कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ठगी रोक्न सीमामा ‘हेल्प डेस्क’

दु:ख पाउने यात्रुको उद्धार गर्न एकजुट
माधव ढुंगाना

भैरहवा — दसैं, तिहार, छठजस्ता ठूला पर्व नजिकिँदै छन् । जति चाडबाड नजिकिन्छन्, सीमा नाकामा यात्रुको आवागमन र भीडभाड बढ्ने गर्छ । आवागमन बढेसँगै सिमानामा लुटपाट र ठगीका घटना वृद्धि हुन्छन् ।

ठगी रोक्न सीमामा ‘हेल्प डेस्क’

त्यस्ता आपराधिक घटनालाई मध्यनजर गर्दै यहाँस्थित बेलहिया नाकामा सावधानी अपनाइएको छ । यस्ता घटना नियन्त्रण गर्न सीमित संख्यामा परिचालित प्रहरीको प्रयास मात्र सम्भव देखिएको छैन । सर्वाधिक आवागमन हुने सुनौली (बेलहिया) नाकामा यस्ता घटना रोक्न प्रहरी, नागरिक समाज, स्थानीय संघसंस्था र यातायात व्यवसायी एकै ठाँउमा उभिएका छन् ।

यस्ता घटना हुन नदिने र केही गरी भइहालेमा पीडितको सहयोग र उद्धारका लागि प्रहरीसँगै हातेमालो गरिने भएको छ । नाकामा शुक्रबारदेखि ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ ।

‘चाडपर्व सुरु हुन थालेपछि नाकामा थामिनसक्नु यात्रु र सवारी साधनको भीड लाग्न थाल्छ’ सीमावर्ती इलाका प्रहरी बेलहियाका प्रहरी निरीक्षक वीरबहादुर थापाले भने, ‘सीमा क्षेत्रमा भीडभाडका बेला हुने विभिन्न ठगी र अपराधबाट सर्वसाधरणलाई सुरक्षित बनाउन कक्षको स्थापना गरिएको हो ।’ प्रहरीको अगुवाइमा थालिएको यस कदममा स्थानीय सहयोगी पनि एकजुट भएको उनले बताए ।

भैरहवा भन्सार परिसरअगाडि बेलहियाको सडक किनारमा कक्षको स्थापना गरिएको छ । कक्षमा प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विभिन्न यातायात व्यवसायी, स्थानीय नागरिक समाज, बेलहिया गाउँ समाज, लुम्बिनी खुकुरी क्लब, स्थानीय होटल व्यवसायीलगायतका ११ संघ–संस्थाका प्रतिनिधि तैनाथ रहनेछन् ।

कोही समस्यामा परेको जानकारी आउनासाथ उसलाई कुन खालको सहयोगको आवश्यकता परेको छ ? त्यो तत्काल उपलब्ध गराइने उनीहरूले जनाए । चाडपर्व मनाउन भारतलगायता मुलुकबाट परिवारसहित घर फर्किने, विदेशमा अध्ययन, भ्रमण तथा उपचार गरेर फर्किन नेपालीे, चाडपर्वका लागि सरसामान खरिद गर्न भारतीय बजार पुग्ने नेपाली उपभोक्ताको भीडले बाटो छिचोल्न मुस्किल हुनेगर्छ ।

चाडपर्वका बेला लगभग मुलुकको सबै ठाँउका यात्रुको भीड यही नाकामा लाग्ने गर्छ । इलाका प्रहरीका अनुसार सामान्य अवस्थामा पनि दैनिक ५/७ हजार यात्रुको आवागमन हुनेगर्छ । दसैं–तिहारका बेला यो संख्या ९/१० गुणाले बढ्ने गर्छ । चाडपर्वमा मालवाहक ढुवानीका गाडी र अन्य सवारी साधनको आवागमनको चाप पनि उत्तिकै हुन्छ । यही मौकाको फाइदा उठाउँदै सिमानामा पाकेटमार, दलाल, लागूपदार्थ दुव्र्यसनी, होटलवाला तथा गाडीवाला यात्रुलाई ठग्ने गर्छन् ।

नशालु पदार्थको प्रयोग गरी यात्रुलाई लठ्याएर लुट्ने, रिक्सा र गाडीवालाले अत्यधिक बढी भाडा लिने, यात्रु मिलाइदिए बापत कमिसन खाने, यात्रु तानातान गर्ने र बसको टिकट मिलाइदिने भन्दै पैसा असुलेर अलपत्र पार्ने, एउटा सिटको बसको टिकट धेरै जनालाई दिने, यात्रुको चापअनुसारका गाडी उपलबध नहुनेजस्ता समस्या यात्रुले भोग्ने गरेका छन् ।

‘यस्ता अपराध र ठगी नियन्त्रण गर्न प्रहरीको एक्लो प्रयास मात्र सम्भव नहुने भएकाले सहकार्य गरेर अघि बढेका हौं’ लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामु बस्नेतले भने, ‘सीमा नाकामा कुनै पनि यात्रु नठगिने वातावरण बनाउने दायित्व हामी सीमा क्षेत्रका बासिन्दा र सामाजिक संघ–संस्थाको पनि दायित्व हो ।’

भीडभाडको बेलामा यात्रु ठग्ने दलाल स्थानीय पनि हुन सक्ने भएकाले तिनीहरूको सहजै पहिचान स्थानीय संघ संस्थाको प्रतिनिधिबाट हुने उनले बताए । कोही लुटिएर बेखर्ची भएमा गन्तव्यसम्म पुग्ने व्यवस्था, नशालु पदार्थको सेवन गराएर लुटिएका पीडित फेला परेमा उनीहरूको उपचार, उनीहरूलाई घरसम्म पुर्‍याउने व्यवस्था, हराएका बालबालिका तथा अलपत्रमा परेका यात्रुलाई संरक्षण तथा उद्धार, यात्रुको चाप अनुसारका सवारी साधनको अभाव भएमा तत्काल थप गर्ने, ठग तथा दलालको खोजी र कारबाही गर्नेतर्फ सहायता कक्षमा तैनाथ पदाधिकारीले गर्नेछन् ।

सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारूमगरले चोरी, पकेटमारी, लठ्याएर वा कुनै पनि कारणले बेखर्ची हुन पुगेका यात्रुलाई सहायता केन्द्रले गरेको सिफारिसका आधारमा नि:शुल्क गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइने बताए । अन्य यातायात व्यवसायीले पनि यसरी नै समस्यामा परेकालाई सहयोग र उद्धार गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाँकेमा पनि
चाडपर्व नजिकिँदै गएपछि नेपालीहरूलाई लुटपाटबाट जोगाउन स्थानीय प्रशासनले नेपाल–भारत सीमा बाँकेको जमुनाहामा हेल्प डेस्क राखिएको छ । चाडपर्व मनाउन भारतबाट घर फर्किने नेपालीलाई लुटपाटबाट जोगाउन हेल्पडेक्स राखिएको हो । नेपाल–भारत आउजाउ गर्ने सर्वसाधारणको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हेल्पडेस्क राखेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर ३० गणका सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह, बाँके प्रहरी प्रमुख अरुण पौडेल, भारतीय सीमा सुरक्षा बल रुपैडिहाका भारतीय प्रहरी थाना प्रमुख आलोक रावलगायतले सर्वसाधारणहरूलाई सुरक्षा दिने प्रतिबद्वता जनाए ।

प्रकाशित : आश्विन १३, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?