ब्रेललिपिले पढ्ने रहर पूरा

करिश्मा चौधरी

बाँके — बन्कट्टीकी राबिया खाँ १३ वर्षसम्म विद्यालय जान पाईनन्  । दृष्टिविहीन भएकैले पढ्न नपाउँदा उनलाई नरमाइलो लाग्थ्यो  ।

नजिक दृष्टिविहीनलाई पढाउने विद्यालय नहुनु र टाढा अभिभावकले नपठाउँदा दुखी बनेकी उनी अहिले भने विद्यालय जान थालेकी छन ।


नजिकैको मंगलप्रसाद माध्यमिक विद्यालयमा उनले अहिले स्रोत (प्रारम्भिक) कक्षामा पढिरहेकी छन । ‘पढ्नै नपाएपछि मेरो भविष्य पनि अन्धकार जस्तै थियो,’ उनले भनिन्, ‘अहिले खुसी छु, पढेर केही गर्छु ।’ स्रोत कक्षामा ब्रेललिपिमा पढाइ हुन्छ ।

Yamaha


त्यसले उनलाई अक्षर चिन्न सजिलो बनाएको छ । शैक्षिक सत्रको भर्ना अभियानबाटै राबियाले विद्यालयमा ब्रेललिपिमा पढाइ हुने जानकारी पाएकी थिइन् । पढेर शिक्षक बन्ने र आफू जस्तै विद्यार्थीलाई पढाउने उनको इच्छा छ । खजुरा गाउँपालिका ३ का लेखक खत्रीले पहिले एउटा आँखाले सजिलै देख्ने र हिंडडुल गर्थे । ८ कक्षामा पढ्दै गर्दा उनको अर्को आँखामा रेटिनाको समस्या देखियो र दुवै बन्द भए । ‘दुवै आँखामा समस्या भएपछि पढाइ छुट्यो,’ उनले भने, ‘अब कहिल्यै पढ्न पाउँदिन कि भन्ने थियो तर, अहिले पढ्दैछु ।’ पहिला सुन्दै नसुनेको ब्रेललिपिमा अहिले लेख्दै र पढ्दै गरेको उनले बताए ।


विद्यालयको स्रोत कक्षामा राबिया र लेखक जस्तै १६ विद्यार्थी ब्रेललिपिमा पढ्छन् । बाँके, बर्दिया, दैलेख, सुर्खेत, कालिकोट र सल्यानका विद्यार्थी ब्रेललिपि पढ्नकै लागि यहाँ आइपुगेका छन् । स्रोत कक्षामा ब्रेललिपि सिकिसकेपछि विद्यार्थीको क्षमता र मेहनतको आधारमा अरू कक्षामा भर्ना गर्ने गरेको शिक्षक कन्हैयालाल रानाले बताए ।

कक्षा १ देखि १२ सम्म अरू विद्यार्थीसँगै दृष्टिविहीन विद्यार्थीले पढ्ने गरेका छन् । ‘हामीले पढाएको सुनेकै भरमा उनीहरूले ब्रेललिपिमा टिप्छन्,’ शिक्षक रानाले भने, ‘अन्य मेहनत उनीहरू आपैंmले गर्छन् ।’ विद्यालयमा स्रोत कक्षादेखि माथिल्लो कक्षासम्म ४७ जना दृष्टिविहीन विद्यार्थी छन् ।

तर, सबैका लागि पाठ्यक्रम एउटै छ । दृष्टिविहीनका लागि पुस्तक मात्र ब्रेललिपिको छ । विद्यालयबाट ६८ जनाले एसएलसी र एसईई पास गरिसकेको उनले बताए । विद्यालयले ०५२ सालदेखि दृष्टिविहीन विद्यार्थीलाई पढाउन सुरु गरेको हो । विद्यालयमा अहिले १५ सय विद्यार्थी छन् ।

प्रकाशित : आश्विन २६, २०७५ १०:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बढ्यो च्याङ्ग्राको भाउ

व्यापारीले धेरै स्थानमा कर तिर्नुपर्ने भएपछि च्याङ्ग्रा महँगियो
कान्तिपुर संवाददाता

पर्वत — मुस्ताङबाट १ सय २४ वटा भेडा–च्याङ्ग्रा ल्याएका कुश्माका रामु श्रेष्ठले आधा दर्जन स्थानमा कर तिर्नुपरेको बताएका छन्  । दसैंमा च्याङ्ग्राको कारोबार गर्दै आएका उनले यसपटक कर तिर्नुपर्ने ठाउँ धेरै भएको अनुभव गरे  ।

पोखराको याम्दीमा च्याङ्ग्रा छान्दै ग्राहक । तस्बिर : विना थापा/कान्तिपुर

‘पोहोरपरार मुस्ताङ र म्याग्दीको सिमानामा मात्रै तिर्दा हुन्थ्यो,’ उनले भने, ‘अहिले पाइलैपिच्छे कर तिर्नुपर्छ । मुस्ताङबाट ९ सय किलोमा ल्याएको च्याङ्ग्रा यहाँ आइपुग्दा हजार नाघ्छ ।’ प्रतिगोटाको उनले कर मात्रै पाँच सयभन्दा धेरै तिर्नुपरेको गुनासो गरे । ‘फाइदाकै लागि यत्रो दु:ख गर्ने हो,’ अर्का व्यापारी सन्दीप श्रेष्ठले भने, ‘हामीले घाटा खाएर भएन । तिरेको कर ग्राहकलाई नै जोड्ने हो ।’


मुस्ताङबाट पर्वतसम्म च्याङ्ग्रा ल्याउँदा मुस्ताङकै तीन स्थानमा कर तिर्नुपरेको व्यवसायीले गुनासो गरे । त्यसबाहेक म्याग्दीको तातोपानी, दाना, अन्नपूर्ण गाउँपालिका र पर्वतको सिमानामा समेत कर तिर्नुपरेको व्यवसायी रामु श्रेष्ठले बताए । ‘प्रहरीले समेत परीक्षण नगरेको भन्दै दु:ख दिन्छ,’ उनले भने, ‘यसपालि अलि सस्तो हुन्थ्यो । करैकरले महँगो भयो ।’ यो सिजनमा ज्युँदो च्याङ्ग्राकै प्रतिकिलो ९ सय रुपैयाँसम्म पर्ने व्यवसायीहरूले बताएका छन् ।


कतिपय व्यवसायीले च्याङ्ग्रा महँगिएकै कारण यो वर्ष कारोबारै नगरेको बताएका छन् । विगतमा सात वर्षसम्म लगातार मुस्ताङबाट च्याङ्ग्रा ल्याएर कुश्मामा बेच्दै आएका शंकर केसीले योपटक भाउ बढेको बुझेर कारोबार नगरेको बताए । ‘लोकल बोका खरिदेर बेच्दा एउटाकै पाँच/सात हजार फाइदा हुन्छ,’ उनले भने, ‘च्याङ्ग्रामा रहर मात्रै होला जस्तो भएर कारोबारै नगरेको ।’ स्थानीय खसीबोका ज्यँुदो प्रतिकिलो ४ सयदेखि ४ सय ५० मा पाइन्छ । व्यापारीले मासु प्रतिकिलो ८ सय ५० देखि हजार रुपैयाँमा बिक्री गर्छन् । तर, च्याङ्ग्रा ज्युँदोमै ९ सयसम्म पर्ने भएपछि व्यवसायी त्यसतर्फ आकर्षित छैनन् ।


उपभोक्ताहरूले पनि च्याङ्ग्राको भाउ चुलिएपछि खरिदमा खासै चासो देखाएका छैनन् । ‘च्याङ्ग्राको भाउ अचाक्ली बढेछ,’ कुश्माका ऋषिबहादुर थापाले भने, ‘पोहोर १५/१७ हजारका च्याङ्ग्रा अहिले २८/३० हजार घटी छैनन् ।’ व्यवसायीले १२ देखि १५ किलोका च्याङ्ग्रालाई २२ देखि २८ हजार भनेको उनले बताए । स्थानीय खसीबोकाको मासु एक हजारमा खाइरहेका उपभोक्तालाई च्याङ्ग्राको मासुको मूल्य दोब्बर पर्ने भएपछि तर्सिएका छन् ।


विशेषगरी दसैंका लागि मुस्ताङी भेडा–च्याङ्ग्राको माग बढी हुने गर्छ । मुस्ताङीहरूले वर्षभरि पालेका च्याङ्ग्रा दसैंमा बेचेर वर्षभरिका लागि आम्दानी गर्छन् । चिसो हावापानीमा हुर्किएर हिमाली जडीबुटी खाएको हुनाले च्याङ्ग्राको मासु स्वादिलो, स्वस्थकर र शक्तिवद्र्धक हुने उपभोक्ताहरूको विश्वास छ । वर्षाको खेतीपातीबाट फुर्सदिला बनेका सर्वसाधारण दसैंमा च्याङ्ग्राको मासु खानाले शक्ति बढ्ने र स्वास्थ्यलाई फाइदा पुग्ने विश्वास गर्छन् ।

प्रकाशित : आश्विन २६, २०७५ १०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT