२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सरकार जनता र प्रेससँग डराउन छाड्यो : गगन थापा 

माधव अर्याल

पाल्पा — कांग्रेस केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकार जनता र प्रेससँग डराउन छाडेको आरोप लगाएका छन् । उनले सरकार जनता र प्रेसले उठाएका विषयबस्तुसँग डराउनुपर्नेमा जोड दिए । 

सरकार जनता र प्रेससँग डराउन छाड्यो : गगन थापा 

नेपाल प्रेस यूनियन पाल्पाको पदस्थापना कार्यक्रम तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता थापाले सरकारले जुनसुकै निर्णय गर्दा पनि ढुक्क हुनु गलत भएको बताए । ‘सरकार प्रश्न गर्नेहरु माथि जाई लाग्न भन्छ तर प्रश्नहरुसँग सरकार डराएन भने जनताले के भन्छन् भन्ने विषयमा बेसरोकार रह्यो भने यो एकदमै गम्भीर विषय बन्छ,’ उनले भने, ‘कसले के भन्छ भन्ने विषयमा सरोकार रहेन भने यो गलत हुन्छ ।’


प्रतिपक्षले उठाएका विषय गलत पनि हुनसक्छ तर यस विषयलाई मतलब गरिएन भने गलत प्रवृत्ति हावी हुँदै जाने उनले बताए । ‘सरकारको कदम सही हुन पनि सक्छ,’ उनले भने, ‘यी सबै विषयमा मलाई मतलब छैन तिमीहरु बोल्दै जाउँ विकासविरोधी बोल्दै जान्छन् केही पनि छैन भन्नु गलत हो ।’ सुशासनका लागि गलत प्रवृत्ति हराउँदै गएको बताउँदै उनले निर्वाचित सरकार जनता र प्रेससँग डराउनपर्ने सुझाव दिए ।


नेता थापाले निर्वाचित सरकारले डरलाग्दो प्रवृत्ति मौलाउन दिएकाले यस्ता गलत प्रवृत्तिको विरोध गर्नुपर्नेमा जोड दिए । ‘मेरो बारेमा जनधारणा बदलिएको छ भन्ने कुरा किन बुझ्न सकेका छैनन्,’ उनले भने, ‘निर्वाचनबाट आएको सरकार डराउनुपर्छ । मैले गरेका गल्ती सच्चाउनु पर्छ भन्ने धारणा कहिल्यै बनाउन सकेको छैन ।’ उनले अहिलेको सरकारले आफुलाई बिस्तारै तानाशाह बनाउँदै लगेको आरोप लगाउँदै सबैभन्दा धेरै अनुकुलताको समयलाई क्षमताको अभावमा खेर फाल्न खोजेको बताए ।


‘सरकारले क्षमताका हिसाबले सही ढंगले शासन गर्न सकेको छैन,’ उनले भने, ‘नागरिक भएर हेर्दै गर्दा सानादेखि ठूला काम गर्न मेसो पाएको छैन ।’ अब नेपाली जनताले यस्तै अवस्था भोग्दै गए भने पद्धतिमा प्रश्न उठाउने भएकाले यस विषयमा सरकार गम्भीर हुन नेता थापाले आग्रह गरे ।


नेता थापाले रम्भा गाउँपालिका १ हुँगीमा आयोजित विदेशमा बस्ने युवाको अगुवाईमा खरीद गरिउको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मुलुक रेमिट्यान्सले धान्नु पर्ने अवस्था रहेको बताए । उनले नेपाली युवाहरु विदेशमा रोजगारका लागि गएको र सोही युवाले पठाएको रेमिटेन्सले मुलुक धानिएको बताए । उनले नेपाली युवा खाडी र अन्य मुलुकमा गएर काम गरेर पठाएको पैसाले मुलुक धानिन परेको बताए । उनले अब नेपालमा रोजगार सिर्जना गर्न नसक्ने हो भने १० वर्षमा गाउँमा युवा देखिन छाड्ने बताए ।


नेपाल विद्यार्थी संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीका नेताहरु समयको आवश्यकता भन्दा पनि गलत बाटोमा दौडिरहेको बताए । महासमितिको बैठकका विषयमा ध्यान दिनुपर्ने बताउँदै निर्वाचन आउन कम्तीमा साढे दुई वर्ष रहँदा नेताहरु देश दौडाहामा लाग्नु गलत भएको बताए ।

प्रकाशित : आश्विन ८, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?