१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रहरीकै जग्गा गायब

बर्दिया — प्रहरी कार्यालयकै नाममा रहेको जग्गा मालपोत र नापी कार्यालयको फिल्डबुकबाटै गायब भएको छ । ठाकुरबाबा नगरपालिका १ र २ को सीमामा रहेको इलाका प्रहरी कार्यालय, बगनाहा (भुरीगाउँ)को जग्गा प्रहरीले खोजी गर्दा मालपोतको फिल्ड बुकमै नदेखिएको हो ।

प्रहरीकै जग्गा गायब

०५६ सालमा इप्रका बगनाहाका नाममा रहेको कित्ता नम्बर ३७ र ३८ को २ बिघा १३ कट्ठा जग्गा अभिलेखमा उल्लेख भए पनि फिल्ड बुकमा नभएको मालपोत कार्यालयले जनाएको छ । द्वन्द्वकालमा कार्यालय ध्वस्त भएपछि जग्गाको खोजी भएको थिएन ।

पछिल्लोपटक प्रहरीले नापी गर्दा कित्ता नम्बर ३८ मा मात्र १२ कट्ठा जग्गा देखिएको प्रहरी निरीक्षक प्रदीपकुमार डीसीले बताए । २ बिघा १ कट्ठा जग्गा स्रेस्तामा भेटिएको छैन । ०५८ चैतमा माओवादीले इप्रकामा बम विस्फोट गरी क्षति पुर्‍याएपछि हालसम्म पुनर्निर्माण गरिएको छैन । प्रहरीले पुनर्निर्माणको तयारी गरिरहेको अवस्थामा जग्गा खोजी गर्दा नभेटिएपछि मालपोत कार्यालय र नापीमा निवेदन दर्ता गराइएको छ ।

‘०२१ सालको नापीमा फिल्ड बुकमा जग्गा देखिन्छ,’ प्रहरी निरीक्षक डीसीले भने, ‘द्वन्द्वकालमा मालपोत कार्यालयमा रहेको कागजात जलेर क्षति भएका कारण समस्या परेको हो कि, अन्य कारणले हो, खोजी गर्दै छौं ।’ मालपोत कार्यालयका अनुसार नेपाल सरकारले उक्त जग्गा खारेज गरेका कारण फिल्ड बुकमा नदेखिएको बतायो । मालपोत कार्यालयका प्रमुख रामकुमार रोकायले फिल्ड बुकमा जग्गा देखिएकाले पुर्जा पेस गरेपछि स्रेस्ता कायम गर्न सकिने बताए ।

पूर्व–पश्चिम राजमार्गस्थित बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको भुरीगाउँ सुरक्षाका दृष्टिले अति संवेदनशील मानिन्छ । प्रहरी निरीक्षकसहित २९ जनाको दरबन्दी रहेको भुरीगाउँ बजारमा ०६४ सालदेखि प्रहरी भाडाको घरमा बस्दै आएको छ । भाडाको घर जीर्ण भएकाले आफ्नै भवन निर्माणका लागि जग्गा खोज्दा नभेटिएकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?