कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चिकित्सक बस्न थालेपछि बिरामीको चाप

सुधारिँदै जिल्ला अस्पताल
नवीन पौडेल

परासी — विशेषज्ञ चिकित्सकले स्थायी रूपमा काम गर्न थालेपछि यहाँस्थित जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । यस अघि आवश्यक उपकरण हुँदाहुँदै चिकित्सक अभावले बिरामी रिफर गर्नुपर्ने बाध्यता थियो ।

चिकित्सक बस्न थालेपछि बिरामीको चाप

यो उपचारभन्दा पनि बिरामी अन्यत्र पठाउने थलो थियो । पृथ्वी चन्द्र अस्पतालमा चिकित्सक आएपछि अहिले चाप बढेको हो । सामान्य रुघाखोकी र ज्वरोका बिरामीले मात्र सेवा लिँदै आएका थिए । दुई महिना यता शल्यक्रिया मार्फत् सुत्केरी गराउने सेवा सञ्चालनमा आएपछि सेवाग्राहीलाई सहज भएको छ ।


जटिल प्रकृितको सुत्केरी सेवा मात्र होईन अस्पतालमा पहिलो पटक पाठेघरको शल्यक्रिया सफल भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका १८ खैरिया घर भएर रामग्राम बसोबास गरिरहेकी ४० वर्षीया सुभावतीदेवी थरूको पाठेघरको शल्यक्रिया सफल भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) अनन्तकुमार शर्माले बताए । विपन्न थारू परिवारले नीजि अस्पतालमा शल्यक्रिया गराउन नसकेर विगत ५ वर्षदेखि औषधिको भरमा बसिरहेका थिए । ‘श्रीमती लिएर भारतदेखि नेपालका विभिन्न अस्पताल पुगे, उपचारमा धेरै खर्च लाग्ने भएकाले औषधिको भरमा थियौं, ’सुभावतीका पति राममणिले भने, ‘साह्रै रगत बगेपछि यहाँ लिएर आएँ, अस्पतालले कम खर्चमा अप्रेसन गरिदियो ।’ उनले चिकित्सकलाई धन्यवाद दिए ।


विशेषज्ञ चिकित्सकले सेवा दिन थालेको जानकारीपछि सेवाग्राहीको चाप बढेको हो । अहिले एक महिनामा एक सयभन्दा बढी सुत्केरी भइरहेको मेसु शर्माले बताए । ‘यसअघि उपकरण भएर पनि चिकित्सक नहँुदा सेवा प्रभावमा कठिनाइ भएको थिया,’उनले भने,‘दुई जना विशेषज्ञ चिकत्सिक थपिएपछि सजिलो भएको छ ।’ यसअघि दिनमा मुस्किलले ५० जना बिरामी आउँथे । अहिले घटीमा दुई सय जना आइरहेको अस्पतालले जनाएको छ । अस्पताल प्रदेश अन्तर्गत आएपछि सरकारले जिल्ला समन्वय समितिका संयोजक शिवशंकर रायको अध्यक्षतामा तदर्थ अस्पताल विकास समिति गठन गरेको छ । ‘जिल्ला अस्पताल हँुदाहुँदै सामान्य रोगको उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने बाध्यता हटाउन सुधारको प्रयास गरिएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष रायले भने ,‘उपलब्ध स्रोत र साधनले भ्याएसम्म बाहिर रिफर नगर्ने र गर्नैपर्ने अवस्था आए पनि तथ्यांक राखेर मात्र पठाउन थालिएको छ ।’


यहाँ हाडजोर्नी रोग विशेषज्ञ आएपछि आकस्मिक कक्षमा बिरामीको चाप बढेको छ । यसअघि आकस्मिक कक्षमा आउने विरामीलाई स्वास्थ्यकर्मीले सोधपुछ कक्षबाट उपचार हुन सक्दैन भन्दै बुटवल र भैरहवा रिफर गर्दै आएका थिए । अहिले विरामीलाई आईसीयु बाहेक अन्य सेवाका लागि बाहिर रिफर गर्नुपर्दैन । अस्पताल प्रशासनले बिरामी भर्ना गरी रजिस्ट्रेसन गरिने तर रिफर वा डिस्चार्ज गर्न पर्दा मेडिकल अधिकृतको उपस्थितमा मात्र गर्न पाउने नियम बनाएको छ । ५१ शय्याको अस्पताल ३१ शय्या रहेका थिए । अहिले १६ शय्या थप गरिएको र बिरामीको चापअनुसार थप गर्न अस्पताल प्रशासन लागि परेको छ ।


अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष सन्तोष श्रीवास्तवले यसअघि जिल्ला, स्थानीय तह, प्रदेश वा केन्द्र कसको स्वामित्वमा जिल्ला अस्पताल रहने यकिन नभएकाले सेवा प्रवाहमा समस्या देखिएको बताए । अहिले प्रदेशको स्वामत्विमा हुने भएपछि चिकित्सक पठाउने र बजेट विनियोजन हुन थालेकले सेवामा सुधार आएर बिरामीको चाप बढेको बताए । जिल्लाको सबैभन्दा पुरानो र ठूलो अस्पतालमा बाल तथा स्त्री, सर्जन, अर्थो, मानसिक रोग लगायत ८ रोगका विशेषज्ञ चिकित्सकको दरबन्दी छ । दुईजना विशेषज्ञ चिकित्सक बस्दा पनि चाप बढेकाले दरबन्दी अनुसारका सबै चिकित्सक हाजिर भएमा यस क्षेत्रका बिरामीले बुटवल र भैरहवामा महँगो शुल्क तिरेर उपचार सेवा लिनुपर्ने बाधयता हट्ने स्थानीय बताउँछन् ।

प्रकाशित : आश्विन २२, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?