२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

पर्यटक विश्रामस्थल बन्दै बुटवल

बुटवल — प्रदेशको प्रमुख प्रशासनिक तथा व्यापारिक केन्द्र बुटवललाई पर्यटक विश्रामस्थलका रूपमा विकास गरिने भएको छ । बुटवल उपमहानगरले यहाँका ऐतिहासिक, पुरातात्त्विक सम्पदाको उत्खनन, संरक्षण, प्रचारप्रसार गरी पर्यटक विश्राम स्थल बनाउन थालेको हो ।

पर्यटक विश्रामस्थल बन्दै बुटवल

त्यसमा संघीय सरकार र प्रदेश सरकारको पनि लगानी छ । ‘लुम्बिनी र पोखरा आएका पर्यटकलाई बुटवलका विश्रामस्थलमा ल्याउने र बास बसाल्ने योजना छ,’ नगरप्रमुख शिवराज सुवेदीले भने, ‘त्यसका लागि चालु आर्थिक वर्षमा धमाधम संरचना निर्माण भइरहेका छन् ।’

बुटवलको सिद्धबाबा क्षेत्रमा रामापिथेकस वनस्पति पार्क, बोटानिकल पार्क र चिडियाघर निर्माणको योजना अगाडि बढाइएको छ । तराईको गर्मी, सहरबजारको कोलाहल र प्रदूषणले दिक्क भएका पर्यटकलाई चुरे पहाडको फेदमा लगेर शीतलता र मनोरञ्जन दिन यसो गरिएको नगरप्रमुख सुवेदीले बताए । ‘वनस्पति, जलचर, पत्रे चट्टान र रामापिथेकस क्षेत्रको अध्ययनसमेत गर्न मिल्ने गरी २० करोड रुपैयाँको लागतमा पार्क निर्माण हुँदैछ,’ उनले भने, ‘वनस्पति विभागले ल्याएको योजनामा बुटवल उपमहानगरपालिकासहित प्रदेश सरकारको पनि लगानी हुनेछ ।’

जीर्ण र प्रदूषित भएको जितगढीलाई संरक्षण गरी आकर्षक बनाउन थालिएको छ । जितगढीमा पर्यटक आकर्षण गर्न चालु आवभित्रै जितगढी संग्रहालय बनाइनेछ । गढी किल्लाको नुवाकोट र फूलबारी जोडिएको सुरुङ छ । ‘हरियाली डाँडाकाँडालाई देखेर नेपालमाथि आक्रमण बढाएको अंग्रेजले जितगढी किल्लाबाट हार बेहोरेपछि उसको योजना रोकिएकाले नेपाल स्वाधीन हुन सकेको हो,’ बटौली संरक्षण संवद्र्धन समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकौलले भने, ‘नेपालीको वीरताको अमर गाथा गाइरहेको यो क्षेत्रको थोरै मात्रै प्रचार गरे पनि पर्यटक ओइरिने छन् ।’

पर्यटककै आकर्षणका लागि उपमहानगरको संयोजनमा बुटवलदेखि पाल्पाको नुवाकोटसम्म केबुलकार सञ्चालन गर्ने योजना अघि बढेको छ । सिद्धार्थ केबुलकार प्रालिले मणिमुकुन्द सेन उद्यान फूलबारी उत्तर–पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केबुलकार सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

सम्भाव्यता अध्ययन पूरा गरेको प्रालिले अहिले भौतिक व्यवस्थापनको काम थालेको छ । केबुलकारको सञ्चालन भने सन् २०२० को जनवरीबाट हुने सञ्चालक राजेन्द्रसिंह गुरुङले बताए । उनका अनुसार १ अर्ब १० करोड रुपैयाँको लागतमा केबुलकार सञ्चालन हुनेछ । दैनिक १० हजार यात्रु बोक्ने क्षमता रहेको केबुलकारले सुरुवातमा एक घण्टामा एक हजारका दरले पर्यटक बोक्नेछ । केबुलकारमा ९० डिब्बा रहनेछन् ।

बुटवल सामुदायिक वन उपभोक्ता समूहबाट प्राप्त जग्गामा भौतिक पूर्वाधार निर्माणको तयारी चलेको छ । केबुलकारको बेस स्टेसन बुटवल माविको उत्तरपट्टिको शिखर देउरालीमा रहनेछ भने टप स्टेसन पाल्पा जिल्लाको नुवाकोट डाँडामा बनाइनेछ । ‘बुटवलदेखि नुवाकोटसम्म केबुलकार सञ्चालनपछि बुटवलको पर्यटन व्यवसाय उकासिनेछ,’ उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले भनिन्, ‘पर्यटक विश्रामस्थलका रूपमा बुटवलको विकास हुनेछ ।’

त्यही योजना अनुसार होटल तथा रेस्टुराँलाई पर्यटकमैत्री बनाउने, सेवा थप्ने, स्तर बढाउने र भौतिक पूर्वाधार थप्ने काम पनि भइरहेको छ । विदेशी पाहुनालाई लक्षित गरी सुविधासम्पन्न डिलक्स होटल तयार भएका छन् । होटल तथा रेस्टुराँ व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र श्रेष्ठले बसाइँको राम्रो व्यवस्था नहुँदा बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकको बसाइँ समय घट्दै गएकाले ती पर्यटकलाई बुटवलमा बास बसाल्न काम थालेको बताए ।

‘सेवा र गुणस्तर दुवै कुराले बुटवलका होटल तथा रेस्टुराँ पर्यटकमैत्री बन्दै गएका छन्,’ उनले भने, ‘पर्यटकलाई खानपिन र बास मात्रै होइन साथमा भ्रमण प्याकेजसमेत तयार गरिरहेका छौं ।’ उनका अनुसार व्यवसायीले आन्तरिक र बाह्य दुवै पर्यटकलाई बास बसाल्नेछन् ।

‘अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र बेलहिया नाकाको नजिक र बुद्धक्षेत्र तिलौराकोट, रामग्राम र देवदहको बीचमा बुटवल भएकाले यहाँ थोरै मात्र व्यवस्थापन गरे पनि नमुना पर्यटक विश्राम स्थल बनाउन सकिन्छ,’ बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वलकुमार कसजुले भने, ‘यसका लागि उपमहानगरले उद्योगी, व्यवसायी र नागरिकलाई साथ लिएर हातमा हात मिलाउनुपर्छ ।’

प्रकाशित : आश्विन ८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?