२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

हिंसा घटाउन किशोरी शिक्षा

कान्तिपुर संवाददाता

बुटवल — बालिकामाथि हुने हिंसा र यौन दुव्र्यवहार कम गर्न रूपन्देहीमा किशोरी शिक्षा सञ्चालन गरिएको छ  । व्यक्तिगत सावधानी र प्रजनन शिक्षाको अभावमा हुने हिंसा घटाउन भन्दै किशोरी शिक्षा सञ्चालन भएको हो  ।

हिंसा घटाउन किशोरी शिक्षा

१३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीको समूह बनाएर साथी शिक्षकमार्फत उनीहरूलाई शिक्षा दिन थालिएको छ । रूपन्देहीका १६ मध्ये ६ स्थानीय तहमा किशोरी शिक्षा सञ्चालन भएको छ । जिल्लाका सम्मरीमाई, मर्चवारी, कोटहीमाई, मायादेवी, ओमसतिया र रोहिणी गाउँपालिका त्यसमा समेटिएका छन् । समूहमा करिब ७ सय किशोरकिशोरी सहभागी छन् । समान समूहका व्यक्तिमा समान चेतना प्रवाह गर्न भन्दै किशोरी समूहमा केही किशोरलाई पनि समेटिएको हो ।


सामाजिक बहिष्करणमा परेको जाति तथा समुदायका किशोरीलाई प्राथमिकता दिएर किशोरकिशोरी समूह गठन भएको छ । स्थानीय हेल्थपोस्ट तथा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, स्थानीय प्रहरी चौकीका प्रहरी, विद्यालयका शिक्षकसमेत सहभागी छन् । उनीहरूले विषयगत रूपमा किशोरकिशोरीलाई सचेतना कक्षा चलाउने गरेको रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजनले बताइन् । ‘मधेसका गाउँमा बालिकामाथि धेरै प्रकारका भेदभाव र विभेद छन्,’ उनले भनिन् ‘तिनलाई हटाउन पनि यो कार्यक्रम चलेको हो ।’


वडामा ५ वटासम्म समूह गठन भएका छन् । १ समूहमा २७ देखि ३० जना किशोरकिशोरी छन् । उनीहरू दिनको २ घण्टा पायक पर्ने स्थानमा भेला हुन्छन् । भेला भएका किशोरकिशोरीलाई साथी शिक्षक अर्थात् सहजकर्ताले हिंसा के हो र यसबाट कसरी बच्न सकिन्छ भनेर सिकाउने गरेका छन् । प्रजनन तथा यौन शिक्षा सिकाउन नजिकको हेल्थपोस्टबाट स्वास्थ्यकर्मी लैजाने गरिएको छ ।


उनीहरूले प्रजनन स्वास्थ्यबारेका कौतूहलता मेटाइदिन्छन् । किशोरीहरूले प्रजनन अंगको सरसफाइ गर्ने, महिनावारीको व्यवस्थापन र स्वस्थ रहनेबारे पनि सिकाउँछन् । व्यक्तिगत सुरक्षा र घटनापछिको सावधानीबारे सिकाउन प्रहरीको सहयोग लिइएको छ । ‘सबै जना आफूजस्तै उमेरका साथीहरू बसेर छलफल गर्दै सिक्न पाउँदा रमाइलो लागेको रोहिणी गाउँपालिका ७ पजरकट्टीकी सविता केवटले बताइन् ।


प्रहरी अध्ययनअनुसार उमेरका हिसाबले महिलामाथि सबैभन्दा बढी हिंसा हुने किशोरी उमेर हो । पछिल्लो समयमा सबैभन्दा बढी यौन दुव्र्यवहार पनि यही उमेरमा भएका छन् । जब बालिकाका प्रजनन अंग विकास हुन थाल्छन्, तब उनीहरूमाथि हिंसाका शृंखला सुरु हुन्छन् । त्यसमा बलात्कार, यौन दुव्र्यवहार, जबरजस्ती विवाह, शारीरिक शोषणलगायत छन् ।

प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी प्रमुख हृदय थापाले यौन तथा प्रजनन शिक्षा दिने हो भने किशोरी उमेरमा हुने धेरै हिंसा रोक्न सकिन्छ । यसका लागि प्रहरीले नागरिक सञ्जाल, सामाजिक संघसंस्थासित हातेमालो गरेर सचेतना अभियान गर्ने उनले बताए ।

प्रकाशित : आश्विन २६, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?