कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

स्थानीय तह
माधव अर्याल

पाल्पा — जिल्लाको निस्दी गाउँपालिका कार्यालयमा वर्षा लागेपछि सवारी साधन पुग्दैनन् । आर्यभञ्ज्याङ–रामपुर सडकको बेलडाँडाबाट १४ किलोमिटर कच्ची सडक हिँडेपछि गाउँपालिका कार्यालय पुगिन्छ । यहाँ सञ्चालन र सम्पन्न भएका योजना अनुगमन गर्न जान कठिन छ ।

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

जिल्ला समन्वय समितिले पनि बाटोकै कारण गत वर्ष सञ्चालित योजना अनुगमन गर्न सकेन । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारू कसैको पनि नजरमा पर्न नसकेको गाउँपालिकामा सबैलाई आइदिन आग्रह गर्छन् । ‘दुर्गममा भएकाले कोही पनि हाम्रो गाउँपालिकामा आउन चाहँदैनन्,’ उनले भने, ‘सदरमुकामबाट टाढा अनि टेलिफोन र इन्टरनेटको पनि समस्या छ ।’ जसका कारण कर्मचारी पनि त्यहाँ जान मान्दैनन् । बाटोकै कारण गाउँपालिका कर्मचारी मात्र होइन जनप्रतिनिधिलाई पनि वर्षा याममा यहाँ बस्न समस्या भएको उनले बताए ।

निस्दीमा इन्टरनेट मात्र होइन, मोबाइलको टावर पनि नियमित छैन । अध्यक्ष सारुका अनुसार गाउँपालिका कार्यालयमा अहिले पनि वडा सचिव, कर्मचारी एक जना पनि छैनन् । यहाँ सात वडा छन् । खानेपानी, स्वास्थ्य प्राविधिक, कार्यालय सहायकबाट दर्ता र पञ्जिकाधिकारीको काम गराउनु परेको उनले बताए । ‘कर्मचारी अभावले गर्दा कार्यसम्पादनमा समस्या भएको छ,’ उनले भने, ‘दुर्गम भए पनि गएका कर्मचारीले राम्रोसँग काम गरिदिएका कारण अहिलेसम्म ठूलो समस्या भोग्नु परेको छैन ।’

प्राविधिक कर्मचारी दरबन्दी अनुसार छैनन् । अस्थायी पदपूर्ति गरेर काम चलाउनु परेको छ । तानसेन, रामपुर नगरपालिका र सबै गाउँपालिकाले अस्थायी/करारमा भर्ना गरेर प्राविधिक राखेका छन् । प्रशासन र लेखाका कर्मचारी पनि अपुग छन् । स्थानीय तहमा दरबन्दी तोकिएको पाँच महिना भइसक्यो ।

साउनदेखि कर्मचारी पूरा हुन्छन् भन्ने आशा जनप्रतिनिधिमा थियो । तर, अहिलेसम्म कर्मचारी गाउँ र नगरपालिकामा पुगेका छैनन् । खटाइएका कर्मचारी गाउँ जान अटेरी गर्ने, जिल्लास्थित अधिकांश कार्यालय डिभिजन, ज्ञान केन्द्रलगायतमा परिणत हुनुजस्ता कारणले ग्रामीण भेगमा रहेका गाउँपालिका कार्यालयमा कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या भएको हो । ‘अहिले पनि एक वर्षअघिकै कर्मचारीले चलाउनु परेको छ,’ पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले भने, ‘कर्मचारी अभावले काम रोकिएकै त होइन तर भएकालाई कार्यसम्पादनमा समस्या छ ।’ अहिले साबिकका गाविसले राखेका कर्मचारीको भरमा वडा कार्यालय चलेको छ ।

निजामती कर्मचारी नै छैनन् । प्राविधिकलाई पञ्जिकाधिकारी दिएर चलाउनु परेको छ । कर्मचारी नभएकाले अहिले पनि गाउँ/नगरका काम समयमा सम्पन्न हुन सकेका छैनन् । माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक नेपालीले गाउँपालिकामा कर्मचारी नभएपछि कार्य सम्पादनमा समस्या भएको बताए । ‘कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या भयो,’ अधिकृत नेपालीले भने, ‘कर्मचारी अभावले गर्दा सबै काम एउटैले गर्नु परेको छ ।’ उनका अनुसार वडा सचिव नै पूरा छैनन् । कर्मचारी नहुँदा पञ्जिकाधिकारी तोक्ने व्यक्ति छैनन् । दुर्गमको गाउँपालिका भनेर पनि माथागढीमा कर्मचारी आउन नचाहेको उनले बताए ।

माथागढीमा प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र प्रशासनका खरिदार मात्र छन् । एक जना खरिदारले प्रशासन चलाएका छन् । योजना शाखा, जिन्सीलगायत गाउँपालिकामा हुने शाखाहरूको कामको जिम्मेवारी पनि उनैलाई लगाउनु परेको अधिकृत नेपालीले बताए । वडा सचिवले समेत गाउँपालिका कार्यालयको काम गर्नु परेको छ । पूर्वखोला गाउँपालिकाका अध्यक्ष थापाले दुर्गम भन्दै कर्मचारी आउनै नमान्ने गुनासो गरे ।

अझै पनि एक वर्षअघि जति कर्मचारी थिए, उनैबाट काम चलाउनु परेको छ । उनले कर्मचारी खटाए पनि दुर्गममा जान नचाहेको बताए । ‘कर्मचारी पठाएर मात्र भएन, उनीहरूको अधिकार क्षेत्र के हो भन्ने कुराको जानकारी अझै छैन,’ उनले भने, ‘जसले गर्दा हामीलाई काम गर्न समस्या छ ।’ जिल्लाका स्वास्थ्य, शिक्षा, जिल्ला समन्वय समिति, महिला तथा बालबालिका कार्यालय, कृषि, पशु विकासजस्ता विषयगत कार्यालयका कर्मचारीसमेत गाउँपालिका र नगरपालिकामा काम गर्न गएका छैनन् ।

एउटै कर्मचारीले धेरै शाखा हेर्नुपर्ने समस्या छ । ‘सहजीकरण, दैनिक क्रियाकलाप सञ्चालन गर्न समस्या छ,’ पूर्वखोलाका अध्यक्ष थापाले भने, ‘कतिपयमा वडा सचिव नहुँदा दैनिक प्रशासनिक काममा समस्या भइरहेको छ ।’ रम्भा गाउँपालिकाले विषयगत कार्यालयका कर्मचारीलाई फरक व्यवहार गरेको भन्दै कर्मचारीको आक्रोश छ ।

अध्यक्ष विष्णुप्रसाद भण्डारीले गाउँपालिकाअन्तर्गतका कर्मचारीलाई २५ प्रतिशत थप भत्ता खुवाएको र विषयगत कार्यालयका कर्मचारीलाई कुनै सुविधा नदिएको उनीहरूको आरोप छ । रम्भा गाउँपालिका शिक्षा शाखाका प्रमुख गुनाराम खनालले गाउँपालिकामा फरक व्यवहार भएको गुनासो गरे ।

‘गाउँपालिकामा कर्मचारी छैनन्,’ उनले भने, ‘तर, अन्य विषयगत शाखाका कर्मचारी परिचालन गर्न सकेको अवस्था पनि छैन ।’ रम्भामा भौतिक पूर्वाधार र कर्मचारी अभावले गर्दा काम गर्न समस्या छ । जनताको कामको सबै जिम्मेवारी जनप्रतिनिधिमा आएको छ ।

तर, अहिले समस्या कर्मचारी अभावले गर्दा नै भएको छ । जिल्लाका ८१ वडामध्ये २५ वडामा अझै पनि वडा सचिव छैनन् । गाउँपालिका स्तरमा रहने कार्यालय र कर्मचारी व्यवस्थापन हुन सकेको छैन । कर्मचारी नहुँदा विनियोजित बजेट कार्यान्वयनमा समस्या निम्तिएको जनप्रतिनिधिले गुनासो गरे ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले साना गाउँपालिकामै पनि कम्तीमा ६० कर्मचारी आवश्यक हुने सांगठनिक दरबन्दी ढाँचा तयार गरेको छ । त्यसबाहेक दैनिक सेवा प्रवाहका लागि प्रत्येक वडा कार्यालयमा न्यूनतम चार कर्मचारी रहने जनाएको छ । २० हजारभन्दा बढी जनसंख्या रहेका गाउँपालिकामा न्यूनतम ७० र वडा कार्यालयमा चार कर्मचारीको व्यवस्था हुने मन्त्रालयको सांगठनिक ढाँचा सरकारले स्वीकृत गरेको छ ।

प्रकाशित : आश्विन ५, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?