कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

फुर्सद सदुपयोग गरेर आम्दानी

बाँके — कामबाट फुर्सद खोज्ने धेरै हुन्छन् । तर, केही व्यक्ति यस्ता पनि छन्, जसले आफ्नो सीप सदुपयोगका लागि समय खोजिरहेका हुन्छन् । कोहलपुर नगरपालिका ११ की सीता पौडेल त्यस्तैमध्येकी एक हुन् ।

फुर्सद सदुपयोग गरेर आम्दानी

उनी सहकारीमा बचत संकलन गर्छिन् । घरको काम आफंै गर्नुपर्छ । यति व्यस्त हुँदासमेत बचेको समयमा खेलौनाका सामग्री बनाउँछिन् । उनी अहिले खरायो, कुकुर, पान्डा, बाँदरलगायत खेलौना तथा घर सजावटका सामग्री बनाइरहेकी छन् ।

‘साँझ–बिहान घरको काम सकिएपछि फुर्सद हुन्छ । त्यसबेला गफ गरेर बस्नुभन्दा खेलौना बनाउँछु,’ उनले भनिन्, ‘परिवारका सदस्यसँग कुराकानी गर्दै यी सामान बनाउन सकिन्छ ।’ गत चैतमा नगरपालिकाले स्थानीय १५ महिलालाई कुसन तथा खेलौना सामग्री बनाउने तालिम दिएको थियो । सीताले त्यही तालिम लिइन् र त्यसको सदुपयोग गर्दै खेलौना र कुसन बनाउन थालेकी हुन् ।

जन्मदिन होस् या बच्चालाई खेलौना उपहार दिन तथा घर सजावटका लागि अहिले उनलाई त्यस्ता सामानको माग आउन थालेको छ । फुर्सदमा सीताले ती सामान बनाएर बिक्री गर्छिन् । पाँच महिनामा सीताले ४० हजार रपैयाँभन्दा बढीका कुसन र खेलौना बेचिसकेको बताइन् ।

चाडपर्व तथा मेलाको सिजन आइरहेकाले अझै राम्रो आम्दानी हुने उनले आस गरेकी छन् । ‘वरपर थाहा पाएकाले अर्डर गर्छन्,’ उनले भनिन्, ‘केही अर्डर अनुसार बनाउँछु । केही बनाएरै राख्छु ।’ धेरैले प्रयोग गर्ने खेलौना सजावटका लागि प्रयोग हुने भएकाले यो व्यवसाय महिलाका लागि राम्रो अवसर भएको उनले बताइन् । माग राम्रो भएकाले यो सीपलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्ने महिलाले बताए ।

थोरै समयको सदुपयोग गरेर राम्रो आम्दानी लिन सकिने उनीहरूको अनुभव छ । कोहलपुर ११ कै देवका बराल फुर्सदमा खरायो, कुकुरलगायतका खेलौना तथा घर सजावटका सामग्री बनाउँछिन् । घरधन्दा, पसल र सहकारीको बचत संकलनबाट बचेको समयमा यस्ता सामग्री बनाउने गरेको उनले बताइन् ।

देवका पहिले ऊनबाट कपडा बुन्ने गर्थिन् । खेलौना बनाउने तालिम लिएपछि उनले यस्ता सामग्री बनाउन थालेकी हुन् । ‘१५ हजारका खेलौना बेचें,’ उनले भनिन्, ‘चाडपर्वका बेलामा यसको व्यापार झनै राम्रो हुन्छ ।’

अहिले यहाँका धेरै महिलाले फुर्सदको सदुपयोग गर्दै आय आर्जन गर्न थालेका छन् । आफैंले उत्पादन गरेका सामान बेचिरहेका छन् । यसको बजारीकरण गर्न यस वर्ष नगरपालिकाले कोसेली घर निर्माणको योजना ल्याएको छ । त्यसका लागि ४ लाख रुपैयाँ बजेट पनि छुट्याएको छ ।

हस्तकलाको बजारीकरण गर्न र व्यावसायिक बनाउन कोसेली घरको व्यवस्था गर्न लागेको नगर उपप्रमुख सञ्जुकुमारी चौधरीले बताइन् । ‘कोसेली घरले उत्पादित सामानको बजारीकरणमा सजिलो हुन्छ,’ उनले भनिन्, ‘महिलाले उत्पादन गरेका सामान बजारीकरण हुँदा हौसला बढ्छ । अनि, आर्थिक अवस्थामा पनि सुधार आउँछ ।’

प्रकाशित : आश्विन ८, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?