नौमुरे आयोजना सञ्चालनको आस

अर्घाखाँची — नौमुरे जलविद्युत् आयोजना सञ्चालन हुनेमा आशा पलाएको छ । विद्युत् विकास विभागका २० देखि २५ जना प्राविधिक तथा कर्मचारीले काम सुरु गरेपछि त्यस्तो आशा पलाएको हो ।

नौमुरे आयोजना सञ्चालनको आस

प्राविधिक र अन्य कर्मचारी फिल्डमै आएर काम गर्न थालेपछि नौमुरे सञ्चालन हुने आशा जागेको तत्कालीन विद्युत् उपभोक्ता समितिका अध्यक्ष पीताम्बर सारूले बताए ।

प्रतिनिधिसभा सदस्य एवं कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले नौमुरे राष्ट्रिय गौरवको आयोजना भएकाले छिट्टै निर्माण सम्पन्न गरेर देशको ऊर्जा विकास र पर्यटनमा सघाउ पुर्‍याउने बताइन् । ‘पहाडको पानी तराईमा लगेर सिँचाइ गर्नुपर्छ,’ उनले भनिन्, ‘उत्पादन वृद्धि गर्ने यसभन्दा उपयुक्त काइदा अरू हुन सक्दैन ।’

नौमुरे जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनको काम तीव्र गतिमा भइरहेको विभागका सिनियर डिभिजन इन्जिनियर गोपीप्रसाद शाहले बताए । उनका अनुसार आउँदो असारसम्म अध्ययनको काम सकिनेछ र त्यसपछि थप काम सुरु हुनेछ ।अध्ययनको काम सकिएपछि आयोजना सञ्चालनका लागि आर्थिक स्रोत जुटाएर ड्याम निर्माणको काम सुरु गरिने उनले बताए ।

नौमुरे जलविद्युत् सञ्चालनका लागि ७५ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सिँचाइका लागि कुलो र पर्यटकीय स्थलका लागि ताल निर्माण गर्दा थप बजेट आवश्यक पर्नेछ । १ सय ८० मिटर उचाइमा बाँध बाँधेर विद्युत् उत्पादन गर्न सकिने लक्ष्य छ ।

०४४ सालमा तत्कालीन सरकारले खटाएको विशेषज्ञ टोलीले २ सय ४५ मेगावाट क्षमताको विद्युत् निकाल्न सकिने प्रतिवेदन बुझाएपछि तीन वर्षसम्म काम भयो । तर, त्यसपछि अलपत्र रहँदै आएको थियो । ऊर्जा विकासमा सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने छ ।

सरकारले अघि सारेको कार्यक्रम अन्तर्गत प्रदेश ५ को नौमुरे जलविद्युत्लाई अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा सम्बोधन गरेका थिए । यसअघिका अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले पनि नौमुरे विद्युत् आयोजना छिट्टै सम्पन्न गर्न बजेट छुट्याएका थिए ।

‘हरेक प्रयास भए तर पनि बेवारिसेजस्तै भएको नौमुरे जलविद्युत् आयोजना सञ्चालनका लागि काम सुरु भएको छ,’ प्रदेश सांसद एवं नेकपाका नेता चेतनारायण आचार्यले भने, ‘यो बहुआयामिक परियोजना हो । यसले प्रदेश ५ र देशलाई नै विद्युतको क्षेत्रमा ठूलो मद्दत पुर्‍याउँछ ।’

प्रकाशित : आश्विन ५, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?