बबई पुल पुनर्निर्माणका लागि दबाब

कमल पन्थी

बर्दिया — गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटस्थित बबई नदीमा निर्मित पुल निर्माण गराउन स्थानीयले जनप्रतिनिधिलाई चौतर्फी दबाब दिन थालेका छन्  ।

पप्पु कन्स्ट्रक्सनले बनाएको केही समयमै भासिएको बर्दियाको बबई पुल । तस्बिर : कान्तिपुर

गत वर्ष साउन २८ गते बबई नदीको जब्दीघाटमा पुल भासिएपछि दुई नगरपालिकाबीच यातायात सम्पर्क विच्छेद भएको थियो ।

हस्तान्तरण नहुँदै पुल भासिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण रौनियार, हालका अध्यक्ष छोरा सुमितलगायतविरुद्ध विशेष अदालतमा बिगो सहित मुद्दा दायर गरेको छ । पुल भासिएका कारण एक वर्षभन्दा बढी स्थानीय यातायात सम्पर्कबाट विच्छेद भएपछि कष्टकर यात्रा गर्न बाध्य छन् ।

बारबर्दिया ४ का परशुराम थारूले पुल भासिएका कारण स्थानीयवासी निकै कष्टकर यात्रा गर्नु परेको बताए । पुल भासिएपछि सबैभन्दा बढी बिरामी प्रभावित भएका छन् । ‘सदरमुकाम पुग्न निकै समस्या भएको छ,’ उनले भने, ‘आधा घण्टाको समय लाग्ने जिल्ला अस्पताल गुलरिया पुग्न दुई घण्टा लाग्छ ।’ बारबर्दिया र गुलरिया नगरपालिका जोड्ने बबई नदी स्थित जब्दीघाटमा भासिएको पुल निर्माण कहिले हुने भन्दै स्थानीय दिनहुँ जनप्रतिनिधिलाई दबाब दिँदै आएका छन् ।

बारबर्दियाका मेयर दुर्गाबहादुर थारूले नगरलगायत जिल्लावासीले पुल निर्माणका लागि दिनहुँ दबाब दिने गरेको बताए । ‘अख्तियारले कारबाही प्रक्रिया अघि बढाएपछि अहिले पुल निर्माणका लागि चौतर्फी दबाब बढेको छ,’ उनले भने, ‘त्यसैले हामीले पनि दबाबमूलक कार्यक्रम गर्दैछौं ।’ पप्पु कन्स्ट्रक्सनले करिब ६ वर्षअघि सुरु गरेको उक्त पुल १६ करोड ६८ लाखको लागतमा निर्माण गरेको थियो । पुल भासिएका कारण यस भेगका करिब एक लाख बासिन्दा प्रभावित भएका छन् ।


गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले पुल छिटो निर्माण गर्न दबाब दिन सडक आन्दोलन गर्ने बताए । ‘दोषीमाथि कारबाही हुँदै जान्छ तर पुल निर्माणको काम रोकिनु हुन्न,’ उनले भने, ‘पुल आउँदो असार मसान्तभित्रै सम्पन्न गर्ने गरी सरकारलाई दबाब दिन्छौं ।’ पुल भासिएपछि किसानले उत्पादन गरेको खाद्यान्न गुलरियालगायत दक्षिणी भेगमा पुर्‍याउन सकेका छैनन् । धान र गहुँको उत्पादन बढी हुने बारबर्दियाका किसान पुल भासिएपछि सबैभन्दा बढी पप्पु कन्स्ट्रक्सनविरुद्ध आक्रोशित छन् । अख्तियारको निर्णय भएपछि केही आशा पलाएको बारबर्दिया १ का किसान लहानु थारूले बताए ।

पुलको १७ वटा स्परमध्ये पूर्वतिरको एउटा पिल्लर भासिएको छ । पुल भासिएपछि अन्य दुईवटा पिल्लर क्रेक भएका छन् । पुल भासिएका एकसहित तीन पिल्लर पुनर्निर्माण भए यातायात सुचारु हुन्छ । डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर अर्जुन बमले भासिएको पुल निर्माण गर्ने आदेश आए ५ महिनामै निर्माण गर्न सकिने बताए । डिभिजन सडक कार्यालयले तीन महिनाअघि पुलको वैकल्पिक डिजाइन तयार गरी पप्पु कन्स्ट्रक्सनलाई पुनर्निर्माणका लागि पत्रचार गरेको थियो ।

Yamaha

‘भासिएको पुल निर्माणको जिम्मा सरकारको होइन पप्पु कन्स्ट्रक्सनको हो,’ उनले भने, ‘तर, गर्न सरकारबाटै निर्देशन आउनुपर्छ ।’ सदरमुकामसँग पूर्व–पश्चिम राजमार्ग जोड्ने सबैभन्दा नजिकको पुल भासिएपछि गुलरिया–रम्मापुर सडक खण्डमा पनि सवारी साधन ठप्प छ । तीन वर्षअघि ठेकेदार कम्पनी र तात्कालीन सडक डिभिजन कार्यालयका प्रमुखको मिलेमतोमा निर्मित उक्त पुल कमलस सामग्री र डिजाइनअनुसार नभएको भन्दै स्थानीय प्रशासनले विरोध गर्दै काम रोक्ने प्रयास गरेका थिए । भासिएको पुल त अहिले पर्यटकीय केन्द्र जस्तै भएको छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘नउफ्रिने भ्यागुतो’ मा द्वन्द्वको कथा

दुर्गालाल केसी

दाङ — सशस्त्र द्वन्द्वका क्रममा नेपालमा धेरै नागरिकले ज्यान गुमाए, कति अझै बेपत्ता छन्  । कतिको घरबार लथालिंग भएको छ  । सशस्त्र द्वन्द्वका क्रममा नेपालमा धेरै नागरिकले ज्यान गुमाए, कति अझै बेपत्ता छन् ।

दाङको घोराहीमा ‘नउफ्रिने भ्यागुतो’ प्रदर्शन गर्दै मण्डला थिएटरका कलाकारहरू । तस्बिर : दुर्गालाल/कान्तिपुर

कतिको घरबार लथालिंग भएको छ । द्वन्द्वमा अभिभावक गुमाएका बालबालिकाको जीवन अझै कहालीलाग्दो छ । त्यही मानवीय पीडालाई जीवजन्तुसँग तुलना गरिएको नाटक ‘नउफ्रिने भ्यागुतो’ लिएर मण्डला थिएटर विभिन्न जिल्ला पुगेको छ । घुम्ती रंगमञ्च बस जुनकिरीमा सडकमै मञ्चन गरिएको नाटकमा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकका बालबालिकाले भोग्नुपरेका समस्यालाई उजागर गरिएको छ ।

द्वन्द्वकालमा धेरै नागरिक बेपत्ता भएका बर्दिया, कैलाली र दाङमा नाटक मञ्चन गरिएको मण्डलाका कार्यक्रम निर्देशक राजन खतिवडाले बताए । मंगलबार राति घोराहीको सहिद गेटमा नाटक प्रदर्शन गर्दा दर्शकहरू अनौठो अनुभूति गरिरहेका थिए । रंगमञ्चका नाटक खासै प्रदर्शन नहुने र नाटक घर पनि नभएको घोराहीमा सडकमै रंगमञ्च देख्दा धेरैलाई नयाँ अनुभूति भयो । एउटा भ्यागुताको कथालाई मानवीय संवेदनासँग जोडेर नाटकले अभिभावकविहीन बालबालिकाले समाजमा स्थापित हुन गर्नुपरेको संघर्षलाई देखाएको छ । भ्यागुताको सीप क्षमता, जीवन जिउने कला उसको उफ्राइबाट मापन गरिन्छ ।

भक्तराम नामको भ्यागुताले एक दिन बाआमाबाट उफ्रने कला सिक्दै हुन्छ । यति नै बेला भुँडिफोर चराले उसको बाबुलाई टिपेर लैजान्छ । त्यही चिन्ताले उसको आमाको मृत्यु हुन्छ । त्यसपछि भक्तरामले उफ्रने कला सिक्न सक्दैन । उफ्रन नजानेकै कारण ऊ आफ्नो समुदायमा एक्लो महसुस गर्छ । भ्यागुतो भएर पनि उफ्रन नजानेको भनेर उसलाई अरू भ्यागुताले हेला गर्छन् । बाआमा नभएका कारण उसको आत्मबल कमजोर भयो । उसलाई उफ्रने कला सिक्न निकै गाह्रो भयो । आफूसँग भएको क्षमता चिन्न पनि नसक्ने भयो । उसले मनपर्ने साथीहरूको नजिक जान पनि पाउँदैन । धेरै समयपछि अरू साथीहरूले सिकाएपछि मात्रै ऊ उफ्रन सिक्छ र समाजमा स्थापित हुन्छ ।

एउटा हिंस्रक चराका कारण भक्तराम भ्यागुताले आमाबुबा गुमाउनु परेको र त्यसकारण उसलाई समाजमा स्थापित हुन कठिन भएको कुरा नाटकमा देखाइएको छ । यसलाई नेपालमा विगत १० वर्षसम्म भएको सशस्त्र द्वन्द्वको प्रभावसँग तुलना गर्न सकिन्छ । समाजमा हिंसाको प्रभाव कति गहिरोसम्म पर्न सक्छ भन्ने कुरा नाटकमा देखाइएको छ । नाटकमा सांकेतिक सन्देश छ । पात्रहरूको कुनै पनि संवाद छैन । पात्रहरू विभिन्न हाउभाउमार्फत नाटक खेल्छन् । बीचबीचमा केही सान्दर्भिक गीतहरू बज्छन् ।

अभिनयबाट मात्रै नाटक प्रदर्शन गरिन्छ । नाटकमा पात्रहरू भ्यागुताको मुखौटा र कठपुतलीहरू प्रयोग गर्छन् । नाटकमा नाजिर हुसेन, अर्चना पन्थी, उमेश तामाङ, रञ्जना ओली, अनील सुब्बा, सोनाम लामा र जोनेन क्षत्रीले अभिनय गरेका थिए । गीत संगीतको संयोजन अशेष राई, नवराज गुरुङ र श्रृति प्रधानले गरेका थिए । नाटकको परिकल्पना सजन थापा र लेखन तथा निर्देशन पशुपति राईले गरेकी थिइन् ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT