२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

तरकारी उत्पादकलाई ढुवानी समस्या

माधव अर्याल

पाल्पा — कच्ची सडक अवरुद्ध हुँदा आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन नसकेर दुर्गमका व्यावसायिक किसान समस्यामा पर्दै आएका छन् । पूर्वखोला गाउँपालिका ६ हेक्लाङ, खुमडाँडाका किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुग्न सकेको छैन ।

तरकारी उत्पादकलाई ढुवानी समस्या

२० रोपनी जग्गामा हेक्लाङका २७ घरले सामूहिक तरकारी खेती गर्छन् । छिमेकी पनेर्दी गाउँमा पनि तरकारी खेती हुन्छ । तर, कच्ची सडक पटकपटक अवरुद्ध हुँदा बजार पुर्‍याउनै नसक्ने किसानको गुनासो छ । ‘तीन महिनायता गाउँमा तरकारी उत्पादन प्रशस्त भएको छ,’ अगुवा कृषक जितबहादुर रानाले भने, ‘यसलाई समयमै बजारसम्म पुर्‍याउन नसक्दा किसान मर्कामा छन् ।’

बारीमा पाक्नासाथ बजारसम्म पुर्‍याउनु पर्ने ४० क्विन्टलभन्दा बढी टमाटर बारीमै छ । टमाटर बारीमा धेरै समय राख्न नमिल्ने भएकाले टिपेको केही दिनमै बजार पुर्‍याउन नसके किसानले ठूलो नोक्सानी बेहोर्नुपर्छ । खुमडाँडाबाट आर्यभञ्ज्याङ–रामपुर सडक ६ किलोमिटर टाढा छ । त्यसपछि सिद्धार्थ राजमार्गसम्म लैजान १६ किलोमिटर पर्छ । तर, वर्षाले कच्ची सडकमा यातायात ठप्प छ ।

बन्दा, फूलगोभी, गोलभेडा, सिमीलगायत तरकारी खुमडाँडाका कृषकले उत्पादन गरेका छन् । यहाँ प्रत्येक परिवारले तरकारी खेती गरेर गाउँलाई नमुना बनाउने अभियानमा छन् । ‘तरकारी धेरै उत्पादन भएपछि बजारसम्म लैजान सडक र साधनको अभाव छ,’ उनले भने, ‘यसको व्यवस्थापनमा सहयोग कतैबाट हुन सक्यो भने हामीलाई थप उत्साह हुने थियो ।’ अहिले बारीभरि गोलभेडा पाकेको छ । गाउँमा कसैको पनि पिकअप गाडी छैन । बाहिरबाट मगाएर लैजान सडकको स्तरोन्नति नभएकाले मान्दैनन् ।

उकालो र कच्ची सडक भएकाले वर्षामा सवारी चलाउन चालकले नै मान्दैनन् । त्यसैले पनि ढुवानीका लागि गाउँपालिका, वडा, प्रदेश सरकारसँग सहयोगको हारगुहार गरिएको किसान रम्भा घर्तीले बताइन् । उनका अनुसार उत्पादन भएको गोलभेडा रामपुर, सिलुवा, जबगादी, आर्यभञ्ज्याङ, बुटवल र पोखरासम्म पुग्छ । ‘ढुवानी गर्ने आफ्नै सवारी साधन हुन्थ्यो भने समयमै बजार पुर्‍याउन सकिन्थ्यो,’ उनले भनिन्, ‘अहिले कुहिएर खेर गइरहेको छ ।’

कानुङ खुमडाँडा कृषक समूहले अघिल्लो सिजनमा पाँच लाख रुपैयाँभन्दा बढीको बन्दा बिक्री गरेको थियो । अहिले १० लाख रुपैयाँभन्दा बढीको गोलभेडा उत्पादन भइरहेको छ । ‘अब पुनस् बन्दा र फूलगोभी लगाएका छौं,’ उनले भनिन्, ‘त्यसैले उत्पादन बढ्दै जाँदा ढुवानीका लागि सडक र साधन दुवै आवश्यक छ ।’ बन्दा र फूलगोभीका १० हजार बोट छन् । विपन्न परिवार, वैदेशिक रोजगारीबाट फर्केकाहरू तरकारी खेतीमा लागेका छन् ।

बेमौसमी बन्दा खेतीबाट पहिलो पटक कृषि अभियान सुरु गरेका थिए । नमुना प्लटमा तरकारी खेती गर्दा सन्तुष्टि मिलेको वडाध्यक्ष मनबहादुर सारूले बताए । ‘काम गर्दै गएपछि सफलता पाइन्छ भन्ने उदाहरण हामीले देखाएका छौं,’ उनले भने, ‘समूहले गरेर देखाएको छ र आगामी दिनमा पनि गर्नेछ भन्ने विश्वास छ ।’ अहिले ढुवानीको समस्या देखिएको उनले बताए । गाउँपालिका र प्रदेश सरकारका प्रतिनिधिलाई समाधानका लागि आग्रह गरेको उनले बताए ।

यहाँ सिजनमा मकै र तोरी खेती हुन्थ्यो । अहिले बारीभरि तरकारी छ । पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले हेक्लाङ, खुमडाँडाको व्यावसायिक तरकारी खेतीका लागि तत्काल हाते ट्रयाक्टर र अन्य केही कामका लागि सहयोग गरिने बताए ।

ढुवानीका साधनका लागि प्रदेश सरकारसँग सहयोग माग्नुपर्ने उनले बताए । ‘गाउँपालिकाले ६ वटै वडामा कृषि तथा पशुपालनका क्षेत्रमा भएको गतिविधि र योजनाका विषयमा अध्ययन गरिरहेको छ,’ उनले भने, ‘कार्ययोजना बनाएपछि बल्ल के कस्ता सहयोग गर्ने भन्ने निर्णय हुन्छ ।’

प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले कृषक समूहले चाहेमा सवारी साधन किन्नलाई ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था रहेको बताए । ‘समूहले निर्णय गरेर वडा र गाउँपालिका हुँदै निवेदन दिनुपर्छ,’ उनले भने, ‘ढुवानीका लागि सवारी साधनको व्यवस्था त्यसरी गर्न सकिन्छ ।’

प्रकाशित : आश्विन ८, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?