कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शान्ति र समृद्धिका लागि गजल

अमृता अनमोल

बुटवल — प्राय: शुक्रबार कार्यालयमा चहलपहल कम हुन्छ । सेवाग्राही र कर्मचारी छुट्टीको मुडमा हुन्छन् । घर जाने हतारोमा हुन्छ तर शुक्रबार बुटवल उपमहानगरमा छुट्टै उमंग थियो ।

शान्ति र समृद्धिका लागि गजल

प्रदेश स्तरीय गलज प्रतियोगिता र रचना वाचनले उपमहानगरको हल तात्तिएको थियो । गजल सुन्न युवादेखि स्थापित साहित्यकारको उपस्थित थियो ।

बुटवल साहित्य कला प्रतिष्ठानको संयोजनमा पहिलो पटक उपमहानगरले प्रदेश स्तरीय गजल प्रतियोगिता आयोजना गरेको थियो । मध्याह्न उपमहानगरको हलमा गजल वाचन सुरु भयो । शेर, तिनका काफिया र रदिफमा सहभागीहरू बग्न थाले । एकभन्दा अर्को दमदार गजल सुनाउने क्रम चलेपछि स्रोताहरू पनि नवै रसमा डुबे । दर्शकको उत्साहमा हौसिँदै गजलकारले भने रचना वाचन गरिरहे ।


कसमा कति छ दम समयले पुष्टि गर्छ भो विवाद नगरम् समयले पुष्टि गर्छ नेपाली जुट्नुको तागत कतिसम्म हुन्छ आउनुस् मिलेर हिँडम् समयले पुष्टि गर्छ यो गजल वाचन गरेका रूपन्देहीका विष्णु विवश पोखरेल प्रतियोगितामा प्रथम भए । उनले १० हजार नगद पुरस्कार र प्रमाणपत्र पाए ।

दाङका वसन्त ओली दोस्रो, रूपन्देहीका पुरुषेत्तम पाण्डेय तेस्रो बने । पाल्पाका भोजराज भट्टराई र गुल्मीका कृष्ण घिमिरे गाउँले सान्त्वना भए । दोस्रो, तेस्रो र सानत्वना हुनेले क्रमश: ५, ३ र २ हजार नगद तथा प्रमाणपत्र पाए । देश शान्ति र समृद्धिको विषयमा गजल प्रतियोगिता आयोजना भएको थियो ।

देश लामो द्वन्द्वपछि शान्ति र समृद्धिको बाटोमा लागेकाले त्यसलाई पच्छाउँदै उक्त विषय छनोट गरेको नगरप्रमुख शिवराज सुवेदीले बताए । ‘कला, साहित्य र संस्कृतिको संरक्षणबिना देश समृद्ध र शान्त बन्दैन,’ उनले भने ‘यही मर्म बोकेर प्रतियोगिता आयोजना गरेका हौं ।’

प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका २८ गजलकारले प्रतियोगितामा सहभागिता जनाएका थिए । त्यसमध्ये १८ वटा प्रतियोगिताका लागि छनोट भएका थिए । छनोट भएकामध्ये उत्कृष्ट १० लाई वाचनको अवसर दिइएको प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीले बताए ।

छनोटका लागि प्राज्ञ बुँद रानासहितको मूल्यांकन समिति बनेको थियो । ‘शान्ति र समृद्धिका भावमा बगेका गजल एक से एक उत्कृष्ट थिए, ’ मूल्यांकन समिति संयोजक रुद्र ज्ञवालीले भने, ‘उत्कृष्टबाट पनि ५ वटालाई पुरस्कृत गरेका हौं ।’

प्रकाशित : आश्विन ६, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?