागेका नगर जनप्रतिनिधिले बेलाबेलामा आफ्नै दमकलबाट दुबो उमार्न सिञ्चाइ गर्दै आएका छन् ।

नगरको शोभा वृद्धि गर्न तथा तारबार लगाएर संरक्षण गर्न मुख्य पहल भइरहेको छ । नगरपालिकालाई सघाउन नेपाली सेना, प्रहरी, उद्योग वाणिज्य संघ, व्यवसायी र बैकिङ क्षेत्रले सहयोग गरेको छ । विदेशबाट आयातीत दुवो उमारेर टुँडिखेललाई पार्कका रूपमा विकास गर्ने नगरको मुख्य उद्देश्य छ । यस कार्यका लागि अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी बजेट खर्च भइसकेको छ । सेना र प्रहरीलगायत दाताले चीनबाट ल्याइएको दुवोसमेत रोपेका छन् ।

टुँडिखेललाई तारबारले घेरेपछि सार्वजनिक कार्यक्रम कहाँ सञ्चालन गर्ने ? लिबाङमा यतिबेला सबैले गर्ने प्रश्न यही हो । तारबारको घेरा बनाएपछि जथाभावी पार्किङ गरिएका यातायातका साधन हटाइएका छन् । दुवो अझ मौलाएपछि हरियाली देखिन थालेको छ । ‘दशकाैंदेखि अलपत्रजस्तै परेको टुँडिखेललाई हरियाली बनाउने काम प्रशंसायोग्य छ,’ केही दिनअघि रोल्पा आएका प्रदेश सरकारका कानुन तथा आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले भने, ‘सफल नेतृत्व पाएकाले लिबाङले अनुहार फेर्ने मौका पाएको छ ।’ उनले मेयरलगायत जनप्रतिनिधिलाई जनपक्षीय कार्य गर्न हौसलासमेत दिएका थिए ।

बुधबार मनाइएको संविधान दिवसका अवसरमा भेला भएका हजारौं विद्यार्थी तथा सर्वसाधारणका लागि समेत स्थान अभाव भएपछि पुन: तारबार तोडियो । दुबो लगाइएकै स्थानमा संविधान दिवस मनाइयो । ‘टुँडिखेललाई तारबारले घेरिएपछि सार्वजनिक कार्यक्रम गर्ने स्थानको अभाव भयो,’ पूर्वसांसद लेखनाथ आचार्यले भने, ‘एकातिर हरियाली बनाउने, अर्कातिर सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने स्थानका रूपमा यसकै प्रयोग गर्नुपर्ने अवस्था छ ।’

नगरपालिका निर्वाचनमा मेयरका प्रत्यासी रहेका आचार्यले मेयर केसीले टुँडिखेलको संरक्षण गर्न ल्याएको योजना प्रभावकारी भएको प्रतिक्रिया दिए ।

मेयर केसीले टुँडिखेलको संरक्षण गर्ने योजना अघि सार्दा निकै सास्ती सहनु परेको छ । ‘यस्तो योजना ल्याउँदा कतिपयले मुख खोलेरै विरोध गरेका थिए । तैपनि म पछि हटिनँ,’ उनले भने, ‘राम्रो काम गर्न डराउनु हुँदैन भन्ने मेरो सोच छ । त्यसैअनुसार अघि बढेको छु ।’

बजार व्यवस्थापनलगायतका योजना कार्यान्वयन गर्दा अधिकांश बुद्धिजीवीले सहयोग गरेकोमा उनी हौसिएका छन् । तर, टुँडिखेलको संरक्षण गर्ने नाममा बसपार्क व्यवस्थित गर्न नसक्नु, पञ्चायतको अवधिमा निर्माण गरिएको कार्यक्रम सञ्चालन गर्ने मञ्चको स्वरूप बिगार्नु, खानेपानीको व्यवस्थापनमा चासो नदिनु तथा सीमित व्यक्तिको मात्रै कुरा सुन्नु मेयर केसीका कमजोरी भएको कतिपय बुद्धिजीवीको टिप्पणी छ ।

‘कार्यकारी पदमा बसेकाले आफ्नो निर्णय आफैंले गर्न नसक्नु उनको गम्भीर त्रुटि हो,’ स्थानीय एक नागरिक अगुवाले भने । लामो समय सशस्त्र द्वन्द्वको चेपुवामा परेको रोल्पा सदरमुकाम लिबाङको भौतिक विकास नभएको प्रति स्थानीयको चिन्ता छ । स्थानीय तहको पुन:संरचनापछि धेरैजसो सरकारी कार्यालय गाउँ केन्द्रित भएकाले सदरमुकामको चहलपहल कम भएकोमा स्थानीय दु:खी छन् ।

होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र आचार्यले सदरमुकामको रौनक वृद्धि गर्न स्थानीय तहसहित प्रदेश एवं केन्द्रीय तहबाटै प्राथमिकतासाथ योजना ल्याउनुपर्ने बताए । पूर्वसांसद आचार्यले पनि जिल्लाबाट प्रतिनिधित्व गरी प्रदेश एवं संघीय सरकारको जिम्मेवारी सम्हालेका नेतासँग सदरमुकामको विकासका लागि नयाँ योजना ल्याउन आग्रह गरिएको बताए ।

प्रकाशित : आश्विन ५, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?