महिलाद्वारा बाख्रापालन

कान्तिपुर संवाददाता

अर्घाखाँची — परम्परागत शैलीमा बाख्रा पाल्दै आएका शीतगंगा नगरपालिका १३ र १४ का महिलाले अहिले फरक तरिकाले बाख्रापालन गरेर आम्दानी बढाएका छन् ।

अर्घाखाँचीको पावराका कृषक जंगलमा बाख्रा चराउन लैजाँदै । तस्बिर : वीरेन्द्र केसी

जमिनदेखि एक मिटर अग्लो खोर, दैनिक सरसफाइ, न्यायो र घाँस बाख्राको उचाइभन्दा माथि झुन्ड्याएर राखिदिने । खोरबाहिर भुइँमा पनि काठ राख्ने । नुन, पानी, घाँसपात, खनिज र अन्न खुवाउने समय निर्धारण । यही विधिबाट पालेका बाख्राले अन्य बाख्राको तुलनामा बढी र छिटो आम्दानी दिन्छन् ।

कँरेंचुलीकी टुलकुमारी न्यौपानेले ६ हजार रुपैयाँ ऋण काढेर किनेका बाख्राले ६ महिनामा दुई खसी बिक्री गर्दा १८ हजार रुपैयाँ आम्दानी दियो । ‘ऋण तिरेर दुई माउ बाख्रा थपें,’ उनले भनिन्, ‘तीन वर्षमा २६ बाख्रा पुगे ।’ अहिलेसम्म खसीबोका बिक्री गरेर ६५ हजार रुपैयाँ आम्दानी भएको उनले बताइन् ।

महिला मिलेर समूह गठन गर्छन् । महिनैपिच्छे बैठक बस्ने, बाख्रा र खसीबोकाको तौल कसको कति भयो, रोग लाग्नबाट बचाउने तरिका र आहारमा ध्यान दिनेबारे छलफल गर्छन् र अनुभव बाँड्छन् । स्थानीय जातका बाख्रामा उन्नत बोका लगाइन्छ । रोग लाग्नबाट जोगाउन जुकाको औषधि खुवाइन्छ ।

धेरै बाख्रा पालेर खासै आम्दानी लिन नसक्ने कृषकलाई आधुनिक तरिकाले पाल्ने उपाय र स्याहारसुसार, खानपिन र औषधि उपचारका बारेमा प्रशिक्षण दिएपछि सिमलपानीका एक हजार महिलाको आम्दानीको मुख्य स्रोत बाख्रा बनेको हो । ‘बाख्रा उनै हुन्, छिटो हुर्कने, बढ्ने, ब्याउने र तौल बढाउने तरिका सिकेपछि हामी स्वरोजगार बन्यौं,’ शीतगंगा नगरपालिका–१४ की बसुन्धरा कार्कीले भनिन्, ‘आम्दानी र सीप दुवै बढेको छ ।’

परियोजनामा ११ मूल समूह र २६ उपसमूह छन् । वडा १३ मा सिमलपानी कृषि तथा पशु विकास महिला सहकारी संस्थामा ३ सय ५० र वडा १४ को गंगाजल कृषि तथा पशुविकास सहकारीमा ६ सय ५० महिला कृषक आबद्ध छन् । सहकारीमा बैठक बस्ने, महिनैपिच्छे रकम जम्मा गर्ने गर्छन् ।

सिमलपानी सहकारीकी अध्यक्ष मानकुमारी बीसीका अनुसार पहिला खोरभित्रै पिसाबले बाख्राको शरीर भिज्थ्यो, आधुनिक खोर निर्माण भएपछि सफा हुन्छन् । सहकारीमा आबद्ध कृषकले वर्षमा ५० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले बताइन् ।

महिलाले बाख्रा पालेर स्वरोजगार भएको र हेफरको तालिमले महिला सशक्तीकरण, सहकारी सञ्चालन, सामाजिक जवाफदेहिता र डटेर बोल्न सक्ने भएको परियोजना अध्यक्ष बाबुराम पौडेलले बताए ।

प्रकाशित : आश्विन १८, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

जातीय र लैंगिक हिंसाको गुनासो

कान्तिपुर संवाददाता

बुटवल — दलित र महिला भएकै कारण आफूहरू दोहोरो मारमा परेको दलित महिलाहरूले गुनासो गरेका छन् ।शिक्षा र चेतनामा पछि परेका दलित महिलाले अन्यायको विरोध गर्न नसक्ने र बोलिदिने नहुँदा पुरुषको तुलनामा धेरै भेदभाव र छुवाछूत सहनुपरेको बताए ।

दलित महिला संघले बुटवलमा बुधबार आयोजना गरेको दलित महिलाको प्रादेशिक मुद्दाहरू र समाधानका उपाय विषयक छलफल कार्यक्रममा सहभागीले दलित महिलाले जातीय र लैंगिक दुवै किसिमका हिंसा सहनु परेको बताएका हुन् ।


‘पुरुषको तुलनामा महिला दलितमाथि हिंसा र भेदभाव धेरै छ । दमन र थिचोमिचो छ,’ प्रदेश ५ की सांसद दीपा विकले भनिन्, ‘यौन हिंसा र बलात्कारका घटना पनि दलित महिलामाथि नै धेरै भएका छन् ।’ यसलाई रोक्न क्षतिपूर्तिसहितको जागरण अभियान थाल्नुपर्ने उनले बताइन् ।


प्रदेश सांसद रीना नेपाल विकले जातीय भेदभाव र छुवाछूत रोक्न टोलबाटै योजना ल्याउन सुझाव दिइन् । ‘टोल हुँदै वडा, वडाबाट पालिका हुँदै जिल्ला गरेर अभियानलाई सानो क्षेत्रबाट ठूलो क्षेत्रमा लैजानुपर्छ,’ उनले भनिन्, ‘यसले मात्रै वास्तवमा जातीय भेदभाव र छुवाछूत रोक्न सकिनेछ ।’ सांसद कमला विश्वकर्माले सीप भएर पनि दलित समुदायले होटल/रेस्टुराँ खोल्न नसकेको र आत्मसम्मानका साथ आफू जन्मेको गाउँमा घुलमिल हुन नपाएको दुखेसो पोखिन् । यसलाई हटाउन दलित र गैरदलितबीच अन्तरघुलनका कार्यक्रम ल्याउन उनले सुझाव दिइन् ।


प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले इतिहासको सबैभन्दा प्राविधिक र दक्ष जनशक्ति दलित भएकाले वर्तमान अवस्थामा उनीहरूमाथि भेदभाव गर्नु भनेको इतिहासलाई धिक्कार्नु भएको बताए । संविधानले दलित हकलाई मौलिक हक र भूमिहीन दलितलाई जग्गाको समेत व्यवस्था गर्न आग्रह गरेकाले अब दलितहरू पनि हेपिएर बस्न नहुने उनले सुझाव दिए । नकारात्मकको सट्टा सकारात्मक रूपमा शिक्षा, स्वास्थ्य, रोजगार, राजनीतिलगायतका अवसरमा पहुँच बढाउन सके छुवाछूत र भेदभाव आफैं हट्ने भएकाले युवकयुवतीलाई त्यसतर्फ आकर्षित गर्न उनले आग्रह गरे ।


प्रदेशका तर्फबाट अन्तरपालिका स्तरीय जातीय भेदभावविरुद्धका अभियान थाल्ने भन्दै मन्त्री बरालले स्थानीय तहलाई पनि वडास्तरबाटै छुवाछूतमुक्त अभियान थाल्न सुझाव दिए । दलित महिला संघकी केन्द्रीय अध्यक्ष कला स्वर्णकारले सबै प्रदेशमा दलित महिलाका मुद्दा खोतलेर समाधानको उपाय खोज्न कार्यक्रम आयोजना गरेको बताइन् ।

प्रकाशित : आश्विन १८, २०७५ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्