१७ हजार बालबालिका विद्यालय बाहिरै

आर्थिक र सामाजिक अवस्था कमजोर भएकालाई सहयोग पुग्ने गरी भर्ना अभियान नचलाउँदा सबैलाई शिक्षाको पहुँचमा ल्याउन सकिएन
अमृता अनमोल

बुटवल — प्रदेश ५ का १२ जिल्लाअन्तर्गत रहेका बालविकास केन्द्रमा २ लाख १३ हजार ६ सय ११ बालबालिका अध्ययनरत छन् । तर, ती सबै माथिल्लो कक्षामा पुग्र्दैनन् । यहाँस्थित सामाजिक विकास मन्त्रालयका अनुसार अझै १७ हजार पढ्ने उमेरका बालबालिका विद्यालयबाहिरै छन् ।

१७ हजार बालबालिका विद्यालय बाहिरै

तामझामपूर्ण भर्ना अभियानले उनीहरूलाई आकर्षित गरेको छैन । आर्थिक र सामाजिक अवस्था कमजोर भएकालाई सहयोग पुग्ने गरी भर्ना अभियान नचलाउँदा सबैलाई शिक्षाको पहुँचमा ल्याउन नसकिएको हो ।


बालविकास केन्द्रमा गएकामध्ये सबै कक्षा १ मा भर्ना भएका छैनन् । केन्द्रमा भर्ना भएका १९ प्रतिशत बालबालिका कक्षा १ मा भर्ना नभएको तथ्यांकमा उल्लेख छ । प्रदेशमा ५ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ लाख ८५ हजार २ सय ८९ बालबालिका छन् । त्यसमध्ये ९४ प्रतिशत बालबालिका मात्रै विद्यालय जान पाएका छन् । करिब ६ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । ‘आर्थिक र सामाजिक दुवै अवस्था कमजोर भएका मजदुर वर्गका बालबालिका पढाइको अवसरबाट छुटेका छन्,’ मन्त्रालयको शैक्षिक योजना तथा तथ्यांक महाशाखाका प्रमुख स्थानेश्वर ज्ञवालीले भने, ‘पढेर के हुन्छ भन्ने चेतना नभएका पिछडा र सीमान्तकृत वर्गका अधिक बालबालिका विद्यालय नगएको देखियो ।’


प्रदेशमा १३ वर्षदेखि १६ वर्षसम्मका ४ लाख ८२ हजार ८ सय ८७ बालबालिका छन् । यो उमेर समूहमा आउँदा आधारभूत तह पूरा गरेका १ लाख ९५ हजार ५ सय ६९ बालबालिका माध्यमिक तहमा गएका छैनन् । प्रतिशतका हिसाबले ४० दशमलव ५ प्रतिशत बालबालिकाले मात्रै मावि तहमा पढ्ने अवसर पाएका छन् । करिब ५९ दशमलव ५ प्रतिशत बालबालिकाले मावि तह पढ्ने अवसर नै पाएका छैनन् ।


विद्यालयको पहुँच बाहिर रहेकालाई आकर्षित गर्न स्थानीय तहले चालु आर्थिक वर्षमा पुन: पूर्ण भर्ना अभियान सञ्चालन गरेका छन् । यस अभियान अन्तर्गत छुटेका बालबालिकालाई विद्यालय ल्याउने कार्यक्रम चलाएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । विपन्नलाई खाजा, पोसाक र स्टेसनरी सहयोग गरेर समेत विद्यालय ल्याउने कोसिस गरेको उनले दाबी गरे ।


प्रदेश सरकारले यहाँका १ सय ९ वटै तहलाई जिम्मेवार बनाउन फरक खालका अभियान चलाउने तयारी गरेको छ । ‘यो प्रदेशमा गरिबी र अपांगताका कारण विद्यालय नजाने बालबालिका पनि धेरै रहेछन् । कतिपय बालबालिका धार्मिक विद्यालयमा गए पनि मूलधारको शिक्षाबाट वञ्चित रहेछन्,’ सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने, ‘त्यस्ता बालबालिकालाई विद्यालय ल्याउन सहयोग र प्रवद्र्धनात्मक कार्यक्रम गरिनेछ ।’


बालबालिकासँगै अभिभावक र विद्यालयलाई सहयोग गर्ने खालका योजना बनाउनसमेत स्थानीय तहलाई निर्देश गरेको मन्त्री बरालले बताए । ‘बालबालिका र शिक्षाका क्षेत्रमा काम गर्ने संघसंस्थाबीच पनि छलफल र अन्तरक्रिया गरेका छौं,’ उनले भने, ‘सामाजिक संघसंस्थाले पनि अभियान मात्रै चलाउने होइन, कति विद्यार्थीलाई विद्यालय ल्याउँछन् गनेर मूल्यांकन गरिनेछ ।’ प्रदेशमा धार्मिक रीतिरिवाजका लागि मदरसा, गुम्बा र गुरुकुलमा पढ्ने बालबालिका धेरै छन् ।


प्रदेशका १२ जिल्लामा १९ लाख ५७ हजार १ सय ६६ बालबालिका छन् । त्यसमध्ये बालक ५० दशमलव ०५ प्रतिशत छन् भने बालिका ४९ दशमलव ९३ प्रतिशत रहेका छन् ।

प्रकाशित : आश्विन ९, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?