ठेकेदार सम्पर्कविहीन

बर्दिया — गुलरिया नगरपालिकाभित्र निर्माणाधीन प्रसिया, लक्ष्मणटोल र शान्तिनगरका सडक र नाली अलपत्र परेका छन् । संघीय सहरी आयोजना कार्यान्वयन इकाइ कार्यालय नेपालगन्जअन्तर्गत सहरी विकास कार्यक्रमबाट ठेक्का प्राप्त कम्पनीले काम छाडेका कारण ती सडक र नाली अलपत्र परेका हुन् ।

ठेकेदार सम्पर्कविहीन

१ अर्ब ४६ करोडको लागतमा गत वर्ष पक्की सडक र नालीको काम सुरु भएको थियो । संघीय सहरी आयोजना कार्यान्वयन इकाइबाट टुन्डी, एसके लुम्बिनीले नालीसहित तीनवटा प्याकेजको ठेक्का पाएको थियो । टेन्डर आहान गरेर सुरु गरेको नाली र सडक अलपत्र पारेर अहिले ठेकेदार कम्पनी सम्पर्कविहीन भएका छन् । सडक र नालीका नाममा जताततै खाडल खनिएका कारण आउजाउ गर्न समस्या भएको स्थानीयवासीले बताए ।

जथाभावी खनिएका खाडलमा अलपत्र छोडिएका फलामे रडका कारण स्थानीयले जोखिम मोल्नु परेको छ । गुलरिया १० का हरिप्रसाद थारूले सडकमा अलपत्र छोडिएका फलामे रडले चोट लागेको बताए । रडले घोचेर उनीजस्तै अन्य चारजना घाइते भएका छन् । यस सम्बन्धमा ठेकेदार कम्पनीका सञ्चालकसँग सम्पर्क राख्न खोज्दा सम्पर्क हुन सकेन ।

नाली बनाउन खाल्डा खनेर अलपत्र छोडिएका छडले सर्वसाधारणको ज्यान जोगाउन मुस्किल परेको गुलरिया १० का लखना थारूले बताए । ‘पानी पर्दा डुबानले छड देखिँदैन, कुन बेला त्यसमा परिन्छ थाहै हुँदैन,’ उनले भने, ‘सबैभन्दा बढी विद्यार्थीलाई आउजाउमा समस्या भएको छ ।’

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको सडक र नालीको काम शान्ति टोलमा पनि अलपत्र छ । यहाँ पनि नालीको काम नभएका कारण डुबानमा पर्ने गरेको स्थानीय राजु लोधले बताए ।

संघीय सहरी आयोजना कार्यान्वयन इकाइ कार्यालयअन्तर्गत सहरी विकास कार्यक्रम नेपालगन्जले गुलरिया नगरपालिकासँग कुनै समन्वय नगर्दा विवादमा आएको छ ।

मापदण्डविपरीत सडक र नाली बनाउँदा शान्ति टोल, मतंगालगायतमा काम अघि बढ्न सकेको छैन । नगरपालिकाको आफ्नै मापदण्ड छ तर सहरी विकासले आफूखुसी मापदण्ड तोक्दै आएको गुलरिया नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र पौडेलले बताए । ‘गुणस्तर र सोचे अनुसार काम भएको छैन,’ उनले भने, ‘नाली खनेको ठाउँमा जोखिम भएको भन्दै स्थानीयवासी नगरपालिकामा दिनहुँ उजुरी दिन आउने गरेका छन् ।’

सहरी आयोजना प्रमुख सुनील ठाकुरले गुलरिया नगरपालिकासँग समन्वय गरी काम गरिरहेको दाबी गरे । वर्षा सुरु भएयता करिब १५ प्रतिशत काम भएको छ ।

प्रकाशित : आश्विन ६, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?