गाउँ बस्तीमा रौनक

कान्तिपुर संवाददाता

प्युठान — सदरमुकामसँगै ग्रामीण बस्तीमा दसैंको चहलपहल सुरु भएको छ  । सदरमुकाम भित्रिने यातायातका साधन र होटल भरिभराउ छन्  । सदरमुकामसँगै ग्रामीण बस्तीमा दसैंको चहलपहल सुरु भएको छ ।

नवरात्रि पूजाका लागि पश्चिम नवलपरासीको परासीमा स्थापना गरिएको नवदुर्गाको मूर्ति । तस्बिर : नवीन पौडेल/कान्तिपुर

सदरमुकाम भित्रिने यातायातका साधन र होटल भरिभराउ छन् । किराना पसलदेखि फेन्सी पसलमा समेत दैनिक उपभोग्य सामग्री र नयाँ कपडा किन्नेको भीड लाग्न थालेको छ ।

घटस्थापनाको दिन पारेर प्यूठान नगरपालिका ४ जुम्री बजारमा दीपक रानाले बुधबार नै फेन्सी पसलको शुभारम्भ गरे । पहिलो दिनदेखि नै उनको पसलमा समेत भीड लागेको छ । ‘नयाँ व्यवसाय गर्न दसैंको दुर्गा पर्खेरै बसेको थिएँ,’ उनले भने, ‘सुरु दिनमै ग्राहकको भीड लाग्दा दसैं भित्रिएको अनुभूति पनि भयो ।’

दुर्गा लागेपछि बजारमा दसैंको रौनक सुरु भएको प्यूठान उद्योग वाणिज्य संघका उपाध्यक्ष केदारमान कक्षपतिले बताए । बजारका चोक, पसल, यातायात, होटल सबैतिर भीडभाड बढेको उनले बताए । ‘बिजुवार, जुम्री, बाग्दुला लगायतमा दसैंको किनमेल गर्नेको भीड छ,’ उनले भने, ‘वर्षे खेतीपाती स्याहारेर स्थानीय दसैको रौनकमा लागिसकेका छन् ।’ रोजगारीका लागि भारत पुगेकाहरू दसैं मनाउन घर फर्किन थालेपछि नियमित सेवाभन्दा थप गाडी सञ्चालन गरिएको स्वर्गद्वारी यातायात व्यसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठले बताए ।

काठमाडांै, पोखरा, महेन्द्रनगर र भारतको दिल्लीसम्म थप यातायात सञ्चालन भइरहेको छ । ‘काठमाडौंबाट दैनिक ७ वटा बस प्यूठान आउँछन्,’ उनले भने, ‘अझै पर्याप्त नभएको यात्रुको गुनासो छ ।’ उनले यसपालि दसैं मनाउन विगतभन्दा धेरै यात्रु आएको अनुभव सुनाए । दसैं/तिहार पर्व नजिकिएसँगै बजारमा चहलपहल बढेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए ।

नगरपालिका क्षेत्रका बिजुवार बाग्दुला बजारमा निकै भीड हुने भएकाले चुनढुंगा बोक्ने टिपरलाई वैकल्पिक सडकमार्फत गुड्न लगाएको कक्षपतिले बताए । ‘सवारी चाप र दसैंको किनमेल गर्न आएका ग्राहकका कारण बजार क्षेत्रको सडक निकै भीड हुन थालेको छ,’ उनले भने, ‘दुर्घटना नहोस् भन्नेमा हामी सचेत छौ ।’ नगर क्षेत्रका बजार र गाउँहरू दसैंको रौंनकले रमाइलो बन्दै गएका छन् । नगरपालिकाले दसैंका यात्रुलाई लक्षित गरेर यातायात चल्ने ग्रामीण सडक मर्मतसमेत गरेको छ ।

गाउँमा चलपहलसँगै दसैंको अवसर पारेर खेलकुद, प्रतियोगिताको समेत हुन थालेका छन् । गौमुखीको नारिकोट र रजबारामा दसैं विषेश खेलकुद प्रतियोगिता भइरहेका छन् । रजबारामा तिखाचुली युवाक्लबले अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको छ ।

मुल्यसूची टाँस्न निर्देशन
रोल्पा– चाडपर्व नजिकिएका बेला स्थानीय प्रशासनले व्यापारीलाई मूल्यसूची टाँस्न निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारीले व्यापारीको भेला गराई मूल्यमा एकरूपता तय गर्न र सार्वजनिक रूपमा देख्न सकिने गरी सूची टाँस्न आह्वान गरेका हुन् ।

Yamaha

प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले उद्योग वाणिज्य संघका पदाधिकारीसहित व्यापारीको भेला गराई खाद्यान्नलगायत दैनिक आवश्यकतासम्बन्धी सामग्रीमा मूल्य तोक्न आग्रह गरेको बताए । ‘खाद्यान्न लगायत दैनिक आवश्यकताका सामग्रीको मूल्यमा एकरूपता बनाउन र मूल्यसूची अनिवार्य टाँस्न भनेका छौं,’ उनले भने, ‘होटेल सञ्चालक र तरकारी पसल सञ्चालकलाई पनि निर्देशन गरिएको छ ।’

रोल्पा उद्योग वाणिज्य संघका महासचिव केशव आचार्यले स्थानीय प्रशासनले मूल्य तोक्न र सूची टाँस्न भन्नुअघि नै व्यापारीले मूल्यमा एकरूपता कायम गर्दै सूची टाँसिएको दाबी गरे । उनले धेरैजसो व्यापारीले आफ्नो पसलको मूल्यसूची टाँसेको बताए । ‘व्यापारीलाई हामीले मूल्य निर्धारण गर्न र टाँस्न निर्देशन जारी गरेका छौं ।’

सदरमुकामलगायत बजार विस्तार हुँदै गरेका जिल्लाका सुलीचौर, होलेरी, घर्तीगाउँ, टिला, बागमारा, नेर्पा लगायतका स्थानमा रहेका व्यापारीलाई संघले मूल्य तोक्न र सूची टाँस्न भनेको आचार्यले बताए । तर स्थानीयले भने प्रशासनले बजार अनुगमन नगरेको बताएका छन् ।

बजार अनुगमन गर्ने कार्यलाई प्रशासनले सदरमुकाममा औपचारिकता दिए पनि उपभोक्ताका पक्षमा काम गर्न चासो नदेखाएको आरोप उपभोक्ताको छ । दैनिक प्रयोग हुने सामग्रीको मूल्य एकरूपता नहुँदा असमानता व्यहोर्नु परेको उपभोक्ताको गुनासो छ ।

मदिरा नियन्त्रण
स्थानीय प्रशासनले सदरमुकामलगायतका स्थानमा दसैंमा मदिरा नियन्त्रण गर्न महिला समूह, सामुदायिक सेवा समिति, टोल सुधार समिति, युवा समूह र आमा समूहको प्रयोग गर्ने योजना बनाएको छ । सबै पक्षको संयुक्त बैठक आयोजना गरेर टोल–टोलबाट मदिरा नियन्त्रण अभियान थाल्न थालेको हो ।

सामुदायिक सेवा समितिका अध्यक्ष नीमबहादुर सिंहका अनुसार मदिरा नियन्त्रण गर्न टोल सुधार समितिका सदस्यको सहभागिता गराउन सकिए यो अभियानलाई अघि बढाउन सहज हुन सक्छ । ‘टोल सुधार समितिलाई मदिरा नियन्त्रण गतिविधिमा लगाउनुपर्छ ।’ सिंह भन्छन्, ‘आमा समूह र युवासमेतलाई अभियानमा सहभागी बनाउनुपर्छ ।’

प्रजिअ एमसीको नेतृत्वमा अघिल्लो साता बसेको बैठकले मदिरा बेचबिखनलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । मदिरा नियन्त्रण गर्न सजिलो हुनेगरी जिल्लाबाहिरबाट आयात गरिएका मदिरा बेच्न निश्चित पसललाई मात्र अनुमति दिनेबारे छलफल भएको छ । घरेलु मदिरा नियन्त्रण गर्न विशेष रूपमा सक्रिय हुनसमेत प्रशासनले चासो देखाएको छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खसीबोका आयात घट्याे

कान्तिपुर संवाददाता

नेपालगन्ज — चाडपर्वका बेला भारतबाट नेपालगन्ज नाका हुँदै आउने खसीबोकाको आयात यो वर्ष घटेको छ  । गत वर्ष असोजमा मात्र २३ हजार खसीबोका भित्रिएकोमा यसपटक असोज तेस्रो सातासम्म ४ हजार २ सय मात्र आयात भएको छ  ।

दसैं–तिहारमा मासुको अत्यधिक मागसँगै भारतीय बजारबाट खसीबोका आउने गर्थे । नेपाली उत्पादनले मासुको माग पूरा हुन सक्दैन । नेपालगन्ज नाका मार्फत भित्रिएका खसीबोका काठमाडौं, पोखरा लगायतका ठूला सहरसम्म पुग्थे । तर, पछिल्लो समय नेपालकै ग्रामीण क्षेत्रमा व्यावसायिक खसीबोका उत्पादन गर्ने किसान बढेको र व्यवसायीले कृष्णनगर नाकासमेत प्रयोग गर्न थालेकाले पनि नेपालगन्ज नाकामा कारोबारमा कमी आएको हो ।

सीमास्थित पशु क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी अमरबहादुर शाहीले भारतबाट हुने खसीबोका कारोबारमा कमी आएको बताए । उनका अनुसार नेपालमा पनि मसुजन्य बस्तु उत्पादन बढेकाले पनि आयात कम हुन सक्छ । ‘व्यवसायीले कृष्णनगर नाका प्रयोग गरेकाले कम खसीबोका आयात भएको देखिन्छ,’ उनले भने, ‘अर्को कारण भनेको नेपालमै पनि उत्पादन बढेको छ ।’ व्यवसायीले अर्को नाका प्रयोग गर्न थालेपछि राजस्वमा पनि असर परेको छ ।

गत वर्ष दसैंमा मात्रै ढेड करोडभन्दा बढी मूल्यका भारतीय खसीबोका आयात गरिएका थिए । नेपाली माग धान्न व्यवसायीहले भारतको महाराष्ट्र, कानपुर र लखनउ क्षेत्रबाट जमुनापारी, तोतापरी र देशी जातका खसीबोका आयात गर्दै आएका छन् । तर नेपाली बजारमा माग भएअनुसारको खसीबोका पुर्‍याउन नसकेको व्यवसायीले बताए ।

‘यो वर्ष खसीबोका खरिद–बिक्री व्यवसायमा कमी आएको छ । भारतीय व्यवसायीले कृष्णनगर नाका प्रयोग गर्न थालेपछि यो अवस्था आएको हो,’ लामो समयदेखि खसीबोकाको कारोबार गर्दै आएका नियाज कुरेसी भन्छन्, ‘यो वर्षको दसैंमा एक/दुई ट्रक खसीबोकाको कारोबार भएको छ ।’ भरतपुर–काठमाडौं सडक मर्मतका बेला व्यवसायीले कृष्णनगर नाका प्रयोग गर्न थालेका थिए । ‘अहिले मुग्लिन सडक सञ्चालन भए पनि व्यवसायीको सम्बन्ध उतै जोडिएकाले यता कारोबार बन्द भएजस्तै भएको उनले बताए ।

स्थानीय किसानले उत्पादन गरेको खसीबोका थोकमा नपाउने र दुई/चार खसीबोका खोजेर सम्भव नहुने व्यवसायीको दाबी छ । बंशाणुगत गुण, व्यावसायिक बाख्रापालन व्यवस्थापन र खानपिनका कारण भारतीय खसीबोकाको माग बढी हुने पशु चिकित्सक बताउँछन् ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्