२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सीमा सहरमा घर फर्कनेको लर्को

-बसपार्कमा यात्रु सहायता कक्ष -सर्वसाधारणमाथि दुव्र्यवहार र ठगी गर्नेलाई कारबाही -चाडपर्व लक्षित विशेष सुरक्षा योजना
ठाकुरसिंह थारु

नेपालगन्ज — स्थानीय प्रशासनले चाडपर्व मनाउन घर फर्किने सर्वसाधारणमाथि दुव्र्यवहार र ठगी गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । चाडपर्व नजिकिएसँगै घर फर्किनेको भीड बासपार्कमा लाग्न थालेको छ ।

सीमा सहरमा घर फर्कनेको लर्को

यात्रु पाउने नाममा यातायातकर्मीबाट सर्वसाधारणलाई तानातान गर्ने, झोला खोस्ने र जबरजस्ती आफ्नो गाडीमा बसाउन खोज्दै दुव्र्यवहार हुने गरेको गुनासो छ ।


होटल व्यवसायीले भारतबाट फर्किएकालाई आकर्षित गर्न रिक्सा लिएर रुपैडिहा पुग्ने गरेका छन् । घर फर्किरहेकाहरू पाइलैपिच्छे ठगिन थालेपछि प्रहरी प्रशासनले उक्त चेतावनी दिएको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बसपार्कमा दुव्र्यवहार भइरहेको व्यापक गुनासो आएको बताउँदै त्यस्ता कार्य नदोहोर्‍याउन आग्रह गरे । उनले यात्रु तानातान गर्ने बस कर्मचारी र ठगी गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिए । ‘नेपालगन्ज नाकाबाट घर फर्किने नेपालीको संख्या बढेको छ । उनीहरूको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो,’ नेपालगन्ज बासपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै भने, ‘अस्वस्थ प्रतिस्पर्धाका नाममा कसैलाई दुव्र्यवहार गर्नु भएन । गलत काम गर्नेलाई कारबाही हुन्छ ।’


चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारणको भीड लाग्न प्रहरीले बासपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । सर्वसाधारणलाई सुरक्षा दिन सहायता कक्ष राखिएको हो । प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले चाडपर्वका बेला विशेष सुरक्षा योजना बनाएर कार्यान्वयनमा लागेको बताए । उनले यात्रुलाई दुव्र्यवहार नगर्न यातायात व्यवसायीसित आग्रह गरे । त्यस्तै चाडपर्वका बेला आपराधिक गतिविधि बढ्न सक्ने भन्दै नियन्त्रणका लागि योजनाबद्ध ढंगले लागेको जनाए । उनले कुनै पनि आपरधिक घटना हुन थालेको सूचना पाए समयमै जानकारी गराउन आग्रह गरेका छन् । स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना लागू गरेको छ । जसका लागि आकस्मिक छड्के जाँच, टोलटोलमा प्रहरी परिचालन र सादा पोसाकका सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । भारतबाट घर फर्किरहेका नेपालीहरूलाई ठगी र लुटपाटबाट जोगाउन भारतीय सुरक्षाकर्मीहरूको समन्वयमा सुरक्षा योजना लागू गरिएको छ ।


भेरी अञ्चल यातायात व्यवसायी समितिका कार्यबाहक अध्यक्ष शोभाखर पौडेलले दुव्र्यवहार नगर्न बस कर्मचारीसित अनुरोध गरे । उनले व्यावसायिक मार्यदा कामय राख्दै पेसामा लाग्न सुझाव दिए । उनले सर्वसाधारणको सुरक्षामा आफूहरू लाग्ने प्रतिबद्धता जनाए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सर्वसाधारणको सुरक्षा पहिलो प्राथमिकतामा रहेको बताए । उनले नेपालगन्ज सामाजिक सद्भावको सहर भएकाले सबैको सम्मान गर्नुपर्ने सुझाव दिए ।


सुरक्षा कडा
बर्दिया– दसैं–तिहारको मध्यनजर गर्दै जिल्लास्थित सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दशगजामा संयुक्त सुरक्षाबलले गस्ती थालेका हुन् । अन्तर्राष्ट्रिय सीमामा चेकजाँचलाई कडाइ गर्दै निगरानी बढाइएको हो ।


जिल्लाको पूर्वी जमुनीदेखि राजापुरसम्मको करिब ८२ किलोमिटर क्षेत्रमा गस्ती भइरहेको छ । सीमापारि घटना भएकाले आपराधिकक तत्त्व घुसपैठ गर्ने सम्भावना रहेको जनाउँदै यस क्षेत्रमा निगरानी सुरु गरिएको सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । दुवै मुलुकका सुरक्षाकर्मीले महिनाको दुई पटक गस्ती गर्दै आएका थिए । अहिले दसैं र तिहारलाई मध्यनजर राख्दै दैनिक संयुक्त गस्ती भइरहेको उनले जनाए । सीमावर्ती मूर्तिहा, घुम्नाभारू, चित्तलहवालगायत क्षेत्रमा तैनाथ एसएसबी (भारतीय सीमा सुरक्षा बल) सुरक्षाकर्मीले नेपालीसँगै सीमामा जाँच गर्न थालेका छन् । गस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित छन् । भारत मूर्तिह पोस्टका एसएसबीका डीएसपी मिथुन सरकारले संयुक्त गस्तीले नेपाल–भारतबीच हुने अपराधका घटनामा कमी आउने बताए ।


सुरक्षाकर्मी हतियारसहित परिचालित छन् । सीमास्तम्भ, दशगजाको नियमित निगरानी, तस्कर, लागूऔषध, मानव बेचबिखन लगायत जाली नोटका कारोबार रोक्न सीमामा चेक जाँचलाई कडाइका साथ प्रस्तुत हुने भएका छन् । यसै गरी आईएसआई गतिविधिलाई रोक्न विशेष चोरी बाटोमा बढी निगरानी राख्ने दुवै मुलुकका सुरक्षाकर्मीले बताए ।

प्रकाशित : आश्विन २२, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?