१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कूटनीतिज्ञद्वारा सीमा अवलोकन

गुलरिया–मूर्तिहा नाका सञ्चालनका लागि दबाब
कमल पन्थी

बर्दिया — भारतीय दूतावासका प्रथम सचिव प्रवजित सिंह गुलाटीले जिल्लास्थित नेपाल–भारत सीमा अवलोकन गरेका छन् । यहाँस्थित गुलरिया उद्योग वाणिज्य संघको आग्रहमा उनले सीमा नाका अवलोकन गरेका हुन् ।

कूटनीतिज्ञद्वारा सीमा अवलोकन

संघका द्वितीय उपाध्यक्ष मनोज यादवले गुलाटीले नाका चाँडै सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरेको बताए । गुलाटीले आधा घण्टा गुलरिया–मूर्तिहा नाका अवलोकनका साथै छलफल गरेका थिए । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले मायाको चिनो दिएका थिए । सन् २००९ अक्टोबर २७ तारिखमा तात्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका क्रममा नाका सञ्चालन गर्ने सम्झौता भएको थियो ।


अहिलेसम्म नाका नखोलिएपछि संघको आग्रहमा गुलाटी यहाँ आएका हुन् । पूर्वप्रधानमन्त्री नेपालको भ्रमणका क्रममा ५ वटा नाका सञ्चालन गर्ने सम्झौता भएको थियो । त्यसमा महेशपुर, ठुटीबारी, सिक्टा, लुक्हा र मूर्तिहा नाका थिए । मूर्तिहाबाहेक अन्य नाका सञ्चालनमा आइसकेका छन् । नेपालसँग जोडिएको भारतीय सीमामा आरक्षको जंगल रहेको छ । आरक्ष रहेको जनाउँदै भारतीय पक्षले नाका सञ्चालनका लागि जग्गा उपलब्ध गराउन चासो देखाएको छैन ।


यातायातका दृष्टिले सहज गुलरियालाई मूल भन्सार बनाउन लामो समयदेखि पहल भइरहेको छ । गुलरियातर्फको भन्सारको सबै प्रक्रिया पूरा भए पनि भारततर्फ ढिलाइ भएको बर्दिया भन्सार कार्यालय प्रमुख ओपेन्द्र हमालले बताए । सीमा शुल्कले वन कार्यालयसँग ४ हजार ५ सय वर्ग किमि जग्गा माग गरेको छ । ‘भारतीय सीमा शुल्कले जग्गा उपलब्ध गराउन वन संरक्षण (वन्य जीव) लाई पत्राचार गरेको धेरै भयो, ‘संघका उपाध्यक्ष यादवले भने, तर भारतीय वन अधिकारीले हालसम्म कुनै वास्ता गरेका छैनन् ।, आरक्ष भएको जंगलभित्र सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प रहेको छ । केन्द्र सरकारले नेपाल–भारतबीच भएको दुई पक्षीय सम्झौता बमोजिम मूर्तिहामा नाका थप्न निर्देशन दिए बमोजिम सबै प्रक्रिया पूरा भएको छ ।


नाका सञ्चालन नभएका कारण यहाँका व्यवसायी सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल र एसएसबीको कडाइले मर्कामा पर्दै आएका छन् । छोटो नाका नभएकाले ढुवानी खर्च बढी लाग्छ । बाँकेको सीमावर्ती रुपैडिहा नाकाबाट सामान ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय व्यापारीले बताए । लामो समय बितिसक्दा पनि सरकारले भारतीय अधिकारीसँग नाका सञ्चालनका लागि कुनै चासो नदिएकाले ढिलासुस्ती भएको हो ।

प्रकाशित : आश्विन २०, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?