१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खसीबोका आयात घट्याे

कान्तिपुर संवाददाता

नेपालगन्ज — चाडपर्वका बेला भारतबाट नेपालगन्ज नाका हुँदै आउने खसीबोकाको आयात यो वर्ष घटेको छ  । गत वर्ष असोजमा मात्र २३ हजार खसीबोका भित्रिएकोमा यसपटक असोज तेस्रो सातासम्म ४ हजार २ सय मात्र आयात भएको छ  ।

खसीबोका आयात घट्याे

दसैं–तिहारमा मासुको अत्यधिक मागसँगै भारतीय बजारबाट खसीबोका आउने गर्थे । नेपाली उत्पादनले मासुको माग पूरा हुन सक्दैन । नेपालगन्ज नाका मार्फत भित्रिएका खसीबोका काठमाडौं, पोखरा लगायतका ठूला सहरसम्म पुग्थे । तर, पछिल्लो समय नेपालकै ग्रामीण क्षेत्रमा व्यावसायिक खसीबोका उत्पादन गर्ने किसान बढेको र व्यवसायीले कृष्णनगर नाकासमेत प्रयोग गर्न थालेकाले पनि नेपालगन्ज नाकामा कारोबारमा कमी आएको हो ।

सीमास्थित पशु क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी अमरबहादुर शाहीले भारतबाट हुने खसीबोका कारोबारमा कमी आएको बताए । उनका अनुसार नेपालमा पनि मसुजन्य बस्तु उत्पादन बढेकाले पनि आयात कम हुन सक्छ । ‘व्यवसायीले कृष्णनगर नाका प्रयोग गरेकाले कम खसीबोका आयात भएको देखिन्छ,’ उनले भने, ‘अर्को कारण भनेको नेपालमै पनि उत्पादन बढेको छ ।’ व्यवसायीले अर्को नाका प्रयोग गर्न थालेपछि राजस्वमा पनि असर परेको छ ।

गत वर्ष दसैंमा मात्रै ढेड करोडभन्दा बढी मूल्यका भारतीय खसीबोका आयात गरिएका थिए । नेपाली माग धान्न व्यवसायीहले भारतको महाराष्ट्र, कानपुर र लखनउ क्षेत्रबाट जमुनापारी, तोतापरी र देशी जातका खसीबोका आयात गर्दै आएका छन् । तर नेपाली बजारमा माग भएअनुसारको खसीबोका पुर्‍याउन नसकेको व्यवसायीले बताए ।

‘यो वर्ष खसीबोका खरिद–बिक्री व्यवसायमा कमी आएको छ । भारतीय व्यवसायीले कृष्णनगर नाका प्रयोग गर्न थालेपछि यो अवस्था आएको हो,’ लामो समयदेखि खसीबोकाको कारोबार गर्दै आएका नियाज कुरेसी भन्छन्, ‘यो वर्षको दसैंमा एक/दुई ट्रक खसीबोकाको कारोबार भएको छ ।’ भरतपुर–काठमाडौं सडक मर्मतका बेला व्यवसायीले कृष्णनगर नाका प्रयोग गर्न थालेका थिए । ‘अहिले मुग्लिन सडक सञ्चालन भए पनि व्यवसायीको सम्बन्ध उतै जोडिएकाले यता कारोबार बन्द भएजस्तै भएको उनले बताए ।

स्थानीय किसानले उत्पादन गरेको खसीबोका थोकमा नपाउने र दुई/चार खसीबोका खोजेर सम्भव नहुने व्यवसायीको दाबी छ । बंशाणुगत गुण, व्यावसायिक बाख्रापालन व्यवस्थापन र खानपिनका कारण भारतीय खसीबोकाको माग बढी हुने पशु चिकित्सक बताउँछन् ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?