कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मच्छीढाडको पुल अलपत्र

प्यूठान — मच्छीढाडमा निर्माणाधीन पक्की पुल अलपत्र पर्दा स्थानीयलाई दिनहँु जोखिम मोलेर झिमरुक खोला तर्नुपर्ने बाध्यता आइलागेको छ ।

मच्छीढाडको पुल अलपत्र

ओखरकोटको मच्छीस्थित ढाडको स्याउँलीघारी घाटबाट खोला तर्दा बर्सेनि दुई/तीन जनालाई खोलाले बगाउने गरेको झिमरुक ८ का थमनबहादुर बस्नेतले बताए । यस वर्ष पनि गाउँपालिकामा वितरण भएको गरिब परिचयपत्र लिएर घर फर्किंदै गर्दा खोलाले बगाएर गाउँका बाटुला सामतको मृत्यु भएको कहानी बस्नेतले सुनाए । ‘डर हुँदाहुँदै पनि खोलामा पस्नुपर्छ,’ उनले भने, ‘जहिल्यै जोखिम छ । खोलामा नपसी सुखै छैन ।’ वरिपरि झोलुंगे पुल नभएकाले थप समस्या छ । सात वर्षदेखि पक्की पुल बन्ने हल्लाले झोलुंगे पुलसमेत नबनेको उनले सुनाए ।

झिमरुक खोलमा पक्की पुल निर्माण हुन थालेकामा खुसी भएका स्थानीय अलपत्र पर्दा निराश भएको गोब्दीका मीनबहादुर घर्तीले बताए । ‘पुल निर्माण हुँदाहुँदै रोकिएको विषयमा बुझ्न धेरैपटक जिल्ला समन्वय समितिको कार्यालय र ठेकेदारकहाँ धायाैं,’ उनले भने, ‘चाँडै सुरु हुन्छ भन्दाभन्दै तीन वर्ष बित्यो । अहिलेसम्म पुल बनेको छैन ।’ गाउँ, इलाका, परिषद् हुँदै जिल्लाबाट योजना पास गराएर झिमरुक खोलामा पक्की पुल निर्माणका लागि बजेट परेको थियो ।

पुल निर्माण भए ओखरकोट, बाँदीकोट, तुसारा, लिबाङ, अर्खा रजवारा, पुँजा, लुङ, खबाङ र स्याउलीबाङका स्थानीयले लाभ पाउने तुसाराका शंकरबहादुर थापाले बताए । ‘पुल नहुँदा बर्खामा निकै दु:ख बेहोर्दै आएका छौं,’ उनले भने, ‘विद्यार्थी खोलो तर्न नसकेर विद्यालय जानबाटै वञ्चित भएका छन् ।’ बर्खामा बिरामी पर्दा खोला तर्न नसकेर उपचार गर्न अस्पतालसम्म पुग्न नसकिने उनले बताए ।

सम्बन्धित निकायले तयार पारेको पुलको डिजाइन इस्टिमेट नमिलेका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीले बताउँदै आएका छन् । निलगिरि/आशु जेभी निर्माण सेवाले ३ करोड ५६ लाख रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का लिएको थियो ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?