कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माटो झिक्न तँछाडमछाड

आयो दसैं
वीरेन्द्र केसी

अर्घाखाँची — दसैंमा घर रंगाइन्छ । भित्ता, झ्याल–ढोका र काठले रूप फेर्छन् । ढुंगाका छाना भएका घरमा विजया दशमीको शुभकामना सन्देश लेखिन्छ । गाउँका कच्ची घर पोतिन्छन् । बजारमा पक्की घरमा रंग लगाएर सफा र चिटिक्क पारिन्छ ।

माटो झिक्न तँछाडमछाड

गाउँमा एक महिना अघिदेखि घर पोत्न रातो र कमेरो माटो खोज्न खानी चाहार्दै भ्याइ–नभ्याई छ । केहीले बजारको रंग (गेरु र चुना) ले पोत्छन् ।

डिभर्नाका भुपाल आचार्यलाई पहिलेको जस्तो घर पोत्न हतार छैन । कमेरो (सेतो माटो) र रातो माटो खोज्न युवा उमेरमा दिनभर डुलेको सम्झिन्छन् । ‘गाउँमा साथीभाइ मिलेर खानीमा जाने र डोकाभरि माटो बोकेर ल्याइन्थ्यो,’ उनले भने, ‘छिमेकीलाई समेत ल्याइदिन्थ्यौं, अहिले खानी हराए ।’ बजारमा रातो र सेतो माटो जस्तै रंग आउन थाल्यो । बजारमा गयो, दुई/चार किलो रंग ल्याएर पोतेपछि भै गो, बोरा र कोदालो बोकेर खानी धाउन नयाँ पुस्ता छाडेको उनले बताए ।

माथि सेतो र तल रातोले भित्ता पोतिन्छ । कतिपयले धार्मिक मान्यताले पूरै घर रातो माटोले पोत्छन् । डिभर्नाकै कृष्णा खड्का घर पोत्ने तयारीमा छिन् । ‘हामीले सधैं पूरै घर रातो माटोले पोत्छौं,’ उनले भनिन्, ‘खानीबाट आफैं खनेर ल्याउँछौं । बजारको रंग लगाएर हामीलाई शुभ संकेत हुँदैन ।’ अल्छीहरूलाई मात्रै हो, खानी नपाइने तर, माटोको खानी सुरक्षित राखेपछि कतै हराउने र पुरिने गरेको उनले बताइन् । माटोले पोत्नुपर्छ भन्ने धार्मिक मान्यता छ ।

घरबाट दस किलोमिटर टाढा फुदवाङको राताटारी खानीबाट रातो माटो घरमा ल्याइसकेकी छन् । सरसफाइ भइसक्यो । एक/दुई दिनमा पोत्ने हो । ‘पोतेपछि घर पवित्र हुन्छ । दसैंमा टीका लगाएपछि मनै शान्ति हुन्छ,’ उनले भनिन्, ‘झ्याल, ढोकामा कालो रंग लगाइन्छ । विस्तारासहित सबै कपडा धोइन्छ ।’ कस्सले घर राम्रो पोतेको छ र चिटिक्क पारेको छ भन्ने छिमेकीबीच चर्चा चल्छ । कुल देवताले बजारको रंग मन पराउँदैनन्, उनले भनिन् ।

बाँगीकी सुन्तली बस्नेतले सधंै खानीबाट माटो झिक्ने अगुवाइ गर्छिन् । उनले खानीभित्र पसेर सबैको भारी पुर्‍याएपछि बल्ल आफूलाई झिक्छिन् । ‘खर्‍यानमा खानीबाट झिकेको माटो मगमग बास्ना आउँछ,’ उनले भनिन्, ‘घर पवित्र हुन्छ । दुर्गा भवानी खुसी हुन्छिन् । बजारको रंग मन पर्दैन ।’ रंग किनेर घर पोत्नेलाई उनले सम्झाउँछिन् ।

धर्म र स्वास्थ्यका दृष्टिले खानीकै माटो उपयुक्त हुने उनको भनाइ छ । दसैंमा झिकेपछि खानीमा काँडा र बाँसले छेकेर राख्छिन् । खानी माथि दिसा, पिसाब गर्ने, थुक्ने र फोहोर गर्न उनले मनाही गरेकी छन् । घर पोत्ने माटो पवित्र हो, बिक्री गर्नु हुँदैन, उनले भनिन् । माटो खन्दा ढिस्कोले पुर्ने जोखिम हुन्छ तर, ख्याल राखेर झिकेपछि अप्रिय घटनाबाट जोगिन सकिने उनले बताइन ।

सदरमुकाम र गाउँका पक्की घरमा माटो लगाइँदैन । रंग नै चाहिन्छ । सन्धिखर्कमा पुनाराम बस्नेतले दुई दिन समय खर्चेर सेतो माटो दुई बोरा ल्याइसके । बुहारी र श्रीमतीसहित मिलेर घर पोत्ने तयारीमा छन् । अघिल्लो वर्ष सरकारी कार्यालय भवन निर्माण गर्न घडेरी खन्दा रातो माटो ल्याएको अझै तीन बोरा छ । जति पुरानो भयो त्यति रंग राम्रो आउने उनले बताए । जवानी उमेरमा आफ्नो घर पोत्ने र छिमेकी इष्टमित्रको पैचो गरेर पोतेको उनले सुनाए ।

टोलमा छ घर छन् । दुई घरले बजारको रंग ल्याउँछन् । हामी चार घर खानीमै धाउने गरेको उनले बताए । उनका अनुसार धेरैले खानीकै माटोले घर पोत्छन् । रंग मन पर्दैन, उनले भने । रामपतकी बसुन्धारा मुखियाले माटो खोज्नुभन्दा बजारमा गएर दुई, तीन किलो ल्याएपछि भइहाल्छ, कसले खानी खोज्दै हिंडेर दु:ख गरोस्, चार वटा दसैं यसै गरी रंगाएर मनाएको बताइन् ।

खाँचीकोटकी गीता केसीले राताटारी खानीमा दिनभर लगाएर माटो झिकिन् । परम्परा र संस्कृति जोगाउन खानीकै माटोले घर पोत्नुपर्ने उनको तर्क छ । खानीमा यतिबेला भीडभाड छ । पालो पर्खेर माटो झिक्ने हो । खानीबाट महिलाले माटो ल्याएर पोतेपछि दुर्गा भगवान खुसी हुने, परिवारमा सधैं राम्रो र प्रगति हुने बुढापाकाले सुनाउने गरेको उनले बताइन् ।

घटस्थापनाअघि नै घर चोख्याइन्छ । टपरीमा जमरा नयाँ माटो उमारिन्छ, टीकाको दिन भगवानलाई चढाएर हामीले शिरमा लगाउँछौं र भगवतीका मन्दिरमा अक्षेता, जमरा चढाउने चलन छ, त्यसैले खानीको माटो चाहिन्छ, उनले भनिन् ।

प्रकाशित : आश्विन २१, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?