कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सुधारिँदै प्यूठानका ग्रामीण सडक

गिरुप्रसाद भण्डारी

प्यूठान — ठूला चाडपर्व सुरु भएपछि वर्षामा बिग्रिएका जिल्लाका ग्रामीण सडक अहिले धमाधम मर्मत गर्न थालिएको छ  । जिल्लाका ९ वटै स्थानीय तहले सडक मर्मतका लागि दर्जनौं डोजर/एक्साभेटर सञ्चालन गरिरहेका छन्  ।

सुधारिँदै प्यूठानका ग्रामीण सडक

गाउँसम्म सजिलै गाडी पुग्ने गरी सडक बनाउन थालेका हुन् । कतिले ठेक्कामार्फत काम गरिरहेका छन् । केहीले निर्माण व्यवसायीसँग कोटेसन मागेर काम गर्दै छन् ।


जिल्लामा सडक मर्मत गर्न झन्डै ८० भन्दा बढी डोजर/एक्साभेटरले काम गरिरहेको निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा आँसु निर्माण सेवाका सञ्चालक बालाजु श्रेष्ठले बताए । ‘सबै स्थानीय तहले मर्मतमा बजेट छुट्याएका रहेछन्,’ उनले भने, ‘पानी पर्न रोकिएपछि मर्मतको काम सुरु भएको छ ।’ दसैं/तिहार आएकाले यही बेला मर्मत गर्न लागेकाले व्यवसायीलाई काम गर्न भ्याइनभ्याइ भएको उनले बताए । जिल्लामा भित्रिएका सबै डोजर/एक्साभेटरले काम पाएको श्रेष्ठले बताए ।


वर्षामा भत्किएका सडकको ठेक्का लगाएर मर्मत गर्न थालेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए । नगरपालिकाले झन्डै ५० लाख रुपैयाँ खर्च गर्ने गरी नगरक्षेत्रका सडक मर्मत गरिरहेको छ । ‘हाम्रो नगरमा मात्र १०/१२ डोजरले काम गरिरहेका छन्,’ उनले भने, ‘फूलपातीको दिनसम्म नगरका सबै बस्तीका सडक मर्मत भइसक्छन् ।’


नगरपालिकाले टेन्डर निकालेर प्रतिघण्टा १ हजार ९ सय ८० रुपैयाँमा डोजर/एक्साभेटर लगाएको छ । ‘१० वटै वडामा काम भइरहेको छ,’ मेयर कक्षपतिले भने, ‘प्राविधिक र वडाध्यक्षहरू रेखदेखमा छन् ।’ नौबहिनी गाउँपालिकाअन्तर्गतका सडक मर्मत गर्न झन्डै २० लाख रुपैयाँ खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । ‘गाउँपालिकाले खनेका सडक लगभग मर्मत गरेर सकिएको छ,’ उनले भने, ‘दुर्गम बस्तीमा पुग्ने सडकसमेत मर्मत भएका छन् ।’


दसैंको मुखमा गोरेटो बाटो मर्मत गर्ने पुरानै चलन रहेकाले गाउँलेले घटस्थापनाको दिन मर्मत गरेको भण्डारीले बताए । नगरक्षेत्रका धेरै महत्त्वपूर्ण सडक मर्मत गर्न लागेको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायाले बताए । जनतासँग मेयर कार्यक्रमअन्तर्गत विनियोजन भएको ८० लाख रुपैयाँबाट खर्च गर्ने गरी सडक मर्मत गर्न थालेको रोकायाले बताए । ‘यसका लागि नगर कार्यपालिकाको बैठक बसेका छाैं,’ उनले भने, ‘निर्णय गरेर दसैंअगाडि सबै ग्रामीण सडक मर्मतको काम गर्ने गरी मेसिन प्रयोग गर्ने सल्लाह भएको छ ।’ कोचिबाङ, बेलबास, धनबाङलगायत गाउँमा पुग्ने सडक मर्मत तीन/चार दिनमा सक्ने रोकायाले बताए ।


‘दसैं मान्न गाउँ आउनेको ताँती लाग्न थालिसकेको छ,’ रोकायाले भने, ‘उनीहरू सजिलै गाडी लिएर घरसम्म आउन सकून् भनेर सडक मर्मत गर्दै छौं ।’ जिल्लाका सरुमारानी, ऐरावती, मल्लरानी, गौमुखी, झिमरुक र माण्डवी गाउँपालिकाहरूले पनि दसैं/तिहार लक्षित गरी ग्रामीण सडक मर्मत गर्न थालेको जनाएका छन् ।

प्रकाशित : आश्विन २६, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?