रोल्पा बन्द

काशीराम डाँगी

रोल्पा — नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आव्हानमा बुधबार गरिएको रोल्पा बन्दको प्रभाव बिहानैदेखि देखिएको छ।

रोल्पा बन्द

आफ्ना नेता कार्यकर्तालाई प्रहरी- प्रशासनले पक्राउ गरेको बिरोधमा नेकपाले बुधबार रोल्पा बन्दको आव्हान गरिएको हो। बन्दका कारण बिहानैदेखि यातायातका साधन चलेका छैनन् भने बजार, पसल, विद्यालय समेत बन्द छन् । एम्बुलेन्स चलाउन भने छुट दिइएको छ। यस्तै होटल, चिया पसल र औषधि पसल खुला छन्।


रोल्पा प्रहरीले दुई साताअघि नेकपाका जिल्ला सचिव सन्तोष सुवेदी प्रयास लाई पक्राउ गरेको थियो। शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा सुवेदी सहित केही कार्यकर्तालाई त्यस अघि पनि पक्राउ गरिएको थियो। स्थानीय प्रशासनले पक्राउ गरिएका केही कार्यकर्तालाई धरौटीमा छोडेको छ। प्रहरीले पक्राउ गरेका नेता कार्यकर्ताको विनासर्त रिहाइको माग गर्दै रोल्पा बन्द आव्हान गरिएको बारे नेकपाका नेता 'विश्व' को नामबाट मंगलबार विज्ञप्ति जारी गरिएको थियो।


नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई राजधानीबाट पक्राउ गरिए लगत्तै प्रहरीले जिल्लामा समेत कार्यकर्ता पक्राउ गरेको हो। रोल्पामा त्यसै क्रममा नेकपा कार्यकर्तालाई पक्राउ गरेको हो। अहिलेसम्म प्रहरीले रोल्पाका ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले धेरै जसोलाई छोडिसकेको छ।


प्रहरीले पक्राउ गरेका नेकपा कार्यकर्तामाथि सार्वजनिक अपराध सम्बन्धी मुद्दा लगाउने गरेको छ। नयाँ जारी भएको मुलुकी संहिता अनुसार उक्त मुद्दा स्थानीय अधिकारी अर्थात प्रमुख जिल्ला अधिकारीले सुनुवाइ गर्छन्। कतिपय मुद्दा भने अदालत पुर्‍याइने प्रहरीले जनाएको छ।

प्रकाशित : आश्विन १०, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?